दर्शनको गोलमा एनआरटीको जित



नेपाल समाचारपत्र, काठमाडौं।

जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा न्युरोड टिम (एनआरटी) ले महत्वपूर्ण जित निकालेको छ। दशरथ रंगशालामा भएको छैटौ चरणको खेलमा एनआरटीले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराएको हो।

योसँगै एनआरटीले ३ अंक जोड्दै अंक तालिकामा तीन स्थानको प्रगति पनि गरेको छ। यो टोलीको ६ खेलमा तेस्रो जित थियो। अंक तालिकामा टोली ८ अंकसहित छैटौ स्थानमा उक्लेको छ। साथै पराजित टोली पुलिसलाई सातौं स्थानमा रहन बाध्यसमेत तुल्याएको थियो। पुलिसको यो दोस्रो हार थियो।

एनआरटीको यस सिजनमा अहिलेसम्म १०अंक भएको छ। गत सिजनको रेलिगेशनबिना लिगमा एनआरटी पुछारमा रहेकाले यो सिजनमा दुई अंक काटिएको छ। गत सिजनको लिगमा पुछारमा रहेको टोलीको २ अंक र १३औं स्थानमा रहने टोलीको १ अंक काटिने प्रावधान राखिएको थियो। सोबमोजिम यसपटक एनआरटी र मछिन्द्रको क्रमशः २ र १ अंक कटाइएको छ।

एनआरटीको जितमा दर्शन गुरुङले ७६औं मिनेटमा गोल गरेका थिए। अशोक थापाको स्थानमा ६३औं मिनेटमा मैदानमा आएका राजेश परियारको पासमा दर्शनले गोल गरेका थिए। उनले डिबक्सको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

यसैगरी अर्को खेलमा च्यासल युवा क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका थिए। दुबै टोलीले केही गोल गर्ने मौका गुमाएपछि खेलको नतिजा बराबरीमा टुंगिएको थियो।

योसँगै जारी लिगमा गोल नभएको खेलको संख्या ७ पुगेको छ।निराशाजनक नतिजापछि च्यासलले ६ खेलमा ६ अंक जोड्दा एपीएफले त्यति नै खेलबाट ५ अंक जोडेको छ। च्यासल १०औं स्थानमा रहेको छ। एपीएफ ११औं स्थानमा उक्लेको छ।

प्रतिक्रिया दिनुहोस्