रेडियोकर्मीका हत्यारालाई ३९ वर्ष कैद



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडाका ३८ वर्षीय रेडियोकर्मी मनोहर ढकाललाई डँकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवालाई ३९ वर्ष कैद फैसला सुनाएको छ ।
ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात् २५ वर्ष र डँकैती गरेकोमा १४ वर्ष गरी ३९ वर्ष कैद फैसला भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबारको इजलासले २० वर्षीय अनमोल पुडासैनी र १९ वर्षीय प्रवीण वाइबाले हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । हत्या गरेर फरार भएका पुडासैनी र वाइबालाई प्रहरीले माघ ४ गते हेटौंडामा पक्राउ गरेको थियो ।

हेटौंडा–११, नवलपुर बस्दै आएका ढकालको पुडासैनी र वाइबाले हेटौंडा–१ को भैरवडाँडास्थित राप्ति पुलनजिक जंगलमा हत्या गरेका थिए । ढकाल ना. २३ प ६३३८ नम्बर डिस्कभर मोटरसाइकल लिएर उक्त क्षेत्रमा पुगेका थिए, जुनबेला उनको हत्या भएको थियो, त्यसबेला मोटरसाइकल स्टार्ट अबस्थामा नै थियो ।
हत्या गरेर ढकालसँग भएको सुनको औंठी र मोबाइल र हार्डडिस्कसमेत पुडासैनी र वाइबाले लुटेर फरार भएका थिए । ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनारलाई २५ हजार जरिवाना गरिएको छ ।

पुडासैनी र वाइबाले ढकाललाई मोटरसाइकलबाट लडाएर कञ्चटमा ढुंगा प्रहार गरी हत्या गरेका थिए । प्रहरी र अदालतसमक्ष अभियुक्तद्वयले ढकालले ‘लागुऔषध खान हुन्न’ भनेकोले रिस उठेको र हातमा औंठी देखेर लुट्ने मनसायले हत्या गरेको बयान दिएका थिए ।
मार्ने नियतले घटनास्थलमा ढुंगा भएको खोल्सीमा धकेलेको र मोबाइल, सुन र पर्समा भएको ५ सय लिएर पर्स खोल्सीमा फालेको, झोलामा केही नभएकाले झोला पनि फालेर हार्डडिस्क लिएर घटनास्थलबाट फरार भएको अभियुक्तहरुले स्वीकार गरेका थिए ।

सञ्चारकर्मी ढकालको हत्या अभियोगमा पक्राउ परेका ६ जनामध्ये चार जनालाई धरौटीमा रिहा तथा २ जनालाई पुर्पक्ष थुनामा राख्न आदेश दिइएको थियो । जिल्ला अदालतका न्यायाधीश ध्रुवकुमार पियाको इजलासले हेटौंडा–११ का पुडासैनी र मनहरी गाउँपालिका–१ का वाइबालाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको थियो ।

हत्या गरेर लुटेको औंठी र मोबाइल खरिदकर्ता भीमफेदी गाउँपालिका–६ का ३१ वर्षीय दिनेश थापा र हेटौंडा–२ का ४८ वर्षीय सुनार तथा मोबाइल र औंठी बेच्न सहयोग गर्ने थप दुई जनालाई जनही ३५ हजार धरौटीमा रिहा गर्न आदेश दिइएको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धान र घटनास्थल मुचुल्काको क्रममा विशेषज्ञसहित तालिमप्राप्त कुकुर प्रयोगबाट शंकित व्यक्ति भागेको बाटोको सही दिशाको मार्गनिर्देशित भएको थियो । पटक-पटक घटनास्थल अवलोकन, करिब १ सय ५० जनासँग सोधपुछ, केही व्यक्तिको निगरानी र प्रविधिको विषेश प्रयोग गरी अभियुक्तहरु पक्राउ परेका थिए ।

पुस २५ गते साँझ करिब साढे ५ बजे भैरवडाँडा जंगलमा ढकाल गम्भीर अबस्थामा भेटिएका थिए । घटनास्थलमा उनको मोटरसाइकल लडेको अबस्थामा थियो । मोटरसाइकलभन्दा केही पर गम्भीर घाइते अबस्थामा उनी फेला परेका थिए ।

ढकाललाई घटनास्थलबाट हेटांैडा अस्पतालमा ल्याइएको ५ मिनेटपछि डाक्टरले मृतघोषणा गरेका थिए । ढकाल लामो समय रेडियो पालुङ र रेडियो शक्तिमा आवद्ध थिए । पछिल्लो समय उनी हेटौंडाको रेडियो अनमोलमा आवद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्