कीर्तिपुरमा क्यानभास एट थिएटर



कीर्तिपुर रंगमञ्चमा क्यानभास एट थिएटर सामूहिक चित्र प्रदर्शनी शुरू भएको छ। राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारको सिर्जना प्रदर्शनीमा राखिएको हो।

नाटक जामुनको रूख ः सेमलेस भल्गारिटीको मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङ गरी दुई विधाका ३० चित्रको प्रदर्शनी शुरू भएको हो। प्रदर्शनीमा रहेका चित्रले समकालीन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरेका छन्।

युवा कलाकारहरूले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरूप स्वरूप उतारेका छन्। त्यस्तै मानवीयता, लैंगिकता, भूमण्डलीकरण प्रकृति, आशा र संघर्षलाई रंगका माध्यमबाट अभिव्यक्त भएका चित्र सिर्जना प्रदर्शनीमा रहेका छन्।

प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दीक्षित सक्रिय १३ कलाकारको सिर्जना राखिएको छ।

कलाकारहरू उद्धवराज रिमाल, टीकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भीषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणि श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ, सोनी राईको सामूहिक प्रदर्शनीलाई क्यानभास एट थिएटर नाम दिइएको हो। प्रदर्शनी आगामी माघ ४ गतेसम्म जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस्