हलले जे चल्छ त्यही चलाउने हो : मधुसूदन प्रधान



फिल्म निर्माता तथा प्रदर्शक मधुसूदन प्रधान फिल्म वितरक तथा प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्ष निर्वाचित भएका छन्। लामो समयदेखि संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा बसेर कार्य सम्पादन गर्दै आएका प्रधान बौद्धको सिद्धार्थ हलका सञ्चालक हुन् भने उनले पृथ्वीलगायतका केही फिल्मसमेत निर्माण गरेका छन्। फिल्म निर्माण र प्रदर्शनको क्षेत्रमा सक्रिय रही यो क्षेत्रलाई टेवा पुर्याउँदै आएका प्रधानसँग नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

नेपाल चलचित्र संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ, नयाँ कार्यसमिति कस्तो बनाउँदै हुनुहुन्छ ?

म २ दशकदेखि संघको विभिन्न पदमा आबद्ध भएर काम गरिरहेको छु। यहाँसम्म आउनको लागि धेरैले साथ दिनुभएको छ। संघको कार्यसमिति सदस्यहरू पनि लामो अनुभव भएको हुनुहुन्छ।

उहाँहरूमध्ये को कुन क्षेत्रमा अनुभवी हुनुहुन्छ त्यहीअनुसार कार्यक्षेत्र निर्धारण गर्दै चयन गर्नेछु। कार्यसमिति मजबुत बनाउनेछु।

नेपाली फिल्म क्षेत्रकै सबैभन्दा पुरानो संगठनमा निर्विरोध निर्वाचित हुँदा कस्तो अनुभव गर्नुभएको छ ?

संघमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको सदस्यहरू आबद्ध हुनुहुन्छ। प्रजातन्त्रको मूल्य–मान्तयाअनुसार भोट नै खसालेर निर्वाचनमा जाने विकल्प त छँदै थियो।

तर पनि विगतका तीतामीठा अनुभवको आधारमा संघमा आबद्ध अग्रजहरूले निर्वाचनमा जानु उपयुक्त नहुने ठहर गर्नुभयो। किनभने निर्वाचनमा जाँदा गुट–उपगुटमा विभाजनमा हुने र असहयोग हुने तथा आफ्नो प्रतिस्पर्धी आफैंले जन्माएको जस्तो हुने भएकाले गर्दा निर्विरोध चयन गर्नुभएकोमा खुसी लागेको छ।

तपाईंको ३ वर्षे कार्यकालमा संघबाट नेपाली फिल्म क्षेत्रले के–के लाभ हासिल गर्नेछ ?

कुनै पनि काम गर्दा एक पक्षले मात्र गरेर हुँदैन। निर्माता र हलवाला सँगसँगै हिँड्नुपर्ने हुन्छ। उहाँहरू हाम्रो बिजनेस पार्टनर हुनुहुन्छ।

हामी निर्माताहरूलाई समेटेर उहाँहरूको र हाम्रो के–के कमी–कमजोरी छन् र कसरी मिलाएर अघि बढ्न सकिन्छ। हलको तर्फबाट कहाँ–कहाँ के–के हातोमालो गरेर जान सकिन्छ, त्यहिअनुसार काम गर्नेछांै।

नेपाली फिल्म क्षेत्र अहिले अन्योलग्रस्त अवस्थामा छ। फिल्महरूले व्यापार गर्न सकिरहेका छैनन्। यस्तो अवस्थामा संंघले नेपाली फिल्मलाई माथि उठाउन के–कस्तो पहल गर्नेछ ?

चलचित्र संघ भनेको हलवालाहरूको संगठन हो। यसमा वितरकहरू पनि सदस्य हुनुहुन्छ। फिल्मको व्यापारका लागि एकपक्षीय ढंगले सोचेर हुँदैन। यसरी सोच्दा हल पनि चल्दैन र फिल्म पनि चल्दैन।

८/१० वर्ष पहिले हलहरू गुणस्तरहीन छन् भन्ने गुनासो थियो। अहिले गुणस्तर र सुविधासम्पन्न हल छन्। तर, फिल्म चल्नका लागि हल मात्र राम्रो भएर हुँदैन।

कन्टेन्ट पनि राम्रो हुन पर्छ। यसका लागि संघ एक्लैले मात्र काम गरेर हुँदैन। हलवाला र निर्माता दुवै बसेर मिलेर जानेबाहेक हामीसँग अर्को विकल्प छैन। यसका लागि हामी हातेमालोसँगै सहकार्य पनि गर्नेछौं।

सरकारले हलमा ६ महिना अनिवार्यरूपमा नेपाली फिल्म चलाउनुपर्ने नियम ल्याउने योजना बनाइरहेको छ। यसमा चलचित्र संघ र तपाईंको धारणा के छ ?

डेफिनेट्ली यस्तो कुराहरू उठेको थियो। यस विषयमा निर्माता संघसँग विभिन्न गोष्ठी तथा अन्तरक्रियाहरू पनि गरियो। यसका लागि २ वटा कार्यदल गठन गरिएको छ र कार्यदलबाट सुझावहरू आइरहेका छन्।

तर, फिल्मको व्यापारको क्षेत्रमा ३ वा महिना ६ महिना भनेर हुँदैन। पहिलेको तुलनामा हेर्ने हो भने अहिले धेरै नेपाली फिल्म नै चलिरहेका छन्। नेपाली फिल्म नै ६ महिना भनेर तोकेर हुँदैन।

दर्शकलाई न्याय पनि चाहिन्छ। नेपाली फिल्म ६ महिना त के बाह्रै महिना चल्ने दिन पनि नआउला भन्न सकिँदैन। तर, फिल्म चल्नका लागि कन्टेन्ट राम्रो हुनुपर्छ। कोटा तोक्नेभन्दा पनि फिल्मको कन्टेन्ट राम्रो बनाउनेतिर सोच्नु जरुरी छ।

नेपाली सिनेमा हलले नेपाली फिल्मलाई नै दोस्रो प्राथमिकतामा राख्ने गरेको गुनासो व्यापक छ। यस्तो किन भएको होला ?

हलले कुनै पनि हालतमा नेपाली सिनेमालाई दोस्रो प्राथमिकतामा राखेको छैन। नेपाली फिल्मलाई पहिलो प्राथमिकता दिएका छौं। पहिला–पहिला मल्टिप्लेक्स हल निर्माण गर्दा विदेशी फिल्म देखाउनका लागि भन्थे।

तर, अहिले ती हलहरूमा दीपकराज गिरीका फिल्महरू, कबड्डी कबड्डीजस्ता नेपाली फिल्म नै चलिरहेका छन्। हलमा जे चल्छ त्यही चलाउने हो। मल्टिप्लेक्स हलका ६ वटा टिकट काउन्टरमा विभिन्न फिल्मका टिकट राखिएको हुन्छ।

दर्शकले जुन फिल्मको टिकट माग्छन्, त्यही फिल्मको टिकट दिने कि नदिने? दर्शकले विदेशी फिल्मको टिकट माग्दा यो दिन्न नेपाली फिल्मको टिकट किन भन्ने अधिकार हलवालालाई छैन।

तपाईं आफैं हेर्नोस् न अहिलेसम्म पनि क्यूएफएक्सको पर्दामा पोई पर्यो काले चलाइएकै छ। फिल्म रिपिट गरेर चलाउनु भनेको नेपाली फिल्मलाई माथि उठाउनकै लागि त हो नि।

फिल्म निर्माता र प्रदर्शकबीच चिसो सम्बन्ध रहने गर्छ। यो सम्बन्धलाई सुमधुर बनाउन के गर्न सकिएला ?

अहिले त्यस्तो छैन। निर्माता र प्रदर्शकबीच चिसो सम्बन्ध भनेको हल्ला मात्र हो। निर्माता र प्रदर्शक नङ र मासु हुन्। सम्बन्ध चिसो बनाएर दुवैलाई घाटा छ।

निर्माताले फिल्म बनाएन भने वितरकले के देखाउने र वितरकले देखाएन भने निर्माताले कसरी सिनेमा बनाउने? हल त खाली हुन्छ। यो कुरा दुवै पक्षलाई थाहा छ र सम्बन्ध सुमधुर नै छ।

अहिले देशभरका सिनेमा हलको अवस्था के छ ?

अहिले अचम्म भइरहेको छ। काठमाडौंबाहिरका हलहरू लगभग बन्द हुने अवस्थामा छ। प्रविधिको विकासका कारणले अहिले सबैको हातहातमा मोबाइल छ।

घर–घरमा टेलिभिजन छन्। यस कारण पनि हलमा दर्शक घटेको हुन सक्छ। अर्को कुरा हामी हल हलमा गएर दर्शकको प्रतिक्रिया लिँदा अहिले नेपाली फिल्मको कन्टेन्ट र गुणस्तर छैन भन्ने कुरा दर्शकबाट पाएका छौं।

बक्स अफिस पूर्ण लागू गर्न तपाईंको नेतृत्वको संघको भूमिका के रहन्छ ?

नेपाल सरकारले विभिन्न हलमा सर्भर लगाएको छ। हामीले निर्माता संघका साथीहरूसँग बसेर छलफल गर्दा यसको सन्तोषजनक र पारदर्सिता नभएको भन्ने कुरा आएको छ। पारदर्सिता भनेको दुवै पक्षमा हुनुपर्छ। खर्च कटाएर दुवै पक्षलाई आम्दानी बाँडफाँड गर्ने हो। यसमा सबै हलवाला सकरात्मक छौं।

तपाईंले पृथ्वीलगायतका केही फिल्मको निर्माण गर्नुभयो। तर, लामो समयसम्म फिल्म निर्माणमा नफर्कनुका कारण के होला ?

मैले २०५० सालमा पृथ्वी नामक फिल्म निर्माण गरें। त्यसपछिका दिनहरूमा पनि साथीहरूसँग मिलेर विभिन्न फिल्म निर्माणमा सक्रिय भइरहेको छु। राम्रो स्क्रिप्ट र टिम मिल्यो भने अवश्य पनि फेरि फिल्म निर्माण गर्छु।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

प्रदर्शक र हलको विषयमा बेला–बेला विभिन्न कुरा आउँछन्। फिल्म क्षेत्र भनेको धर्म संस्कृतिसँग पनि जोडिएको कुरा हो। व्यापार नै गर्ने हो भने अन्य क्षेत्र पनि छन्। हलवालाले करोडौं लगानी गरेर हजारौंलाई रोजगारी दिइरहेको हुन्छ।

निर्माता डुब्दा हलवालालाई पनि दुःख लाग्छ। तर, जब कुनै पनि विषयमा कुरा उठ्छ, बिनाप्रमाण हलवालालाई नै दोषी देखाउने गरिन्छ। यो प्रवृत्ति राम्रो होइन। यो कुरा दुवै पक्षले मनन गरेर जाँदा राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्