दीपकराज गिरीकाे आस्थालाई सुझाव : ‘म माफी माग्छु, तिमी पनि माग’



न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीमाथि आक्रोश पोख्दै बनाएको भिडियोका कारण विवादमा तानिएकी गायिका आस्था राउतलाई कलाकार दीपकराज गिरीले माफी माग्न सुझाव दिएका छन् । गिरीले फेसबुकमा स्टाटस लेख्दै राउतलाई आफू पनि धेरै पटक यस्तै परिस्थितीबाट गुज्रिएको बताएका छन् । उनले लेखेका छन् , “हामि कलाकार वा सेलेब्रिटीज़को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ ।”

“आज कतिपय स्ट्याटस हरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु,” उनी लेख्छन्, “तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौं, यो वास्तविकतालाई बुझौं ।” गल्ती अरुकै भए पनि दोष कलाकालाई आउने गरेको उनको भनाइ छ ।

दीपकराज गिरीले लेखेको स्टाटसः

प्रिय आस्था बहिनी!!!

यो विषयमा लेख्न मन थिएन । तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि बिगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु । यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छु ।

समस्या काँहाबाट आयो भने तिमीले भीडको सामना गर्दै प्रहरी लाई चेक गराउँदै अघि बढ्नु पर्यो । भीड र संबेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ । उनीहरूलाई छुट्टै दबाब हुन्छ । उनीहरु १० घन्टे लामो ड्युटीमा हुन्छन् । सानो गल्ति भए जागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरू बाट अलि रूखो ब्यबहार निस्किन्छ पनि । त्यहाँ पनि निस्कियो होला ।

तर हामी कलाकार वा सेलिब्रिटीको गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ । सेलिब्रिटी भनेको सेतो कपडा रहेछ । अरू रङ्गमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहाल्छ । अत सहनु पर्ने हामीले नै रहेछ । विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकी त्यँहा नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने ब्यापारीहरू, नाम चलेका खिलाड़ी, कलाकारहरूलाई पनि भीआईपी मानिन्छ । र सुबिधाजनक ढङ्गले चेक हुन्छ । जसका कारण भिडको सामना गर्नु पर्दैन । र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ । तर यो देशमा नेता मात्रै भीआईपी हो । यो संबेदनशीलतालाई हामीले बुझ्नुपर्छ, किनकी हामी भीडबाट नै गुज्रिनु पर्छ । त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ ।

मापसे कान्डमा म पनि परेँ । गल्ती मेरै थियो । तर जब म प्रहरीको पन्जामा परेँ, म माथि भएको दूरब्यबहार डर लाग्दो नै थियो । तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामीले नै होसियार हुनु पर्नेरहेछ, हामीलाई अन्याय नै भयो भने पनि ।

‘कलाकार हो फूर्ती देखायो होला फस्यो नि भनिँदो रहेछ’ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ पाउँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ र तिमीलाई पनि त्यस्तै केही रूखो ब्यबहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फेसबुक लाइभले गर्यो । त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

तिमीलाई केही नभई त्यस्तो भनिनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियो अतः यो घटनालाई तिमीले हामीले सबैले एउटा पाठको रूपमा लिनु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ ।

आज कतिपय स्ट्याटस हरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु । तिमी पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौं, यो वास्तविकतालाई बुझौं ।

प्रतिक्रिया दिनुहोस्