सम्भावित विश्वयुद्धको सन्त्रास



बालकृष्ण मैनाली

गतमहिनाको तेस्रो हप्ता अर्थात् पुस १९ गते एउटा समाचारले विश्व तरंगित हुन पुग्यो। इराककोे राजधानी बग्दादस्थित विमानस्थलमा अमेरिकी सेनाले हवाई आक्रमण गरी इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्या गरिएको समाचारले विश्व एक्कासी तरंगित र स्तब्ध भयो।

उक्त समाचारको मियो सुक्न नपाउँदै इरानले इराकस्थित अमेरिकी सेनाको २२ वटा आधार शिविरहरूमा क्षेप्यास्त्र आक्रमण गरेको अर्को समाचार बाहिरियो। त्यति मात्रै होइन, सुलेमानीको शवयात्रामा भागदौड हुँदा पचासौं मान्छे मारिएको खबरसमेत सामाजिक सञ्जाललगायत विद्युतीय तथा छापा सञ्चारहरूमा प्रमुख समाचारहरूको रूपमा छाए।

बेला–बेलामा सृजित भैरहने यस्ता किसिमका द्वन्द्वको कारण नेपालीको पीडा आफ्नो स्थानमा छुट्टै छ। साँच्चै शक्ति राष्ट्रहरूको हठले मध्यपूर्वमा मात्र कथंकदाचित युद्ध हुन पुग्यो भने करिब ११ लाख त नेपालीहरू मात्रै जोखिममा पर्छन्। विश्वका अन्य भागबाट मध्यपूर्वमा छिरेका अन्य जनहरू कति जोखिममा पर्लान्, त्यसको अन्दाजले मात्र पनि मुटु काम्छ।

जति–जति यी घटनाबारे सामाचार सार्वजनिक हुँदै गए उति–उति विश्वका जनजनमा एक किसिमको त्रास फैलिएको अनुभूति हुन पुग्यो। हुन त शक्ति राष्ट्रहरूका आ–आफ्ना स्वार्थ साँध्ने विषयमा केन्द्रित हुँदै बेला–बेलामा यो वा त्यो नाउँमा मच्चाउने र मच्चाइने अनाहक र अनावश्यक नरसंहार विश्वले पटक–पटक नभोगेकोचाहिँ होइन, तथापि वर्तमान अवस्थासम्म आइपुग्दा गरिबभन्दा गरिब कहलिएका मानवहरू पनि कम्तीमा रुखासुखा खाएर जे–जति बाँच्न सकिन्छ त्यति बाँच्ने आशामा रहेका जनजनहरू यदाकदा संसारमा घट्ने र घटाइने यस किसिमका घटनाले सदैव जनजनलाई अब के हुन्छ, आज के हुन्छ र भोलि के हुन्छ भन्दै त्रसितको स्थितिमा बाँच्न बाध्य बनाइरहेको छ।

भर्खरै अमेरिका र इरानमा सल्केको द्वन्द्वले विश्वका जनजनलाई अब यिनीहरूको आगामी कदम कस्तो होला भनेर सशंकित अवस्थामा पुर्याइदिएको छ। प्रत्येक राष्ट्रका नागरिक कुनै न कुनै परिवेशबाट संसारका विभिन्न मुलुकमा छरिएर रहेका छन्।

अमेरिका, इराक वा इरानमै पनि विभिन्न देशका जनहरू कुनै न कुनै रूपमा चाहे त्यो रोजगारीको रूपमा होस् या पारिवारिकरूपमा होस् या अन्य कुनै कारणबाट होस्, रहे/बसेका हुन्छन् र छन्।

बेला–बेलामा उत्पन्न भइरहने यस्ता किसिमका द्वन्द्वले तिनीहरूमा एकातिर त्रासको मनोवैज्ञानिक असर पर्ने त आफ्नो ठाउँमा छँदै छ, तिनीहरूका परिवारका सदस्यहरूमा पर्न जाने मनोवैज्ञानिक त्रास पनि कम पीडादायी हुँदैन।

बेला–बेलामा सृजित भैरहने यस्ता किसिमका द्वन्द्वको कारण नेपालीको पीडा आफ्नो स्थानमा छुट्टै छ। साँच्चै शक्ति राष्ट्रहरूको हठले मध्यपूर्वमा मात्र कथंकदाचित युद्ध हुन पुग्यो भने करिब ११ लाख त नेपालीहरू मात्रै जोखिममा पर्छन्। विश्वका अन्य भागबाट मध्यपूर्वमा छिरेका अन्य जनहरू कति जोखिममा पर्लान्, त्यसको अन्दाजले मात्र पनि मुटु काम्छ।

घटना यतिमा मात्र सीमित रहेको देखिएन। यो घटनाको कारणले नै १७६ जना निर्दोष व्यक्तिले समेत अनाहकमा ज्यान गुमाउनुपरेको समाचारले विश्व स्तब्ध भएको छ, अर्थात् युक्रेन इन्टरनेसनल एयरलाइन्सको जहाज इरानबाट क्यानाडातर्फ उडेको थियो। उक्त हवाईजहाज पहिला दुर्घटना भएको भनेर समाचार सार्वजनिक भयो।

त्यति बेलै उक्त विमान दुर्घटना भएको नभएर खसालिएको आशंकासम्बन्धी समाचार पनि सार्वजनिक भएको थियो। नभन्दै पछिल्लो समाचारले उक्त शंकालाई पुष्टि हुने गरी उक्त जहाज अन्य कारणले दुर्घटना भएको नभई भूलवश मानवीय त्रुटिका कारण प्रहार गरेको क्षेप्यास्त्र लागेर दुर्घटना भएको भन्ने समाचार सार्वजनिक हुन पुग्यो।

दुःखद दुर्घटनामा इरानका ८२, क्यानाडाका ६३, युक्रेनका ११, स्वीडेनका १०, अफगानिस्थानका ४, बेलायतका ३ र जर्मनीका ३ जना गरी १७६ जना निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्यो।

कहाली लाग्दो दुर्घटनालाई भूलवश भनेर स्वीकार गरिएको भए तापनि मृतकका परिवारजनहरूमा पर्न गएको अकल्पनीय पीडालाई वास्तविकरूपमा सम्बोधन गर्ने कुनै औजार नै छैन भन्दा अत्युक्ति हुनेछैन।

एकातिर जनजनमा मध्यपूर्वमा चुलिँदै गएको अविश्वास र द्वन्द्वले कतै तेस्रो विश्वयुद्ध निम्तिने त होइन भन्ने त्रासले बेचैनी बढाउने काम गरेको छ भने अर्कोतिर विश्वयुद्ध नभई मध्यपूर्वमा मात्रै तनाव रहिरहे पनि त्यसले जनजनमा र सम्बन्धित राष्ट्रहरूमा निम्त्याउने समस्यालाई कसरी सम्बोधन गर्ने होला भन्ने चिन्ताले घर गरिरहेको तथ्यलाई नर्कान सकिँदैन।

बेलाबेलामा उत्पन्न भइरहने शक्तिशाली राष्ट्रहरूका आ–आफ्ना निहित स्वार्थ र दम्भहरू नै यसका कारक हुन् भन्दा अतिशयोक्ति हुनेछैन। एकातिर अमेरिकी आक्रमणको विरुद्धमा आएका भनाइहरूलाई खण्डन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध शुरू गर्न नभई युद्ध टार्नका लागि सुलेमानीलाई मार्नुपरेको बताएका छन्।

अर्कोतिर यो आलेख तयार पार्दासम्म इरानको राजधानी तेहरानमा क्षेप्यास्त्र प्रहार गरी विमान खसालेको भए तापनि त्यसरी खसालिएको होइन भन्दै ढाँटेको भनी सरकारविरोधी प्रदर्शनहरू चर्किएका अनि इरानी सुरक्षाकर्मीले प्रदर्शनको लागि सहयोग गरेको भन्दै बेलायती राजदूतसमेत पक्राउ परेका समाचारहरू पनि सार्वजनिक भएका छन्।

सँगसँगै बेलायती राजदूतले प्रदर्शनकारीलाई सहयोग गरेको नभई उक्त दुर्घटनामा बेलायती नागरिक पनि पर्न गएकोले मृतकलाई श्रद्धाञ्जलि मात्र दिन आफू सहभागी भएको जनाएका छन्। तथापि दिन–रातको अन्तरालमा घटिरहेका घटनाक्रमले गर्दा आगामी दिनहरूमा यसले के आकार ग्रहण गर्ला भन्ने चिन्ता विश्वभरिका जनजनमा छाएको छ।

जे–जस्तो समस्या पैदा भएको भए तापनि त्यसको हलको माध्यमचाहिँ वार्ता नै हो। आपसी वार्ताबाट समस्या समधान हुन नसकेको अवस्थामा समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्नको निमित्त संयुक्त राष्ट्रसंघको स्थापना गरिएको थियो।

स्थापनाकालमा सदस्य राष्ट्रहरूले आवश्यकता परेको अवस्थामा संयुक्त राष्ट्रसंघको सहयोगले मानवअधिकारहरू र मौलिक स्वतन्त्रताप्रति सर्वव्यापी सम्मान एवं पालन गर्ने प्रतिज्ञा गरेकोले भन्ने प्रस्तावनाको वाक्यांशलाई साँच्चै नै मानवहरूको न्यूनतम बाँच्न पाउने अधिकार कतैबाट कुनै पनि बहानामा कुण्ठित नहोस् भन्ने उद्देश्यबाट साना तथा अविकसित राष्ट्रदेखि विकसित तथा शक्तिशाली राष्ट्रहरूले पनि त्यति बेला मनन गरेको हो कि भन्ने आभास दिने कार्य भएको विश्वासमा केही अपवादबाहेक अहिले पनि जनजनहरू विश्वस्त नै छन्।

अपवादको रूपमा संयुक्त राष्ट्रसंघको अधिनस्थ विभिन्न नियोग तथा विकास कार्यक्रमहरूको काम गराइ र तिनीहरूका पदाधिकारीहरूको अनुचित हस्तक्षेपबारे बेला–बेलामा चर्चा–परिचर्चा हुने गरेको नौलो प्रसंगचाहिँ पक्कै होइन।

नेपालकै सन्दर्भमा पनि संयुक्त राष्ट्रसंघका निकायहरूबाट यदाकदा हुने अनुचित हस्तक्षेपबारे नेपालको परराष्ट्र मन्त्रालयले समेत ध्यानाकर्षण गराउँदै मर्यादाभित्र रहेर कार्य गर्न अनुरोध गर्दै आइरहेको छ। अन्य देशमा पनि अपवादका रूपमा यस्ता केही घटना नभएका र नदेखिएका होइनन्, तथापि अझै पनि जनजनमा संयुक्त राष्ट्रसंघप्रतिको आस्थामा खासै विचलित नै भैसकेको अवस्थाचाहिँ देखिँदैन।

यही मामिलामा पनि संयुक्त राष्ट्रसंघले एकातिर इराकको बग्दादमा भएको घटनाको सन्दर्भमा खाडी क्षेत्रमा अर्को युद्धको अवस्था नल्याओस् भन्दै सबै पक्षहरूलाई जिम्मेवार बन्न आग्रह गरेको समाचार सार्वजनिक भएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अमेरिकाले इराकको बग्दादस्थित विमानस्थलमा गरेको आक्रमणले खाडी क्षेत्रमा थप हिंसा भड्किन सक्ने भन्दै विश्वले अर्को खाडी युद्ध सहन नसक्ने कुराको इंगित गरेको समाचार पनि बाहिर आएको छ।

सँगसँगै सम्बन्धित पक्षहरूले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आ–आफ्नो भनाइ सत्य रहेको बारे जानकारी पनि गराएका छन्। पक्कै पनि संयुक्त राष्ट्रंघको स्वतन्त्र भूमिका यो मामिला सल्ट्याउनमा सहायकसिद्ध हुन जान्छ भन्ने आशा गरेका छन्। तथापि त्यो आशाले मूर्तरूप ग्रहण गर्नको निमित्त दुवै पक्षले आ–आफ्नो तर्फबाट देखाएको अहंमता प्रदर्शनलाई लगाम लगाउन पनि त्यत्तिकै जरुरी देखिएको सम्बन्धित विशेषज्ञहरूको धारणा रहेको छ।

प्रत्येक मानवको अन्तरात्माबाट अब युद्धलाई कुनै पनि बहानामा स्वीकार्न सक्दै सक्दैन भन्ने चिच्याहट प्रस्फुटित भैरहेको छ तापनि साधन–स्रोतले सम्पन्न केही लहडी सत्ताधारीहरूले आफ्नो लहडी रुचि पूरा गर्ने प्रयासमा यदाकदा क्षेत्रीय युद्ध अझ भनौं विश्वयुद्धको छनक दिने गरी आफ्नो अनुकूलताको लागि द्वन्द्व निम्त्याउने प्रयास गर्दछन् र गरिआएका पनि छन्।

यस अर्थमा अपवादमै केही नमिल्दो कार्य भए गरेको भए तापनि प्रत्येक मानवको जीवनलगायत मानवअधिकारको रक्षाको लागि मानवअधिकारको विश्वव्यापी घोषणा पहिले पनि उत्तिकै सान्दर्भिक थिए, अहिले पनि उत्तिकै सान्दर्भिक छन् र भविष्यमा झनै सान्दर्भिक रहनेछन् भन्ने कुरामा कतै कसैको पनि विमति छैन।

विश्व रंगमञ्चमा भए/हुने गरेका छलफलका सारले यदि प्रत्येक देश मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा समाहित हुने हो र घोषणापत्रको प्रस्तावनालाई अक्षरशः पालना गर्दै आफ्नो दैनिकीमा कार्यान्वयन गर्दै जाने हो भने निःसन्देह पटक–पटक मानवमा पलाउँदै गर्ने अकल्पनीय युद्धको सन्त्रासले मुक्ति पाउने थियो।

अन्ततः विश्वमा शान्ति आवश्यक मात्र होइन वर्तमान अवस्थालाई नियाल्दा अपरिहार्यता नै देखिइसकेको छ। यसको लागि महत्वपूर्ण र बढी प्रतिशतको भूमिका भनेको शक्ति राष्ट्रहरूको नै देखिन्छ भन्ने कुरामा मतैक्य छैन। यस कार्यमा महत्वपूर्ण योगदान भनेको मानवको बुद्धि र विवेक नै हो। मानवले अलिकति मात्र बुद्धि–विवेकलाई तिलाञ्जलि दिने हो भने संसार ध्वस्त हुन कतै समय लाग्दैन।

यी कुरालाई मनन गर्दै वर्तमान अवस्थामा हतियारको होडबाजी, शक्ति राष्ट्रहरूको अदूरदर्शीपना र अहंतालाई निस्तेज पार्नको निमित्त विश्वजनमत एक हुनु आवश्यक छ। संयुक्त राष्ट्रसंघसमेतलाई सहयोग गर्न शान्तिका पक्षधरहरूको सामूहिक नयाँ अन्तर्राष्ट्रिय संगठनको आवश्यकता खड्केको विश्वलाई महसुस हुँदै छ।

जति सक्दो चाँडो अशान्तिका विरुद्ध हस्तक्षेपसमेत गर्न सक्ने अधिकार सम्पन्न संगठनलाई अस्तित्वमा ल्याएर सम्बोधन गर्न ढिला भैसकेको जनजनलाई अनुभूति भएको छ।

यस अर्थमा सबैले हेक्का राख्नुपर्ने कुरा के हो भने, जति–जति यो मामिलालाई सम्बोधन गर्न ढिला हुँदे जान्छ त्यति–त्यति संसारमा तेस्रो विश्वयुद्धको सम्भावनाले प्रश्रय पाउँदै जान्छ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ।)

 

प्रतिक्रिया दिनुहोस्