कनेक्ट आईपीएसको मासिक कारोबार १२ अर्ब नाघ्यो



नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले सञ्चालन गर्दै आएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भएका मासिक कारोबार पुस महिनामा १२ दशमलव शून्य ५ अर्बभन्दा बढी पुगेको छ।

कनेक्ट आईपीएस सञ्चालनमा आएदेखि पुसमा हालसम्मकै सबैभन्दा बढी कारोबार भएको हो। चालू आर्थिक वर्षको पुस मसान्तसम्म कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत ६ लाख ५० हजार १४२ कारोबार भएको छ। जसमा सेटलमेन्ट रकम ४२ दशमलब ४८ अर्ब रुपियाँ रहेको छ।

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्लेटफर्म हो। जसमा अनलाइन फन्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड, बिल भुक्तानीलगायतका सुविधा उपलब्ध छन्।

उक्त प्लेटर्फममा सदस्य बैंकका ग्राहकले फन्ड ट्रान्सफरलगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड, नेप्से अनलाइन ट्रेडिङ तथा शेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल, कलेज, इन्स्योरेन्स भुक्तानी, जस्ता कारोबार गर्न सकिने व्यवस्था रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्