४ देशमा द भ्वाइस अफ नेपालको कन्सर्ट



नेपाल भ्रमण वर्ष २०२० लाई विश्वव्यापीरूपमा प्रचार गर्ने भन्दै आगामी मार्च ६ तारिखदेखि विश्वका ४ देशमा सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ।

बेलायत, युरोप, क्यानडा र इजरायलमा हुने म्युजिकल टुरमा गायन प्रतिभाहरूको खोजी गर्ने रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन–२ का अन्तिम प्रतिस्पर्धीले आफ्ना सांगीतिक प्रस्तुति पस्कनेछन्।

इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्लु वर्डले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी द भ्वाइस अफ नेपाल दोस्रो सिजनका अन्तिम प्रतिस्पर्धीले गर्न लागेको प्रस्तुतिका बारेमा जानकारी गरायो।

कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन–२ का विजेता शिशिर फागु (राम लिम्बु), सनिष श्रेष्ठ, अनु राना मगर, यन्की यल्मो सहभागी हुने जानकारी गराइएको छ। कार्यक्रमको उद्घोेषण सुशील नेपालले गर्नेछन्।

मार्च ६ देखि मार्च २३ तारिखसम्म बेलायतमा अन्तिम चार प्रतिस्पर्धीले आफ्ना प्रस्तुति प्रस्तुत गर्नेछन् भने मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरायलमा सांगीतिक कार्यक्रम हुने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले जानकारी गराए।

उनका अनुसार बेलायतका नौ शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ। त्यस्तै, क्यानडामा चार र इजरायलमा एउटा सांगीतिक कार्यक्रम हुनेछ। चार देशमा हुने कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई प्रदान गरिने भएको छ।

पत्रकार सम्मेलनमा बोल्दै द भ्वाइस अफ नेपाल सिजन–२ का विजेता राम लिम्बुले पहिलोपटक सांगीतिक कार्यक्रमका लागि विदेश जान लागेकोमा खुसी व्यक्त गरे। उनले दर्शकको मागअनुसार कार्यक्रममा गीत गाउने बताए।

प्रतिक्रिया दिनुहोस्