सेल्फी किङलाई सेल्फी कन्टेस्ट



अभिनेता विपीन कार्कीको नयाँ फिल्म सेल्फी किङ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ। विपीनले शीर्ष भूमिकामा अभिनय गरेको फिल्ममा उनी टेलिभिजनमा कार्यरत एक लोकप्रिय हास्यकलाकारको भूमिकामा छन्।

आगामी माघ २४ गते अल नेपाल रिलिजमा आउने फिल्मले हाम्रो सेल्फी किङ कन्टेस्ट अगाडि सारेको छ। ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्वीर खिचेर सहभागीहरूले हाम्रो कम्युनिटीमार्फत आफ्नो सेल्फी पोस्ट गर्न सक्ने व्यवस्था मिलाइएको यसको निर्माण समूहले जानकारी गराएको छ।

पोस्ट गरिएका सेल्फीमध्ये विजेता छनोट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइने जनाइएको छ। तस्वीरमा आएका लाइक र कमेन्टसँगै सेल्फी किङ निर्माण टिमले विजेता छनोट गर्नेछ।

प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा तीन महिनाको अभिनय तालिमको छात्रवृत्ति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने जनाइएको छ।

यस किसिमको प्रतियोगिता र त्यसबाट कलाकार बन्न चाहनेलाई थोरै भए पनि लाभ पुग्ने विश्वास विपीनले व्यक्त गरेका छन्। फिल्ममा उनकी श्रीमतीको भूमिकामा अभिनेत्री लक्ष्मी वर्देवाले अभिनय गरेकी छिन् भने भुवन चन्द थापा विपीनकी आमाको भूमिकामा छिन्।

फिल्मको निर्देशन विशाल सापकोटाले गरेका छन् भने कथा पनि उनकै रहेको छ। दिनेश राउत र सुवास थापाद्वारा निर्मित फिल्ममा विपीन, लक्ष्मी र भुवन चन्दसँगै अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहनेछ भने अभिनेत्री केकी अधिकारीले जाली रुमाल बोलको गीतमा अभिनय गरेकी छिन्।

फिल्ममा बी पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, सुवास भुसालको संगीत, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको शृंगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, सुसन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्