भ्रमण–सुरक्षाको प्रश्न



अन्नपूर्ण पदमार्ग विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ । तर, मौसमी सूचनालाई अवज्ञा गर्दा सो क्षेत्र पुग्ने पर्यटकले हरेक सास्ती व्यहोर्दै आएका छन् । गत साताको बाक्लो हिमपातका कारण चार कोरियालीसहित दुई नेपाली नागरिक बेपत्ता भएका छन् ।

शुक्रबारदेखि हराएकाहरूको पहिचान भए पनि अत्यधिक हिमपात र चिसोका कारण शनिबार अबेरसम्म उद्धार हुन सकेको छैन । अन्नपूर्ण आधार शिविर पुगेका नौ कोरियाली नागरिकमध्ये पाँच कोरियाली र एक नेपालीलाई भने उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मी र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा सरोकार राख्ने अन्य संघ–संस्थाका अधिकारी उद्धारमा खटिएका छन् । तर, असुरक्षाको चिन्ताले सबैलाई सताइरहेको छ ।

मौसमका कारण हिमाली क्षेत्रमा पर्यटक बेपत्ता भएको यो पहिलो घटना होइन । अन्नपूर्ण, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पालगायतका पर्यटकीय क्षेत्रमा वर्षेनी यस्ता घटना दोहोरिँदै आएका छन् ।

पाँच वर्षअघि ३० भन्दा बढी स्वदेशी–विदेशी पर्यटकले अकालमा ज्यान गुमाएका थिए । पर्यटकीय क्षेत्रमा दोहोरिने जनधनको क्षति न्यूनीकरण गर्न मौसमी सूचना अत्यावश्यक मानिन्छ ।

जल तथा मौसम विज्ञान विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान–बेलुका मौसमी सूचना अद्यावधिक गर्दै आएको छ ।

महाशाखाले आम सर्वसाधारणसहित हवाई उडान हुने राष्ट्रिय–अन्तर्राष्ट्रिय मार्ग र गन्तव्यमा हुन सक्ने सम्भावित मौसम गडबडीको सूचना अग्रिमरूपमा सम्प्रेषण गर्दै आएको छ ।

हवाई भिजिविलिटी, हावाको बेगमा आउन सक्ने उतार–चढाव, वर्षाजस्ता कुराको पूर्वानुमान, पूर्वसूचना र तथ्यांक महाशाखाले सम्प्रेषण गर्दै आएको छ । केही वर्षअघि निकै आलोचित हुने महाशाखाको मौसम भविष्यवाणी पछिल्ला वर्षमा हुबहु मिल्न थालेको छ ।

महाशाखाले तीन दिनअगावैको मौसमी सूचना सार्वजनिक गर्दै आएको छ, तर यस्तो सूचनासँग अद्यावधिक नहुँदा र सूचनालाई गम्भीरतापूर्वक नलिँदा जनधनको क्षति दोहोरिने गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना र तथ्यांक प्रदान गर्ने उद्देश्यका साथ नेपालमा सन् १९६६ मा तत्कालीन जलस्रोत विभागअन्तर्गत मौसम शाखा स्थापना भएको थियो । त्यसअघि भारतीय मौसम विभागले भारतको कोलकाता हुँदै नेपाल आउने विमानका लागि मौसमको पूर्वानुमान बताउने गथ्र्यो ।

१९६६ मा नेपाल विश्व मौसम संगठनको सदस्य बनेपछि भने स्वदेशबाटै हवाई उडानको मौसमी सूचना सम्प्रेषणको अभ्यास शुरू भएको मानिन्छ । हवाई सेवा प्रदायक कम्पनीले पछिल्लो मौसमी सूचना बुझेर मात्रै सेवा प्रदान गर्न अनिवार्य गरिएजस्तै ट्राभल एजेन्सीलाई पनि यस्तो विषयमा कडाइ गर्नुपर्छ ।

निकै लामो गृहकार्यका साथ नेपालमा नेपाल भ्रमण वर्ष–२०२० शुरू भइसकेको छ । मौसमी सूचना विश्वसनीय भयो भने मात्रै यात्रा सफल हुन्छ, पर्यटकको मन जित्न सकिन्छ ।

केही वर्षयता स्वदेशी पर्यटक पनि मुलुकभित्रका पर्यटकीय गन्तव्यमा घुमफिर गर्ने क्रम निकै बढेको छ । त्यसैले मौसमी सूचना अद्यावधिक गर्ने संयन्त्रलाई प्रभावकारी बनाइनुपर्छ ।

क्षति वा दुर्घटनापश्चात् गठन हुने छानबिन समिति गठन र समितिले तयार गर्ने प्रतिवेदन अनि सुझाव लिन मात्रै सरकारको ध्यान केन्द्रित हुनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्