अस्ट्रेलियामा डढेलो अझै नियन्त्रणबाहिर , प्रधानमन्त्रीद्वारा तरिका प्रभावकारी नभएको स्वीकार



सिड्नी, (एजेन्सी)।

दक्षिण पूर्वी अस्ट्रेलियाको आकाश हालैका दिनमा रातो देखिन थालेको छ। तापक्रमले सबै कीर्तिमान तोडिसेकेको छ। सुख्खा जंगल र चर्को हावाका कारण आगो झन् भयावह बनिरहेको छ। यो महिना सिड्नीको तापक्रम ४९ डिग्री सेल्सियससम्म पुगेको छ। सन् २०१७ मा न्यु साउथ बेल्स र क्विन्सल्यान्डमा लगातार कम वर्षा भइसकेको छ।

वर्षा नहुनुले कृषि उत्पादनलाई मात्र होइन डढेलो फैलिनमा पनि मद्दत पुगेको छ।गतवर्ष सेप्टेम्बरदेखि शुरू भएको भीषण डढेलोका कारण अहिलेसम्म कम्तीमा २८ जनाले ज्यान गुमाइसकेका छन। युरोपेली मुलुक डेनमार्कको क्षेत्रफल बराबरको अस्ट्रेलियाको हिस्सा आगोको चपेटामा छ। कम्तीमा २ हजार घर ध्वस्त भइसकेका छन्।

स्थिति अझ खराब हुन सक्ने आशंका गरिएको छ। न्यु साउथ बेल्समा करिब १ करोड एकड इलाका जलेर खरानी भएको छ। गर्मी मौसममा अस्ट्रेलियामा सामान्यतया गर्मी र सुख्खा रहने गर्छ। तर जलवायु परिवर्तनका कारण सुख्खा र गर्मीको दायरा फराकिलो बन्दै गइरहेको छ। यस क्रममा जंगलमा सुख्खा झाडीमा वृद्धि भइरहेको छ।

अस्ट्रेलियामा गर्मीको मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म हुने गर्छ। न्यु साउथ बेल्समा करिब ३० प्रतिशत जंगल जलिसकेको टाइम पत्रिकाले जनाएको छ। यो हप्ता ५० प्रतिशतसम्म पुग्ने आसंका गरिएको छ। अस्ट्रेलियाकाको मौसम विभागका अनुसार सन् २०१९ सबैभन्दा गर्मी रह्यो।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डढेलो नियन्त्रणको तरिकालाई लिएर खेद प्रकद गरेका छन्। जलवायु परिवर्तनको मुद्दामा उनको सरकारको नीतिलाई लिएर मोरिसनले आलोचनाको सामना गरिरहेका छन। प्रधानमन्त्री मोरिसनले धरातलमा धेरै कुरा अझ प्रभावकारी ढंगले सम्हाल्न सक्ने स्वीकारेका छन्।

साढे ४ अर्ब डलर क्षतिको अनुमान

यसैबीच मूल्यांकनसम्बन्धी काम गरिरहेको एजेन्सी मुडिजले डढेलोका कारण अस्ट्रेलियालाई ४ अर्ब ४० करोड अमेरिकी डलर नोक्सान हुन सक्ने अनुमान लगाएको छ। यो क्षतिले सन् २००९ को आगलागीको कीर्तिमान तोडिन सक्छ।

त्यसैगरी आगोले अस्ट्रेलियाको अर्थतन्त्रलाई क्षति पुर्याउन सक्ने एजेन्सीका अर्थशास्त्री क्याटरिन एलले बताएकी छन्। वायु प्रदुषण र टुरिज्म फार्मिंग क्षेत्रलाई सिधै नोक्सानको असरले अस्ट्रेलियाको अर्थतन्त्रमा अझ बढी असर पर्याउनेछ।

सन् २००९ मा ‘ब्ल्याक स्याटरडे‘ उपनाम पाएको डढेलोमा ४ लाख ५० हजार हेक्टर जमिन जलेको थियो भने कुल १ सय ७३ को मृत्यु भएको थियो। यो आगलागीमा एक शहर पुरै ध्वस्त भएको थियो।

अहिलेकोमा दुई महिनामा ८४ लाख हेक्टर जमिन जलिसकेको छ भने दुई दर्जन भन्दा धेरैले ज्यान गुमाइसकेका छन। न्यु साउथ बेल्स राज्यस्थित कोबार्गो र मोगो शहर विनास भएको छ। त्यसैगरी भिक्टोरिया राज्यको एक नगर मालाकुटालाई पनि आगोले ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म आगलागीमा ४८ करोड जंगली जनावरको मृत्यु भइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्