तरुल र सखरखण्डको व्यापार बढ्यो



शिक्षा पन्त, लमजुङ।

तरुल र सखरखण्डको कारोबार लमजुङमा ह्वात्तै बढेको छ। यस वर्ष सदरमुकाम बेंसीशहरसहित सुन्दरबजार, भोटेओडार, खुदी, भूलभूले, उदीपुर, भोर्लेटार, रामबजारलगायतका ठाउँमा तरुल र सखरखण्डको व्यापार उच्च भएको स्थानीय व्यापारीले बताएका छन्।

बेंसीशहरस्थित शेराचोकको सडक छेउमा तरकारी तथा फलफूलको व्यापार गर्दै आउनुभएकी चन्द्रमायाँ परियारले यस वर्ष तरुल र सखरखण्डको माग बढेको बताउनुभयो।

‘विगतका वर्षमा तरुल र सखरखण्ड बिक्री हुन निकै कठिन हुन्थ्यो,’ उहाँले भन्नुभयो–‘यसवर्ष त दुई दिनमै ८ हजारको तरुल र ३ हजार रुपियाँको सखरखण्डको कारोबार भयो। ’ उहाँले रातो, पातलो, लैरे पन्जे सेतो र रातो जातका तरुल बिक्री गरेको बताउनुभयो। प्रतिकिलो ३५ रुपियाँमा खरिद गरेर परियारले ७० रुपियाँमा यसवर्ष तरुल बिक्री गरेको बताउनुभयो।

जिल्लाको बजार क्षेत्रमा तरुल तथा सखरखण्डको व्यापार राम्रो भएको व्यापारीहरूको भनाइ छ। व्यवसायीहरूका अनुसार तरुल र सखरखण्ड जिल्लाको उत्पादनले नथेग्ने भएपछि अन्य जिल्लाबाट ल्याएर बिक्री गरेको बताएका छन्।

यस वर्ष तरुल तथा सखरखण्ड तनहुँ र गोरखाबाट ल्याइएर बिक्री गरेको बेंसीशहर फलफूल तथा तरकारी पसलका इन्द्रबहादुर अधिकारीले बताउनुभयो। उहाँका अनुसार यसवर्ष तरुल ७० देखि १ सय ४० रुपियाँ प्रतिकिलो र सखरखण्ड ४० देखि ७० रुपियाँ प्रतिकिलोमा बिक्री गरिएको छ।

माघे संक्रान्तिमा घिउ र चाकुसँग तरुल खाने प्रचलन रहेपछि यसको व्यापार वृद्धि भएको हो। माघे संक्रान्ति पर्वको अवसरमा बढी व्यापार हुने वन तरुल लमजुङको भुजुङ, पसगाउँ, सिङ्दी, भोँजे, घाम्राङ, तामु, घनपोखरा, सिउरुङ, ताघ्रिङ, चिप्ला, घेर्मु, हिलेटक्सार, पाचोक, दूधपोखरी, इलामपोखरीलगायतका ठाउँमा पाइन्छ। तर, आवश्यक संरक्षण र सम्वद्र्धन हुन नसक्दा लमजुङका वन जंगलबाट वन तरुल लोप हुने अवस्थामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्