पर्यटकमय नेपाल र सम्भावना



नेपालमा कृषि र जलविद्युत्सँगै पर्यटन क्षेत्रले देशको आर्थिक विकासमा टेवा पुर्याउँदै आएको छ। अर्थतन्त्रको दिगो स्रोत मानिएको आन्तरिक पर्यटनको प्रवद्र्धनले पछिल्लो समय आशा जागृत हुँदै गएको छ।

चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनले वार्षिक २ लाख पर्यटक भित्र्याएर २ करोड रुपियाँ आम्दानी गर्न सफल भएको छ।

हात्ती सयर, जिप सफारी, डुंगा सयरजस्ता सुविधा प्रदान गरेर सो वन आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू कुमरोज वनमा सफारी गर्नु अनिवार्यजस्तै बनेको छ।

गत एकवर्षमा १ लाख ९२ हजार पर्यटकले भ्रमण गरेबाट पर्यटन पूर्वाधार हुने हो भने सामुदायिक वन पनि पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्दो रहेछ भन्ने दृष्टान्त सो वनले प्रस्तुत गरेको छ। पर्यापर्यटनबाट आर्जित आम्दानीबाट वनले पूर्वाधार निर्माण, वन पैदावार संरक्षण तथा स्थानीय समुदायलाई वनसँगको निर्भरता हटाउन आयआर्जनको काम गर्दै आएको छ।

पछिल्लो समय घरबास (होमस्टे) पनि पर्यटक आकर्षण गर्ने माध्यम बन्दै आएको छ। सो वनले आवासीय सुविधासहितको मचान (टावर) पनि सञ्चालन गर्दै आएको छ।

भौगोलिक क्षेत्रफलको हिसाबले सानो मुलुक भए पनि विश्वभर पर्यटकलाई आकर्षण गर्ने मुख्य आधार भनेको नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र जैविक विविधता नै हो। कहिले भूकम्प, कहिले आन्दोलन त कहिले नाकाबन्दीका कारण शिथिल बनेको पर्यटन क्षेत्र अहिले भने उत्साहजनकरूपमा तंग्रिन थालेको छ।

विशेष गरी भूकम्पपश्चात् अमेरिकी तथा युरोपेली मुलुकहरूले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न र गर्नै परे सावधानी अपनाउन सुझाव दिँदै ‘ट्राभल एड्भाइजरी’ जारी नै गरेका थिए। त्यसयता सन् २०१८ पछि मात्रै पर्यटन क्षेत्रलाई पुनर्जीवित गराउन सक्ने बलियो सम्भावना र आधारहरू खडा भएका छन्।

विश्वभरका लाखौँ पर्यटकले ट्रिप एड्भाइजरको अध्ययन गरेर नै कुनै देश वा स्थानको भ्रमण गर्ने वा नगर्ने भनेर भ्रमणको गन्तव्य निक्र्योल गर्ने गर्छन्। विश्वका प्रख्यात उत्कृष्ट गन्तव्यमध्ये नेपाल पनि दरिएको छ।

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाइरहेको छ। पर्यटकलाई लोभ्याउन होमस्टे, कलासंस्कृति, बसाइ लम्ब्याउन सघाउने प्याकेजका कार्यक्रमहरूबाट उपलब्धि हासिल हुन सक्छ।

सर्वप्रथम विश्व पर्यटन बजारलाई आकर्षित गर्न नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश फैलाउन सक्नुपर्छ। त्यो सन्देश नेपाल भ्रमण गर्ने हरेक पर्यटकलाई आतिथ्य सत्कार गर्ने, सकारात्मक सन्देश छोड्ने खालका गतिविधि गर्ने, उनीहरू ग्राहकभन्दा बढी पाहुना हुन् भन्ने सोचाइ राख्ने, उनीहरूलाई भरपूर सहयोग गर्ने, खुशी पार्ने र साथी बनाएर बिदाइ गर्नेजस्ता काममात्रै गर्न सकिए पनि त्यसले दीर्घकालसम्म सकारात्मक छाप छोड्न सक्छ।

विगतमा पर्यटकहरू गाइडबाटै लुटिने, होटलहरूमा ठगिने, लगेजहरू तानातान गरेर हैरानी दिने, विभिन्न बहानामा सताउनेजस्ता गतिविधि नभएका होइनन्। असल संस्कार र आतिथ्यबाटै संसार जित्न सकिन्छ।

अन्तर्राष्ट्रिय जगत्मा फैलिएका नकारात्मक भ्रम र सन्देशहरू चिर्न पर्यटन व्यवसायीदेखि हरेक क्षेत्रले उत्तिकै ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा पक्कै पनि फड्को मार्न समय लाग्दैन।

पर्यटकहरू दुर्लभ वन्यजन्तु हेर्न, पर्यावरणीय सुन्दरतामा रमाउन, बहुसांस्कृतिक विशेषतामा लोभिन र बसाइलाई स्मरणीय बनाउन नेपाल आउने भएकाले नयाँ गन्तव्यको प्रवद्र्धन गर्दै स्थानीयस्तरदेखि सरकारले वातावरण सिर्जना गर्न सके पर्यटन क्षेत्रले नयाँ उचाइ लिने आशा गर्न सकिन्छ।

– प्रदीप कोइराला, पोखरा।

प्रतिक्रिया दिनुहोस्