एपीएफले जित्यो न्यू डायमन्ड कप



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल एपीएफ क्लबले होंगान्जी न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि आइतबार जितेको छ।
विभागीय टोलीले आयोजकको न्यू डायमन्ड क्लबलाई ३–० को सीधा सेटमा हराउँदै उपाधि जितेको हो।

गत संस्करणमा पनि जितेको एपीएफले पहिलो र दोस्रो सेट हात पार्न कडा संघर्ष गर्नुपर्यो। गोगंबु बसपार्क नजिक ढोरपाटन स्पोर्टस क्लबको मैदानमा सम्पन्न फाइनल खेलमा एपीएफ २५–२०, २५–२३ र २५–१८ को सेटमा विजयी भएको थियो। योसँगैं विजेता टोलीले ४ लाख १ सय १ रूपियाँ तथा न्यू डायमन्डले ३ लाख १ सय १ रूपियाँ प्राप्त गरेका छन्।

त्यस्तै दुई विभागीय टोलीबीच भएको तेस्रो स्थानको खेलमा नेपाल पुलिस क्लबले बाजी मार्यो। टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० कै सीधा सेटमा पन्छाएको थियो। सो खेल पुलिसले २५–२२, २५–९ र २५–१२ ले जितेको थियो। योसँगैं पुलिसले १ लाख ५१ हजार १ सय १० र आर्मीले ५१ हजार रूपियाँ प्राप्त गरेका छन्।

प्रतियोगिताअन्तर्गत् सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी घोषित भइन्। साथै उनी उत्कृष्ट सर्भरसमेत घोषित भएकी थिइन्।
अन्य विधातर्फ स्पाइकरमा न्यू डायमन्डकी प्रतिभा माली, ब्लकरमा एपीएफकी हीरा केसी, सेटरमा न्यू डायमन्डकी अरूणा शाही, डिफेन्समा न्यू डायमन्डकी सलिना श्रेष्ठ, क्विकरमा पुलिसकी कोपिला राना र प्रशिक्षकमा एपीएफका महेशबहादुर चौधरी उत्कृष्ट घोषित भएका थिए।

प्रतिक्रिया दिनुहोस्