मालपोत कार्यालय ९ महिनादेखि प्रमुखविहीन



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङ मालपोत कार्यालय ९ महिनादेखि प्रमुख विहीन छ। कार्यालय प्रमुख हरिहर दाहालले अवकाश लिएपछि कार्यालय प्रमुख विहीन बनेको हो। वैशाख ७ गते कार्यालय प्रमुख दाहालले अवकाश लिएसँगै कार्यालय निमित्त कार्यालय प्रमुख गंगाबहादुर घलेको भरमा छ।

कार्यालय प्रमुख नभएपछि जिल्ला मालपोत कार्यालय निमित्त प्रमुखको भरमा चलिरहेको छ भने प्रयाप्त कर्मचारी पनि छैनन्। निमित्त कार्यालय प्रमुख घलेले कार्यालयमा ५ कार्यालय सहयोगीसहित २० जना कर्मचारी हुनुपर्नेमा ८ जना कर्मचारी र एक जना कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ।

शुक्रबार कार्यालय पुगेका सुन्दरबजार–२ का भिमदत्त सेढाईंले मालपोत कार्यालयमा ढिलाइ हुने गरेको गुनासो गर्नुभयो। दूधपोखरी गाउँपालिका–२ विचौरका विष्णुप्रसाद दवाडी पनि जग्गा पासको काम लिएर बेसीशहर आएको दुई दिन भयो अझंै काम बनेको छैन।

७ घण्टाको यात्रापछि सदरमुकाम आइपुगिन्छ काम सकिएर घर फर्किने भने पनि आफू काम नै नगरी फर्किनु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ। सेवाग्राहीले नामसारी, पुर्जामा फोटो टाँस, पुर्जा प्रतिलिपि जस्ता सेवा लिन ढिलाइ भएको गुनासो गरेका छन्।

निमित्त कार्यालय प्रमुख घलेले कर्मचारी ल्याउनका लागि सम्बन्धित निकायमा पहल गरिरहेको बताउनुभयो। घलेले कोही बिदामा बसेको, कोही आउने क्रम जारी रहेकाले कर्मचारी पर्याप्त नहुँदा काममा समस्या भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्