उद्योगीलाई चुनाव लाग्यो



बाँके, (नेस)।

नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा दुवै प्यानलले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा समावेशी प्यानलले शनिबार १४ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।

यसअघि शुक्रबार ललित रौनियारको नेतृत्वमा रहेको साझा लोकतान्त्रिक उद्योगी व्यवसायी समूहले २२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो। संघको माघ ११ गते हुने चुनाव हुँदैछ।

समावेशी प्यानलले सामाजिक उत्तरदायित्व र व्यावसायिक समस्यातर्फ गरी १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो। संघलाई सबै क्षेत्रका उद्योगी व्यवसायीको अपनत्व महशुस हुने विधानमा व्यवस्था मिलाइने, नेपालगन्जलाई जडीबुटी भण्डारण, प्रशोधन र निर्यातको हक बनाउन बनाउन पहल गर्ने, सरकारले हतारमा ल्याएको सामाजिक सुरक्षा कोष, भीसीटीएस र प्यानबाट पारिश्रमिक भुक्तानीजस्ता निर्णय कार्यान्वयनका लागि पर्याप्त समय चाहिने भएकाले त्यसको पहल गर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जामा अस्थिर व्याजदरको समस्या समाधान गर्न निरन्तर प्रयास गर्ने रहेको छ।

करको दर होइन, दायरा फराकिलो बनाउन राज्यको ध्यानाकर्षण गर्ने, नयाँ–नयाँ जारी हुने कर प्रणालीका बारेमा उद्योगी, व्यवसायी जानकार नहुँदा थुप्रै समस्या सिर्जना हुने गरेकाले कर शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, सञ्चार क्षेत्रसँग सहकार्यका लागि स्पष्ट कार्ययोजना बनाउने, सीमापारी आकर्षित भइरहेका उपभोक्तालाई रोकिने, उद्योगी व्यवसायीलाई पर्न आउने व्यावसायिक पीरमर्कालाई शीघ्र तथा तत्काल सम्बोधन गर्नका लागि पदाधिकारीकै नेतृत्वमा हेल्प टिम बनाउने प्रतिबद्धता गरिएको छ।

बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थलका लागि सरकारबाट भोगााधिकार प्राप्त सडक डिभिजन परिसरको जग्गा प्राप्तिलाई प्राथमिकता दिने, नेपालगन्जमा उद्योगको संख्या बढाउने, नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकीकृत भन्सार चेकपोष्ट, रेलमार्ग विस्तार, नौबस्ता औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रजस्ता योजना कार्यान्वयन गर्दै सानादेखि ठूला लगानीका उद्योग, कलकारखाना स्थापना गर्नका लागि लगानी आकर्षित गर्ने प्रतिबद्धता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्