दृष्टिविहीन बालबालिकालाई कपडा वितरण



नेपाल समाचारपत्र, मुगु।

छायाँनाथ रारा नगरपालिकाले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिरका बालबालिकालाई कपडा वितरण गरेको छ। कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना दृष्टिविहीन बालबालिकालाई बुधबार छायाँनेपालको आर्थिक सहयोग र ग्रामीण युवा समाज विकास केन्द्र मुगुको सहजीकरणमा छायाँनाथ रारा नगरपालिकाले न्यानो कपडा वितरण गरेको हो।

मुगुमा यो वर्ष मंसिर महिनाको २८ गतेबाटै हिउँपर्न शुरू गरेपछि दृष्टिविहीन बालबालिकाहरू चिसोमा कठ्यांग्रिदै विद्यालयमा आउने गरेका थिए। त्यो देखेपछि न्यानो कपडाको लागि सहयोग गरिदिन छायाँनेपाल नामक राष्ट्रिय गैर सरकारी संस्थालाई आग्रह गरिएको थियो। छायाँनेपालले बालबालिकालाई न्यानो कपडा उपलब्ध भएको हिरिसडेक मुगुका अध्यक्ष मीनबहादुर रावलले बताउनुभयो।

न्यानो कपडाअन्तर्गत प्रत्येक बालबालिकालाई जकेट, टोपी, थर्मकोट, जुत्ता, मोजा, तन्ना र सिरकको खोल दिइएको छ। बालबालिकालाई चिसोमा सरसफाइ गर्न सहज होस भनेर छायाँनेपालको सहयोगमा टाबेल, सेनेटरी प्याड, साबुन मन्जन, ब्रससमेत वितरण गरिएको बताइएको छ। चिसोबाट बच्नका लागि न्यानो कपडा पाएपछि दृष्टिविहीन बालबालिका खुसी भएका छन्।

प्रतिक्रिया दिनुहोस्