‘व्यवस्थित र सुन्दर बाह्रविसे निर्माणका लागि जुनसुकै मूल्य चुकाउन तयार छु’: मेयर शेर्पा



बजार व्यवस्थापनको नीति सहित शुक्रबार बाह्रबिसे नगरपालिकाले बजारका सडक छेउका घर टहरा भत्काउन सुरु गर्‍यो । सडकमै छानो निकालिएका कतिपय टहरा डोजर लगाएर भत्काइए, कतिपयले आफैँले सडकपेटीका टहरा भत्काए ।

शुक्रबार सडक छेउका घर टहरा भत्काउन सुरु भएकोमा शनिबार त्यस्को बिरोधमा बाह्रविसे बजारमा र्‍याली निकालिएको छ । नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताको अगुवाईमा निस्किएको र्‍यालीमा सहभागी केहि यूवाहरुले बाह्रविसे नगरपालिकाको कार्यालयमा तोडफोड समेत गरेका छन् । यसै विषयमा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पासँग नेपाल समाचारपत्रकर्मी नानीराम नेपालले गरेको कुराकानीः

बजारलाई व्यवस्थित बनाउने भनेर सडकछेउका घर टहरा भत्काउन थाल्नुभएछ नी ?

निश्चित पनि हामीले व्यवस्थित र सुन्दर बाह्रविसे निर्माणका लागि यो अभियान सुरु गरेका हौं । बजारक्षेत्रमा सडकलाई नै गोदाम बनाएर निर्माण सामाग्री राखिएको छ । सडकमै ग्यारेज चलाइँदै आएको छ । अझ कतिपय स्थानमा त सडकमै टहरो बनाई कुखुरापालन समेत गरिएको टड्कारै रुपमा देखिन्छ । त्यसो हुँदा बाह्रविसे बजार अव्यवस्थित हुनगयो । बजार दुर्गन्धित बन्नपुग्यो । सडकमै छानो लगेर पसल व्यवसाय संचालन भइरहँदा बजारक्षेत्रमा सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गयो । यसर्थ हामीले बजार ब्यबस्थापनको यो अभियान सुरु गरेका हौँ ।

घर टहरा भत्काइएपछि बजार तातेको छ नी ?

पहिलो कुरा बजार तातेकै होईन । बजारका केहि मालिकहरुले सोझासिधा सर्वसाधारणमा भ्रम सिर्जना गरि उनीहरुलाई बिरोधमा उतार्न खोजेका हुन् । ८० प्रतिशत बजारवासी व्यवस्थित बाह्रविसेको पक्षमा छन्, बजारवासीको समर्थनमै सडकछेउमा बनाइएका संरचना हटाउने अभियान सुरु गरिएको हो ।

घर टहरा भत्काएको बिरोधमा र्‍याली निस्किएछ, नगरपालिकाको कार्यालय पनि तोडफोड भएछ नि ?

हो शनिबार बजार व्यवस्थापनको बिरोधमा र्‍याली निस्कएछ । नगर कार्यालयमा केहि अराजक तत्वले तोडफोड पनि गरेछ । तर यो बजारवासीको बिरोध र्‍याली होईन । मसँगै हिजो चुनावमा पराजित भएकाहरुले राजनीतिक प्रतिशोधका आधारमा बिरोध गरेका हुन् । ८० प्रतिशत भन्दा बढि बजारवासी त बजार ब्यबस्थापनकै पक्षमा छन्, उनीहरुले बिरोध गरेका होईनन् । स्पष्ट रुपमा भन्दा म तत्कालिन नेकपा उमालेबाट निर्बाचित भएको हुँ । मैँले रामे काम गर्दा काँग्रेसको राजनीतिक अस्तित्व संकटमा पर्ने नै छ । नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरु आफ्नो राजनीतिक अस्तित्व संकटमा पर्नेभएपछि बजार ब्यबस्थापनको बिरोधमा उत्रिएका हुन् । स्थानीयवासी बजार व्यवस्थापनको बिरोधमा छैनन्, बाहीरबाट अराजक यूवाहरु झिकाएर बिकास बिरोधी गतिविधि भइरहेको छ ।

अब कसरी अघि बढ्छ बजार ब्यबस्थापनको काम ?

स्थानीयलाई पटक पटक सचेत गरायौँ । सार्वजनिक सूचना टाँसेर सडक छेउका छाना र टहरा हटाउनु पनि भन्यौँ । कतिपयले आफैँ भत्काउनुभयो, कतिपयले समयसीमा माग्नुभयो । एक सय हाराहारीको संख्यामा भत्काएका छौँ । म बजारबासीलाई बिनम्र अनुरोध गर्न चाहन्छु की ब्यबस्थित र सुन्दर बाह्रविसे निर्माणमा हामी एकजुट भएर लागौँ । भ्रममा नपर्नुस्, बजार ब्यबस्थित हुँदा बजारबासीलाई नै त्यसको फईदा पुग्छ । बिकास बिरोधी तत्वको पछि नलाग्नुस्, हामी ब्यबस्थित बाह्रविसे निर्माण गरेरै छाड्छौं । अबको पन्ध्र दिनभित्र सडकछेउमा रहेका टहरा र अन्य संरचना हटाएरै छाड्छौं । ब्यबस्थित बाह्रविसे निर्माणका खातिर म जस्तोसुकै मुल्य चुकाउन पनि तयार छु ।

प्रतिक्रिया दिनुहोस्