शेयर उर्लिंदा दुई दर्जन कम्पनीको कारोबारमा सर्किट ब्रेक



नेपाल समाचारपत्र, काठमाडौं।

आइतबार शेयर बजारका लगानीकर्ताका निम्ति सुखद रहेको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे तीन प्रतिशतले बढेसँगै लगानीकर्ताका निम्ति सुखद दिन रहेको हो। पछिल्ला केही दिनदेखि शेयर बजारमा देखिएको वृद्धिको रफ्तारलाई पछ्याउँदै आइतबार नेप्से परिसूचक ४२ दशमलव ६१ अंक अर्थात ३ दशमलव ५१ प्रतिशतले वृद्धि भएको हो।

बैंकिङ क्षेत्रमा तरलताको समस्या समाधान हुनुका साथै ब्याज दर घटेको प्रभाव शेयर बजारमा देखिँदा आइतबार शेयरमा देखिएको छ। अघिल्लो महिनासम्म निरन्तरको गिरावटका कारण निराश रहेका लगानीकर्ता अंग्रेजी नयाँ वर्षको शुरूआतसँगै उत्साहित भएका छन्।

नेप्से परिसूचक १२५५ दशमलव ६१ बिन्दुमा पुग्दा १७९ वटा कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर १ अर्ब ३३ करोड ५७ लाख रुपियाँभन्दा बढीमा किनबेच भएको छ। यस दिन कारोबारमा आएका सबै समूहको परिसूचकमा भारी वृद्धि देखिएको छ।

ब्याजदर घट्नुका साथै तरलताको समस्या घट्नुकन साथै राजनीतिक परिवर्तनलगायतका कारणले शेयर बजार सुधारको संकेत देखिएको विज्ञहरूको भनाइ छ। बजारमा ठूला लगानीकर्ता सक्रिय हुँदा त्यसको सकारात्मक प्रभाव देखिएको सरोकारवालाको भनाइ छ। त्यसबाहेक शेयर धितो कर्जाको सरलताका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको हो।

परिसूचकको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। आइतबार नेप्से परिसूचक १२५५ दशमलव ६१ बिन्दुमा पुग्दा १७९ वटा कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर १ अर्ब ३३ करोड ५७ लाख रुपियाँभन्दा बढीमा किनबेच भएको छ। यस दिन कारोबारमा आएका सबै समूहको परिसूचकमा भारी वृद्धि देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ४०९ दशमलव २७ अंकले बढेको छ। निर्जीवन बीमा समूहको सूचक ३८४ अंकले वृद्धि भएको छ।

त्यस्तै बैंकिङ २७ दशमलव ३, व्यापार समूह ११ दशमलव ५९, होटल समूह ७५ दशमलव ८४, विकास बैंक ४३ दशमलव ३३, जलविद्युत् समूह ३१ द्यशमलव शून्य ७, वित्त समूह १३ दशमलव ९२, उत्पादन समूह ३४ दशमलव ५४, अन्य १७ दशमलव ९२, लघुवित्त १२२ दशमलव शून्य २ र सामूहिक लगानी कोष शून्य दशमलव २४ ले वृद्धि भएको छ।

आइतबारमा दुई दर्जनभन्दा बढी कम्पनीको कारोबार सर्किट ब्रेक लागेको छ। नेप्सेमा एकै दिन १० प्रतिशतभन्दा बढीले शेयर मूल्य घटबढ भएमा त्यस दिनका लागि सो कम्पनीको कारोबारमा सर्किट ब्रेक लाग्ने गर्छ। यस दिन सूर्या लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, स्वाबलम्बन लघुवित्त, घोडीघोडा लघुवित्त, एसियन लाइफ इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, सगरमाथा इन्स्योरेन्स, नयाँ नेपाल लघुवित्त, समता लघुवित्त कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट लागेको छ।

त्यस्तै एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, महिला सहयात्रा लघुवित्त,नेसनल लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, आरएसडीसी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त, समुदायिक लघुवित्त, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स पनि सर्किट लाग्ने कम्पनीमा रहेका छन्।

कारोबार रकमका आधारमा यस नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थान रहेको छ। यस कम्पनीको ५ करोड ८८ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको थियो। त्यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ४ करोड ६३ लाख, एनआईसी एसिया बैंकको ४करोड सात लाख, शिवम् सिमेन्टको ३ करोड ९८ लाख, डिप्रोक्स लघुवित्तको ३ करोड ७६ लाख, फस्ट माइक्रोफाइनान्सको ३ करोड ७४ लाख, नेपाल बैंकको ३ करोड ३ लाख रुपियाँको शेयर कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्