बिरामी छात्राको नाममा उठाइएको रकम हिनामिना



बेइजिङ, (एजेन्सी)।

एकजना गम्भीर कुपोषणबाट शिकार भएकी छात्राका नाममा उठाइएको अन्दाजी १ लाख ४४ हजार अमेरिकी डलरबराबरको चन्दा सहयोगमध्ये नगन्य परिमाणको रकम मात्र उनको मृत्यु हुनु अघि उनको हातमा परेको खबर सार्वजनिक भएपछि चीनमा व्यापक रूपमा जन आक्रोश फैलिएको छ।

गत महिना कुपोषणकै कारण श्वास फेर्न कठीन भएको समस्याको उपचारका लागि केही समयअघि वु हआयान नामक युवतीलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको सहयोगका लागि देशभरिबाट सहयोग रकम संकलन भएको थियो।

शरीरको वजन २० किलोग्रामभन्दा अलिकति मात्र बढी भएकी उनी विगत पाँच वर्षदेखि प्रतिदिन एक डलरभन्दा कम रकममा गुजारा गर्दै आइरहेको बुझिएको छ। उपचारका क्रममा उनले आफ्ना पिता र हजुरबुबाको पैसा नभएर उपचार गर्न नसकेकाले मृत्यु भएको कहानी सुनाएकी थिइन्।

उनको पनि सोही दुखद् हविगत हुन नदिन सञ्चार माध्यमले उनका लागि सहयोग गर्न सार्वजनिक अपील गरेको थियो। चन्दा सहयोगको वर्ष भए पनि सोमबार उनको २४ वर्षको उमेरमा उनको मृत्यु भएको हो। सरकारी अधिकारिक तथ्यांकअनुसार करिब २ हजार ९ सय डलर अस्पताल खर्च मात्र उनका लागि तिरिएको देखिएको छ।

उनको मृत्युसंगै मानवीय संवेदनाप्रतिका प्रश्नहरू उठ्न थालेका छन्। ४ फिट ५ इन्च उचाईकी हुआयानको पहिलो तस्वीर गत अक्टोबरमा सार्वजनिक भएको थियो। मानसिक स्वास्थ समस्यासमेत रहेका उनी र उनका भाइलाई तिनीहरूका काकाकाकीले सहयोग गर्दै आएको बताइएको छ।

तर तिनीहरूले यी दिदीभाइका लागि महिनाको ३ सय युआन मात्र सहयोग गर्न सकेका थिए। उनको भाइको औषघि खर्च कटाएपछि हुआयानको खानाका लागि दिनको २ युआन मात्र बच्ने गरेको बुझिएको छ।

बालबालिकाका लागि चीन दातृसहयोग प्रतिष्ठान (सीसीएएफसी) अन्तर्गतको परियोजना च्यारिटी ९९५८ ले उनको मुटुको शल्यक्रियाका लागि भनेर अर्थ संकलन गरेको थियो।तर शल्यक्रियाका लागि उपयुक्त हुनेगरी उनको शारीरिक वजन बढ्न सकेन।

मृत्यु हुँदा उनको वजन ३० केजीभन्दा कमै रहेको थियो। च्यारिटी ९९५८ लाई उठेको रकमको गलत प्रयोजन गरेको आरोप लगाइएको छ। ९९५८ का पूर्वसदस्य तथा प्रमुख कार्यकर्ता झोंग हेहोंगले चायरिटीले यसरी उठाइने रकम ब्याजमा लगाइने गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्