निर्मला हत्यामा कोपिला



हेटौंडा, (नेस)।

सुदूरपश्चिम कञ्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको फिल्म कोपिलाको ट्रेलर सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटलले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत् फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सामाजिक कथावस्तु बोकेको फिल्मको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाइएको छ।

कोपिलाको बलात्कार गरी हत्या गर्नेलाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेका कारण उत्पन्न परिस्थिति ट्रेलरमा देखाइएको छ। ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीले विभिन्न बहानामा कोपिलाको शवमाथि गरेको राजनीतिलाई चित्रण गरिएको छ।

कोपिलामा पन्तका हत्यारा पत्ता नलाग्दा देखिएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेश छ। चलचित्रका प्रमुख पात्र निर्मला अर्थात् कोपिलाको भूमिकामा सञ्जीवनी खरेललाई फिचर गरिएको छ।

शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सरिता गिरी, गणेश गिरी र खरेलले मुख्य भूमिका निर्वाह गरेका छन्। गणेश गिरीको प्रस्तुति रहेको कोपिलालाई हेटौंडेली सञ्चारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने फिल्मकोे कार्यकारी निर्मातामा सुवास काफ्ले छन्।

फिल्ममा समीर मिया, रामेश्वर कार्की सहनिर्माता छन्। फिल्ममा प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, राखी क्षेत्रीलगायतको पनि अभिनय रहेको छ। फिल्ममा रामेश्वर कार्कीको छायांकन, समीर मियाको सम्पादन र दीपक शर्माको संगीत छ।

प्रतिक्रिया दिनुहोस्