प्रदेश सरकारले अब आफैं चलाउने बिजुली बस, ताेडियाे साझा यातायातसँगको सम्झौता



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश सरकारले अब आफैं बिजुली बस चलाउने भएको छ । यसका लागि प्रदेश सरकारले साझा यातायातसँगको सम्झौता तोडेको छ । असार १६ गते प्रदेश सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायातबीच काठमाडौं उपत्यकामा बिजुली बस सञ्चालन गर्ने सहमति भएको थियो ।

२०७७ वैशाख १ गतेदेखि बिजुली बस चलाउने गरी प्रदेश सरकारले काम गरिरहेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभएको छ । मुख्यमन्त्रीको कार्यालय हेटौंडामा स्थानीय तहका प्रमुख र उपप्रमुखहरुसँग बिजुली बस सञ्चालन सम्बन्धमा आयोजना गरिएको बैठकमा उहाँले यस्तो जानकारी गराउनुभएको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएका मुख्यमन्त्री पौडेलले सानो संख्यामा भए पनि बिजुली बस नयाँ वर्षमा चल्ने गरी काम भइरहेको बताउनुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा २०८५ सालसम्म पेट्रोलिय पदार्थबाट चल्ने सवारीसाधन बिस्थापित गर्ने नीति लिइएको छ ।

सरकारले साझा यातायातलाई बिजुली बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएपछि प्रदेश सरकारले पनि हात झिकेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पत्र लेख्दै साझालाई बिजुली बस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो ।
एक वर्षअघि नै सरकारले ३ सय बिजुली बस किन्ने निर्णय गरेको थियो । असारमा साझा यातायातलाई यसको जिम्मा दिइए पनि प्रक्रिया अघि बढेपछि सरकारले उक्त कार्य रोकेको आरोप साझाले लगाएको छ ।

सरकारले बिजुली बस किन्न साउनमा एकैपटक ३ अर्ब रुपियाँ साझालाई उपलब्ध गराएको थियो । बिजुली बसकै लागि बागमती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयम् साझाले समान साढे २ करोड हालेर ४५ करोड जम्मा गरिएको छ । बिजुली बस चलाउन साझासँग केन्द्रसँगै प्रदेश र स्थानीय सरकारले सहकार्य गरेका थिए ।

अब बागमती प्रदेश सरकारले यसबाट हात झिकेको छ । साझालाई दिने भनिएको ३० करोड रोकिने र प्रदेश सरकार आफैंले यातायात कम्पनी खडा गरेर बस सञ्चालन गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । ‘अब आफैं बिजुली बस खरिद गर्छौं,’ उहाँले भन्नुभयो । बसले हेटौंडा–भरतपुर–काठमाडौं २ सय २७ किमी र काठमाडौं–धुलिखेल ३० किमी दुरी तय गर्नेछ ।

प्रदेश सरकारले बिजुली बस खरिद तथा सञ्चालनमा सहकार्य गर्न स्थानीय सरकारलाई आह्वान गरेको छ । प्रदेश सरकारले हेटौंडा उपहानगर र भरतपुर महानगरसँग पनि सहकार्य गर्न खोजेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यही महिनाभित्र बस खरिद प्रक्रिया अगाडि बढाइनेछ । बससेवा सञ्चालनका लागि पाँच ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिने उहाँले बताउनुभयो । बिजुली बस चार्ज गर्न हेटौंडा, चितवन, काठमाडौं र धुलिखेल बसपार्क तथा काठमाडौं र मुग्लिङबीच स्टेसन बनाउने योजना रहेको उहाँले सुनाउनुभयो । स्टेसन निर्माणका लागि गजुरी र गल्छी गाउँपालिका क्षेत्रमा स्थान खोज्न स्थानीय तहका नेतृत्वलाई जिम्मा दिइएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको नेतृत्वमा काठमाडौंबाट प्रदेशको राजधानी हेटौंडासम्म चल्ने गरी बिजुली बसको रुट बनाउने र उक्त रुटमा चार्जिङ स्टेसन बनाउन स्थानीय तहसँग समन्वय गर्ने गरी बैठक आयोजना भएको हो ।
बैठकमा धादिङको गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले राजमार्गसँग जोडिएको र काठमाडौं र हेटौंडाको बीचमा पर्ने ३ सय रोपनी जग्गा चार्जिङ सेन्टर बनाउन उपलब्ध गराउन सकिने जानकारी गराउनुभयो भने गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले जग्गा उपलब्ध गराउन सकिने जानकारी गराउनुभयो ।
बिजुली बस सञ्चालन गर्न चार्जिङ स्टेसनका लागि साझाले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेको थियो । प्राधिकरणले चार्जिङका लागि आवश्यक व्यबस्था गर्ने विश्वास दिलाएको थियो ।
ललितपुरको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिकाका साथै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिकालगायत स्थानीयलाई रुटले छुनेछ । बिजुली बसमा लगानी गर्न गोदावरी, महालक्ष्मीलगायत स्थानीय तहले पनि इच्छा देखाएका छन् ।
काठमाडौं महानगर प्रमुख शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, भरतपुर उपमहानगर प्रमुख रेनु दाहाल र हेटौंडा उपहानगर प्रमुख हरिबहादुर महतसहितको उपस्थितिमा बिजुली सवारी सञ्चालनसम्बन्धमा सहजीकरण बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्