तल्लो मोदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन गर्न १० महिना ढिला



दुर्गाप्रसाद शर्मा, पर्वत ।

निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादनमा १० महिना ढिला हुने भएको छ। वैशाख पहिलो सातामा नै परीक्षण उत्पादन शुरू गर्ने लक्ष्य राखिएको आयोजनामा टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फागुन पहिलो साता पुगेको हो।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ। पहिलो चरणमा वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मत भइरहेको भएको छ।

पहिलो चरणको मर्मत सकिएपछि कार्तिक १० गते लक्ष्मीपुजाका दिन परीक्षण गर्दा पनि टनेलमा समस्या देखिएपछि पुनः मर्मत थालिएको हो। मोदी इनर्जी लिमिटेडले दिएको जानकारीअनुसार अडिट २ को ५ सय मिटरभित्रको टनेलमा पानी चुहिने समस्या देखिएको छ।

कडा चट्टान भएको क्षेत्र मानिए पनि चट्टानमा छिद्र रहेका कारण पानी चुहिने समस्या देखिएको थियो। ‘चट्टानमा रहेका छिद्र मा ग्राउन्डिङ गर्ने काम भइरहेको छ,’ आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलबासेले भन्नुभयो–‘अब एक महिनामा मर्मत सकेर परीक्षण उत्पादन थाल्ने लक्ष्य राखेका छौं,’ पानी चुहिने समस्या सानो भए पनि मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्डमा पर्ने भएका कारण पनि भविष्यमा कुनै जोखिम नहोस् भनेर सुरुङमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो।

कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावर हाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको ४ हजार २ सय मिटर लामो टनेल खनिएको छ। साउथ एसिएन इन्फ्रास्टक्चर लिमिटेडले सुरुङ निर्माणको काम गरेको थियो।

यसैगरी पावर हाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिँदा पनि निर्माण कार्यमा ढिलाइ भएको थियो। परादीस्थित पावर हाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करिब ७ मिटर नपुग्दा पनि ढिलाइ हुन पुगेको थियो।

आयोजनाले तारको दूरी नाप्ने इन्जिनियरको कमजोरीले पनि लामो समय काम रोकिएको थियो। २०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । आयोजनाबाट उत्पादित विद्युत् पातीचौरस्थित १३२ केभी सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा आबद्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्