दिल्लीमा रायसिना डाइलग : नेपाल छैन सहभागी



नेपाल समाचारपत्र, काठमाडौं।

हरेक वर्ष भारतमा हुँदै आएको रायसिना संवाद (अन्तर्राष्ट्रिय सम्मेलन) मा यसपटक नेपाल सहभागी नहुने भएको छ। सम्मेलनमा यसपटक नेपालको तर्फबाट प्रतिनिधित्व नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भू–राजनीति तथा भू–अर्थशास्त्रका विविध पक्षमा केन्द्रित रहने सम्मेलनमा विश्वका करिव एक सय मुलुकका प्रतिनिधि सहभागी रहने गर्छन्।

गत वर्ष नेपालको प्रतिनिधित्व गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षीयता, साझा सहकार्य र नियममा आधारित विश्व व्यवस्थाको पक्षमा सहकार्यको खाँचो औंल्याउनुभएको थियो।

सम्मेलन मंगलबारबाट भारतको नयाँ दिल्लीमा शुरू भएको छ। भारतीय विदेश मन्त्रालयको सहकार्यमा ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ ले आयोजना गर्दै आएको यस्तो जमघट यसपटकको पाँचौं संस्करण हो।

यसपटक मन्त्री ज्ञवाली रायसिना संवादमा सहभागी नहुने परराष्ट्रका दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालले बताउनुभयो।
मन्त्री ज्ञवालीका प्रेस संयोजक सुदन ज्ञवालीले पनि उहाँ सहभागी नहुने पुष्टि गर्दै भन्नुभयो–‘मन्त्रीज्यू जाने कार्यक्रम छैन, मन्त्रालयबाट अरू कोही सहभागी हुनुहोला।’

सन् २०१६ मा शुरू भएको संवाद बहुपक्षीय जमघट हो। सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्री र अन्यविशिष्ठ अधिकारीहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने अवसरका रूपमा समेत लिइन्छ। यसपटकको जमघटमा पनि करिव एकसय मुलुकका सात सय प्रतिनिधि सहभागी भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ।

रुस, इरान, अस्टे«लिया, माल्दिभ्स्, दक्षिण अफ्रिका, इस्टोनिया, चेक रिपब्लिक, डेनमार्क, हङगेरी, लाटाभिया, उज्वेकिस्तान र यूरोपेली यूनियन (इयू) जस्ता मुलुकका विदेशमन्त्री सहभागी छन्।

त्यसैगरी चीनको बेइजिङमा मुख्यालय रहेको साङ्घाई कोअपरेसन डाइलग (एससीओ)का महासचिव, तत्कालीन बेलायती उपनिवेश मुलुक आबद्ध कमन वेल्थका महासचिव विभिन्न मुलुकका पूर्व राष्ट्राध्यक्ष र पूर्व प्रधानमन्त्री सो जमघटमा सहभागी भएका छन्।

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कार्जाईसहित न्यूजिल्याण्ड, क्यानडा, स्वीडेन, डेनमार्क, भुटान, दक्षिण कोरियालगायतका मुलुकका पूर्वप्रधानमन्त्री सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्