हाम्रो लक्ष्य शीर्ष ६ मा पर्ने



न्युरोड टिम (एनआरटी) नेपाली फुटबलमा इतिहास बोकेको क्लब हो। विसं. १९८९ मा राणा सरकारविरुद्ध खेलेको एनआरटीको नेपाली फुटबलमा यात्रा करिब १० दशक बितिसकेको छ। हाल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा समेत राम्रो प्रदर्शन गरिरहेको छ। एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशीले समेत टिमलाई जतिसक्दो राम्रो नतिजा निकाल्न खेलाडीहरूको मनोबल बढाइरहनुभएको छ। अध्यक्ष जोशीले ३० को दशकमा सो क्लबबाटै खेल्नुभएको थियो। बीचमा फुटबलसँग केही दूरी बनाउनु भए पनि ५० को दशकमा उहाँ पुनः क्लबमा भित्रिनुभयो। सदस्य, कोषाध्यक्ष हुँदै गत वर्षको फागुनमा उहाँ क्लबका अध्यक्षमा निर्वाचित हुनुभयो। उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेप :

तपाईंले आफ्नो टिमबाट लिगमा कस्तो अपेक्षा लिनुभएको छ ?

गत सालको लिगमा हाम्रो टिमलाई २ अंक काटिएको थियो। २ अंक काटिएर हामीले यसपालि खेलेका छौैं। हामीले पहिला नै हुने भनेर कुनै लक्ष्य राखेका छैनौं।

युवा खेलाडीहरूलाई नै अन्डर १८ र पहिलाकै खेलाडीलाई समेटेर त्यसमा विदेशी खेलाडी र ४/ ५ जना सिनियर खेलाडी राखेर टिम बनाएका हौं।

पहिलेको तुलनामा अहिले काठमाडौंका खेलाडी न्यून छ। पहिले हरेक परिवारमा दुई तीन जना खेलाडी नै हुन्छन्। जस्तै एनआरटी क्लब भनेपछि न्यूरोडकै स्थानीय खेलाडीहरूको बाहुल्य हुन्छन्। अहिले यस्तो भयो फुटबल खेल्नलाई मैदान छैन।

हामीले त्यति राम्रो टिम पनि बनाएको छैन। त्यसैले शीर्ष ६ भित्र पर्ने लक्ष्य राख्यौं। पहिलो दोस्रो नै हुन्छु भन्ने त लाग्दैन तर भोलि के हुन्छ त्यो हेर्दै जानु छ।

टिमको तयारी कस्तो रहेको छ ?

यो लिगका लागि तयारी अगाडि नै गरेका थियौं। बीचमा लिगको अन्योलता पनि थियो, लिग सर्दै गयो। शुरूमा त क्लब लाइसेन्सको प्रक्रियामा जानु पर्ने भएको थियो।

त्यो हिसाबले सबै तयारी गरेका थियौं। सबै खेलाडीलाई क्लबमै राखेका छौं। उनीहरूलाई हामीले टे«निङ पनि नियमित गराइरहेका छौं। छाउनीको आर्मी मैदानमा खेलाडीले बेहान ३ घण्टा जति अभ्यास गरिरहेका छन्।

अहिलेसम्मको नतिजाले कस्तो आशा बनेको छ ?

अहिलेसम्मको नतिजा हेर्दा सबै टिम एउटै स्तरमा देख्छु म। कसैले कसैलाई हराउन सक्ने क्षमता राखेको छ। शीर्ष खेलाडी भएको टिम पनि जित्छ भन्ने जस्तो लाग्दैन। उनीहरू पनि हार्न सक्छ र हारेको पनि छ।

छैटो चरणसम्म सबैको समान प्रदर्शन भएको छ। पहिलाको २ अंक कटौतीले गर्दा साहै्र मर्का परेको पनि छ। पोहोर सालको सजाय अहिले भोगिरहेका छौं। त्यो नभएको भए अहिले हामी तेस्रो वा चौथो स्थानमा हुन्थैं।

गत साल तपाईंको टोलीले त्यति खेलेन किन ?

चार पाँच वर्ष लिग नहँुदा सबै क्लबलाई मर्का परेको थियो। खाली मोफसलमा मात्रै खेलेर भएन। मोफसल खेल्न जानु भनेको १०/ १५ दिनमा चट्ट तयार भएर खेल्न जानु हो, तयारी चाउचाउ जस्तै हो।

कहाँ कहाँबाट को को हुन्छ, खेलाडी ल्यायो एउटा टिम बनायो अनि खेल्न गयो। मोफसलमा स्तर मापन गर्न सकिँदैन। अर्को खेलाडीको नियमितता पनि भएन। त्यही भएर गत साल हामीले मोफसलमा राइनो कप एउटामा मात्रै भाग लियौं।

अहिले कस्तो छ तपाईंको टिम ?

यो साल हामीले लिगमा पोजिसन नै ल्याउनेभन्दा पनि सबै खेलाडीलाई एक वर्षको लागि सम्झौता गरेका छौं। एक वर्षको पुरै रकम दिने र हामीसँगै रहने गरी अनुबन्ध गर्यौं। कसैले लिग दौरान मात्रै र कसैले ४ महिना ६ महिनाको लागि खेलाडी ल्याएका छन्।

तर हामीले भविष्यमा एउटा राम्रो टिम बनाउने योजनाका साथ खेलाडी ल्याएका छौं। खेल नभएको समयमा पनि खेलाडीलाई पैसा दिएपछि उनीहरूबाट केही गर्ला भनेर हामीले अपेक्षा गर्न सकिन्छ।

अर्को साल योभन्दा उत्कृष्ट नतिजा निकाल्न सकिने हिसाबले एक वर्षसम्म अनुबन्ध गरेर टिम बनायौं।

लिगमा अहिले छैटो स्थानमा रहेको स्थितिमा तपार्इंहरूले कस्तो योजना बुन्नुभएको छ ?

छैटो स्थानसम्म आइसकेपछि हामी अबको खेलमा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गरेका छौं। अब खुडकिला उक्लिदै जाने हो। हाम्रो सात वटा खेल खेल्न बाँकी छ। आइतबारको खेल एपीएफसँग छ।

त्यो खेल पनि जित्न सकियो भने अझ राम्रो हुँदै जान्छ। जित्दै गयो भने खेलाडीको मनोबल पनि बढेर जान्छ। उनीहरूले शतप्रतिशत प्रदर्शन गर्न सक्छन्। तल छ, हारिरहेको छ भने उनीहरूले पनि खेल्न मन बनाउँदैनन्।

जे गर्दा पनि नहुने भएपछि हामीलाई मनैदेखि उत्साह कम हुन्छ। फेरि हारिन्छ कि भन्ने त्रास भइरहन्छ, दवाब निकै हुन्छ। गतवर्ष लिगमा हामीलाई यस्तै मनोवैज्ञानिक दवाब परेको थियो। जसले गर्दा हामी पुछारमा रहन बाध्य भएका थियौं। मन हार्नु भएन निरास हुनु भएन मुख्य कुरा।

तपाईंहरू यसपालि आशावादी हुनुहुन्छ ?

फुटबल भनेको टिम वर्क हो। विपक्षीको खेलअनुसार रणनीति परिवर्तन गर्ने कुरा आउँछ। क्लबको व्यवस्थापनको पनि कुरा आउँछ। त्यो स्थितिमा कोचको कुरा आउँछ, कोचले कसरी खेलाडीलाई सिकाउने हो।

कोचले अध्ययन पनि गर्छ विपक्षी र आफ्नो टोलीको। प्रतिद्वन्द्वी कस्तो छ ? हिजो कस्तो छ ? आज कसरी खेल्नु पर्ला भन्ने योजना गर्नु पर्ने हुन्छ।

खेलै पिच्छे विश्लेषण गर्दा पनि टिमको प्रदर्शनमा प्रगति भएर जान सक्छ। हामी निकै आशावादी छौं अहिलेको प्रदर्शनले। वास्तवमा भन्ने हो भने जारी लिगमा कुनै पनि टिम सन्तुलित देखिएको पनि छैन।

तपाईंले हेर्दा लिग कस्तो गइरहेको छ ?

लिग चलिरहेको छ तर गुणवान देखिएन। किन यस्तो भयो भन्दा मेरो विचारमा अघिल्ला वर्ष लिगले निरन्तरता पाएको थिएन। त्यत्रो विश्रामपछि लिग हुन आयो। यस अगाडिको लिग पनि बिना रेलिगेसनमा भएको थियो।

बिना रेलिगेसन भएपछि कसैमा उत्साह भएन, खेलाडीले पनि जाँगर देखाएका थिएनन्। तर नतिजापछि चोट चाहिँ टिमलाई यसपालि पर्यो। हामीले माइनस २ बाट यो लिग शुरूआत गर्नु पर्यो। धेरै वर्षपछि लिग भएकोले लिग पहिला जस्तो भएन।

अहिले हेर्नोस त राष्ट्रिय खेलाडी भएको टिम पनि हारेको छ, बराबर खेलेको छ। राष्ट्रिय खेलाडी भएको टिम अहिले निकैमाथि जानुपर्ने थियो तर त्यस्तो भइरहेको छैन। यो के भयो भने यहाँ फुटबल प्रतियोगिता नियमितता नभएको असर हो।

दर्शक पनि कम भएको छ, किन ?

खेलमा उत्साह नभएपछि दर्शक कम हुन्छन्। दर्शक आउँछ भनेर अपेक्षा गर्न सकिँदैन। आजकलका दर्शक चनाखो भइसकेका छन्। पुरानो खेलाडीको नामले दर्शक आउँछन्। तर नयाँ खेलाडी पनि कुनै कुनै टिममा राम्रो छन्।

तर उनीहरूको नाम चलेको छैन, यसैले उनीहरूलाई हेर्न पनि आउँदैनन्। उनीहरू पनि चम्कन थालेपछि यो खेलाडी यस्तो छन् यसको खेल हेर्नुपर्छ भनेर दर्शक रंगशालासम्म आउन सक्नेछन्।

अर्को नेपाली दर्शकलाई अहिलेको जमानामा इंग्लिस प्रिमियर लिग र अन्य लिगका रोमाञ्चक खेल हेर्ने बानी बसिसकेको छ। यस्तो स्वाद चाखिसकेको अवस्थामा नेपाली दर्शकले नेपाली लिगमा त्यो आश गरेकै हुन्छन्।

यहाँ अलि नमीठो लागेको छ उनीहरूलाई। खेल नै राम्रो भएन। आफूले हेर्दा पनि खेल त्यति मजा आएको छैन। प्रदर्शन कस्तो छ त्यस्कै लागि फुटबल हेर्ने गर्छु।

दर्शक तान्नका लागि के गर्नुपर्छ ?

पहिलो त यहाँ पूर्वाधार छैन। रंगशाला एउटै मात्र छ। यो भन्दा अगाडिको सबै गेम एन्फा कम्प्लेक्समा भएका थिए। त्यहाँ प्राकृतिक मैदान छैन। प्राकृतिक र कृत्रिम मैदानमा खेल्न धेरै फरक हुन्छ। कृत्रिम मैदानमा खेलाडीले खेल्न पनि धेरै गाह्रो हुन्छ।

रंगशालाको प्राकृतिक मैदानमा खेल्दै गयो भने खेलाडीहरूको बानी बस्छ। यसपछि खेल पनि राम्रो हँुदै जान्छ। यसपछि हामीले दर्शकको आशा गर्न सकिन्छ। अर्को मुख्य कुरा गोल पनि कम भइरहेको छ।

स्कोरर नै देखापर्न सकेको छैन। गोल धेरै हुन थालेपछि पनि दर्शक आउन सकिन्छ। यस्तै पहिले जस्तै नकआउट प्रतियोगिता पनि हुनुपर्छ। अहिले वर्षमा लिग मात्रै गर्ने चलन बसेको छ।

मोफसलमा त प्रतियोगिता आयोजना भइरहेको छ त ?

मोफसलमा हुनुपर्ने भन्दा पनि बढी नै प्रतियोगिता आयोजना भइरहेको छ। हुन त एक किसिमले हेर्दा खेलाडी उत्पादन भएको चाहिँ छ। काठमाडौंमा नकआउट नभएकोले १० प्रतिशत पनि उपत्यकाबाट खेलाडी उत्पादन हुन सकेको छैन। अहिले जति पनि खेलाडी आए मोफसलकै उत्पादन हुन्।

काठमाडौंमा किन खेलाडी कम भएको होला ?

पहिलेको तुलनामा अहिले काठमाडौंका खेलाडी न्यून छ। पहिले हरेक परिवारमा दुई तीनजना खेलाडी नै हुन्छन्। जस्तै एनआरटी क्लब भनेपछि न्यूरोडकै स्थानीय खेलाडीहरूको बाहुल्य हुन्छन्। अहिले यस्तो भयो फुटबल खेल्नलाई मैदान छैन।

फेरि इन्टरनेटले गर्दा बच्चाहरूको झुकाब फुटबलभन्दा बाहिर पुगेको मैले देखेको छु। अर्को पढाइलाई पनि ध्यान दिनुपर्ने भयो। खेलेर खान नसक्ने अवस्था नभएपछि बाबुआमाले पढाइमा जोड लगाएकोले पनि फुटबलमा नआएको हुन सक्छ।

समय नमिलेको हो कि ?

खेलको समय नमिलेको पनि हुन सक्छ ? हामीले पनि एन्फालाई सुझाब दिएका थियौं कि खेल साँझ पखमा गरौं भनेर। अहिलेको समय भनेको धेरैको लागि अनुकुल हुँदैन। यो समयमा अफिस र कलेज जानेहरू त पक्कै पनि हेर्न आउनेछैनन्।

उनीहरू फर्कने बेला फुटबल सकिसकेको हुन्छ। उनीहरूलाई पनि तान्ने हिसाबले गर्ने हो भने साँझ ५ बजे नै हुन्छ। तर केही प्राविधिक कारणले गर्दा त्यो समय नमिलेको थियो।

पहिला र अहिलेको खेल कति फरक देख्नुभएको छ ?

अहिले धेरै फरक भइसकेको छ। नियमहरू परिवर्तन भएका छन्। बलको तौल फरक हुन्छ। अहिले प्राविधिकरूपमा कसरी खेल्ने भन्ने योजनाका साथ खेलिन्छ। पहिला पावर गेम हुने गथ्र्यो, बललाई पावरले हान्नु पर्ने हुन्छ, योजनाबद्ध हुँदैन।

एउटा टिम एट्याक खेलेको छ भने अर्को टिम पनि एट्याक खेल्थ्यो। अहिले त्यस्तो छैन कमजोर टिमले राम्रो टिमविरुद्ध रक्षात्मक खेल खेलेर काउन्टर एट्याक गर्ने रणनीति हुने गरेको छ। अहिले लिगमा पनि त्यस्तै देखिएको छ।

पहिलेको लिगको अनुभव बताइदिनुहुन्छ कि ?

पहिलेको लिगको कुरा नै नगर्नोस्, त्यो माहौल नै अर्को थियो। त्यतिबेला मेला लाग्थ्यो, अहिले त्यस्तो माहौल फर्किदैन। त्यतिबेला दुई ठाउँमा मान्छेको लहर हुन्थ्यो। एउटा रंगशालाबाट फर्केका लाम र अर्को रन्जना हलबाट निस्केको लाम।

रंगशालाबाट फर्केको लाम खिचापोखरी, न्युरोड असनसम्म पुग्थ्यो। त्यो लाम देखेपछि मान्छेहरूले अड्कल लगाइसकेका हुन्थे कि रंगशालामा खेल सकियो। यसैगरी क्लब क्लबका समर्थक पनि उस्तै थिए।

यदि एउटा क्लबले अर्को क्लबलाई जितेमा जितेको टिमका समर्थक वा खेलाडी त्यो हारेको क्लब भएको ठाउँबाट हिँड्दैन। किनभने त्यतिबेला झगडा पनि हुन्थ्यो।

क्लबको आम्दानीको स्रोत के हो ?

हाम्रो क्लबको आम्दानीको स्रोत भनेको यही क्लबकै भवनबाट उठाउने भाडा नै हो। घरभाडाबाट धेरै उठ्ने कुरै भएन। खेलेर जितेमा केही रकम पाउँछ। लिगको तयारीको लागि एन्फाले २० लाख दिएको छ।

त्यस्तै लिगमा हरेक खेल जितेमा ५० हजार र प्रत्येक बराबरी भएको खेलमा १५ हजार पाउँछ। तर खेल्नलाई पनि पैसा नै चाहियो, करोडौं लगानी चाहिन्छ। यस हिसाबले नेपालमा क्लबलाई बचाउन निकै गाह्रो छ। घाटा सहेर पनि हामीले क्लब चलाइरहेका छौं।

क्लब बचाउन के पहल गरिरहनुभएको छ ?

विसं १९८९ देखि क्लब निरन्तरताअघि बढिरहेको छ। यस्तो इतिहास बोकेको क्लब बचाउनका लागि हामी जसरी पनि लागिरहेका छौं। हामी अहिले प्रायोजकको खोजीमा छौं।

कुनै प्रायोजक आइदियो भने क्लबलाई केही राहत मिल्न सक्छ पनि। एन्फाले पनि प्रायोजक मिलाइदिन पहल गरिरहेको छ, अहिलसम्म भएको छैन।

यसमा राज्यको भूमिका कस्तो हुनुपर्छ ?

आर्थिक ऋणकै कारण केही वर्षअगाडि हामीले ‘ए’ डिभिजनबाट ‘बी’ डिभिजनमा झर्नुपरेको थियो। यस्तो अवस्थामा फुटबल क्लबलाई बचाउन राज्यबाट पनि केही ठोस कदम होस् भन्ने हरेक क्लबको चाहना रहेको छ।

हुन त काठमाडौं महानगरपालिकाले क्लबहरूलाई रु. १०/१० लाख सहयोग स्वरूप दिएर राम्रो शुरूआत गरिसकेको छ। यो रकम भविष्यमा बढ्दै जाओस् भन्ने हो।

अर्को राज्यबाट व्यावसायिक संघ संस्थाप्रति केही लचिलो भएर क्लबलाई प्रायोजक मिलाउने व्यवस्था गरिदिए प्रायोजन नभएका क्लबहरूलाई निकै राहत मिल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्