निर्माण व्यवसाय चलायमान नहुँदा अर्थतन्त्रमा नै समस्या आउने



नेपाल समाचारपत्र, काठमाडौं ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माण सबै राजनीतिक दलको साझा एजेण्डा बन्नुपर्ने बताउनु भएको छ। नेपाल निर्माण व्यवसायी महासंघको २१औं साधारण सभा तथा नेपाल बिल्ड टेक एक्स्पो २०२० को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोख्रेलले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताउनुभयो।

समृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। ‘निर्माण व्यवसायीले भने झैं सरकारले निर्माण उद्योगमैत्री ऐन नियम ल्याइरहेको छ, अब निर्माण व्यवसायीले पनि इमान्दारितपूवर्क काम गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोख्रेलले भन्नुभयो।

नेपाली निर्माण व्यवसायी अब आफ्नो योग्यता तथा क्षमतासहित श्रेष्ठता प्रमाणित गर्दै अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने उहाँको भनाइ थियो। महासंघका मानार्थ सदस्यसमेत रहनु भएका सांसद जीप छिरिङ लामा शेर्पाले निर्माण कार्य समयमा नै पूरा नहुनुमा निर्माण व्यवसायीको मात्र दोष नरहने भन्दै समयमा नै भुक्तानी नहुँदा व्यवसायीलाई धेरै असहज भएको बताउनुभयो।

सांसद बहादुरसिंह लामाले निर्माण क्षेत्रमा गहन अनुसन्धान आवश्यक रहेको भन्दै व्यवसायीले मोबिलाइजेसन खर्चको दुरुपयोग नगरेको दाबी गर्नुभयो। नेकपाका नेता डा. विजय पौडेलले आफ्ना समस्या खुल्ला रुपमा राख्न व्यवसायीलाई सल्लाह दिनुभयो। प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले व्यवसायीका समस्याबारे सरकार जानकार रहेको भन्दै व्यवसायीहरूको समस्या समाधान भइरहेको बताउनुभयो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले म्याद थप तथा बैंक क्रेटिड लाइनको समस्या समाधान भए पनि व्यवसायीहरू अरू धेरै समस्या खेप्न बाध्य भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो। ‘निर्माण व्यवसाय चलायमान नहुँदा देशको अर्थतन्त्रमा नै समस्या आउने भएकाले निर्माण व्यवसायीका जायज माग पूरा गर्नुको विकल्प सरकारसँग छैन,’ अध्यक्ष सिंहले भन्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालका व्यवसायीले विविध चुनौतिका बाबजुद उत्कृष्ट काम गरिरहेको बताउनुभयो। नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासमा निर्माण व्यवसायीको भूमिकाको चर्चा गर्नुभयो।

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, उपाध्यक्ष हिरेन्द्र दाहाललगायतले समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्तरुप दिने काम निर्माण व्यवसायीले मात्र गर्न सक्ने बताउनुभयो।

साधारण सभासँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा भक्तपुर सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० पनि शुरु भएको छ। निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरू कुल ७० हजार स्क्वाएर फिट क्षेत्रफलको एक्स्पोमा रहेको छ। तीन दिने एक्स्पोको सहयोगी साझेदारहरूको रुपमा नेपाल उद्योण वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्था रहेका छन्।

प्रतिक्रिया दिनुहोस्