स्वर्ग जाने बाटो प्यूठानमा छ स्वर्गद्वारी



सलिम अन्सारी, प्यूठान

स्वर्गद्वारी गएपछि मनै फुरुंग हुन्छ। मनले शान्तिको अनुभव गर्छ। शान्त र सुन्दर वातावरण, शीतल मौसम, आँखैमा ठोक्किने हिमशृंखला, गुफा, मन्दिरले मन तानिरहन्छ। स्वर्गद्वारी जाने भनेपछि जो–कोही हुरुक्क हुन्छन्। स्वदेशी हुन् वा विदेशी, स्वर्गद्वारीले दिनहुँ नयाँ पाहुना भेट्टाइरहन्छ।

एकपटक पुगेपछि फेरि जाउँ–जाउँ लाग्ने, पुगेर उतै बसिरहुँ जस्तो लाग्ने स्वर्गद्वारी पुग्नेहरू स्वर्गीय आनन्द लिन्छन्। यहाँ पुगेर फर्कनेहरू भन्छन्– ‘स्वर्गद्वारी स्वर्गको द्वार जस्तै छ।’ स्वर्गद्वारी मन्दिर पहाडको टाकुरामा वरिपरि जंगलको थुम्कोमा मुख्य मन्दिर छ। यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भनिन्छ।

नाम सुन्नेहरूलाई लाग्छ– एकपटक पुग्नैपर्छ। स्वर्गद्वारीलाई पहिल्यै स्वर्गको लेक भनेर पनि चिन्ने गरिन्थ्यो। स्वर्गद्वारी समुन्द्री सतहदेखि २ हजार ३ सय मिटर उचाइमा छ। बिहानीपख धौलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायत हिमशृंखलाहरू यहाँबाट स्पष्ट दृश्यावलोकन गर्न सकिन्छ।

नेपालका सात धाममध्ये एक हो स्वर्गद्वारी। जहाँ सयौं वर्षदेखि वैदिक संस्कार बाँचिरहेको छ।पशुपतिनाथबाट शुरू हुने धार्मिक यात्राको अन्तिम बिन्दुका रूपमा स्वर्गद्वारीलाई लिइन्छ। हिन्दू धर्मावलम्बीमा विश्वास छ, सात धामको दर्शनपछि स्वर्ग पुगिन्छ। धर्मलाई नै विश्वास गर्ने हो भने प्यूठानको पवित्र तीर्थस्थल स्वर्गद्वारी नपुगेसम्म हिन्दूको तीर्थयात्रा नै पूरा हुँदैन।

त्यसैले हरेक वर्ष लाखांै तीर्थयात्री स्वर्गद्वारी पुग्छन्। जसले लाखांैलाई स्वर्ग तारेको छ। स्वर्गद्वारीले प्यूठानको परिचय दिएको छ। स्वर्गद्वारी नगरपालिका–१ स्थित खालमा स्वर्गद्वारी आश्रम छ। हिन्दू धर्मावलम्बीले गर्ने सबै खालका पूजा स्वर्गद्वारीमा हुने भएकाले पनि पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीको विशेष महत्व छ।

नेपाल जस्तै भारतमा पनि यसको उत्तिकै महत्व छ। भारतबाट पनि वर्षेनी ठूलो संख्यामा यहाँ धार्मिक पर्यटक भित्रन्छन्। मन्दिरमा पुगेर पूजाअर्चना गरेपछि स्वर्ग पुगेजस्तै अनुभूति हुने भएकाले नै आकर्षण दिनानुदिन बढ्दै गएको मन्दिर दर्शन गर्न आउनेहरू बताउँछन्।

‘स्वर्गद्वारीमा पर्यटकको संख्या बढ्दो छ’, आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले भन्नुभयो– भारतीय पर्यटकले चढाएको भेटी यहाँको प्रमुख आम्दानीको स्रोत हो।’

आश्रम व्यवस्थापन समितिका अनुसार ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली पर्यटक स्वर्गद्वारी दर्शनका लागि आउँछन्। आन्तरिक र बाह्य गरी वर्षेनी करिब ३ लाख पर्यटक स्वर्गद्वारी घुमफिर गरी फर्कने गरेको आश्रम व्यवस्थापन समितिले बताएको छ।

के–के छ स्वर्गद्वारीमा ?

स्वर्गद्वारी प्रवेश मूलद्वारमा स्वर्गद्वारी आश्रम अनि त्यसै द्वारको दायाँतर्फको भित्तामा श्री १०८ महाप्रभुले रचना गरेको श्लोक आश्रममा पालना गर्नुपर्ने सर्त वा नियम उल्लेख गरिएको छ। यहाँ प्रभु गुफाअर्थात् महाप्रभुको समाधि भव्यरूपले बनाइएको छ।

यसैमाथि शिवलिंग स्थापना गरिएको छ। उत्तर मूलढोकामा भएको सो मन्दिरअगाडि महाराज श्री १०८ नर्मदानन्दको सक्रियतामा लघुरुद्री, वेदपाठ गर्न धमशालाको निर्माण गरिएको छ। यस क्षेत्रमा यज्ञशालाको माझमा ठूलो हवनकुण्ड रहेको छ।

त्यहाँको आगो महाप्रभुले आफ्नो मन्त्रको प्रभावमा प्रज्ज्वलित गर्नुभएको भन्ने विश्वास रहेको छ। विशेष गरेर यहाँ सामूहिकरूपमा पुजारीहरूले एकसाथ वेदोच्चारणका साथै पूजाआरधाना र यज्ञ गर्न गर्छन्।वेद मन्त्रद्वारा प्रकट गरिएको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीकोे प्रमुख आकर्षण हो।

१९५२ सालदेखि उक्त यज्ञक ुण्डअहिलेसम्म पनि निरन्तर बलिरहेको छ। स्वर्गद्वारी महाप्रभुले पूजा सामग्री फेला पारी आश्रम निर्माण गरेको इतिहास छ। उक्त पूजा सामग्री पाँच पाण्डवले यज्ञ गर्दाको हो भन्ने किंवदन्ती छ। विशेषतः वैशाख पूर्णिमा, गाईतिहार औंसी, विजयादशमी, माघे संक्रान्तिलगायत पर्वमा यहाँ ठूलो मेला लाग्छ।

अन्य समयमा पनि दैनिक पूजापाठ र मेला भइरहेका हुन्छन्।ऐतिहासिक एवं मनोरम तलाउ, पाँच पाण्डव, स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गरेको गुफा, १९५२ सालदेखि अनवरत सञ्चालित वेद पाठशाला, गोवद्र्धन पहाड, आश्रममा पालिएका सयौं गाई, विभिन्न आकृतिका मठ–मन्दिर, आश्रम यज्ञशालाको दक्षिण भू–भागमा अवस्थित ठूलो बाँझको वृक्ष नै धर्मावलम्बीका लागि मुख्य आकर्षण हुन्।

वैशाख पूर्णिमाको दिन आश्रममा सञ्चालन हुने अखण्ड महायज्ञमा आवश्यकताअनुसार ब्राह्मणहरू परिवर्तन गर्ने प्रचलन छ। सोही दिन वर्षभरका लागि विभूतिसमेत निकाल्ने गरिन्छ। स्वर्गद्वारीमा पुगेर पूजापाठ र मठ–मन्दिरको अवलोकन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ।

स्वर्गद्वारी पुगेपछि के खाने कहाँ बस्ने ?

स्वर्गद्वारी पुग्ने जो–कोहीका लागि खान–बस्न आश्रमले व्यवस्था गरेको छ। आश्रमले रातको समयमा बास बस्ने तीर्थयात्रीलाई सुरक्षाका लागि आश्रम परिसरमै व्यवस्थित धर्मशालाको व्यवस्था मिलाइएको छ। आश्रम परिसरभित्र धूमपान र मद्यपान निषेध छ।

सोलार जडान गरेपछि चिसो–तातो पानीको समेत व्यवस्था मिलाइएको छ। चिसो मौसममा भक्तजनलाई अग्र्यानिक साग, गाईको दूध, दही र मही नै यहाँको प्रमुख खानकी हो। गत चैतदेखि फ्रि वाइफाईको समेत व्यवस्थापन गरिएको छ।

कात्तिकदेखि माघसम्म स्वर्गद्वारीको खाली जग्गामा धेरै जग्गामा साग रोपिने गरिन्छ। यही साग नै तीर्थयात्रीका लागि तरकारी हो। बृहत् मात्रामा लगाइएको सागबारी पनि यहाँको अर्को आकर्षण बनेको देखिन्छ।

यसरी पुग्न सकिन्छ स्वर्गद्वारी

स्वर्गद्वारी पुग्न दुईवटा सडक प्रयोग गर्न सकिन्छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट प्यूठानको भिंगृबाट र दाङको घोराही हुँदै होलेरी सडकबाट यहाँ पुग्न सकिन्छ। भालुवाङबाट करिब ५५ किलोमिटर पक्की सडक हुँदै स्वर्गद्वारीको आधार शिविर (स्वर्गद्वारी गेट) भिंगृमा पुग्नुपर्छ।

भिंगृबाट साढे १३ किलोमिटर उकालो कच्चीसडक पार गरेपछि धरमपानी बजार पुगिन्छ। धरमपानीबाट झन्डै डेढ किलोमिटर सिँढीबाट उक्लनुपर्छ। पैदल हिँड्न नसक्नेका लागि निश्चित शुल्क तिरेर घोडा सवारीको पनि व्यवस्था छ। भारतीय तीर्थयात्री भिंगृबाट पैदल हिँडेर स्वर्गद्वारी जान मन पराउँछन्।

पैदल हिँड्नेका लागि भिंगृबाट स्वर्गद्वारी आश्रममा पुग्न चार घन्टा समय लाग्छ। पैदल बाटो भएर हिँड्दा यात्रुको सास बढ्नु र फतक्क गोडा गल्नु अस्वाभाविक देखिन्न। तै पनि स्र्वगद्वारी आश्रमको ढोकामा पुग्दा स्वतः स्फूति पैदा हुन गई शान्तमय वातावरणमा वेदध्वनिको गुञ्जनले आत्मामा शान्ति प्रवाहित हुन्छ।

सडक सुविधा नहुँदा धेरैजसो पर्यटक पैदल हिँडेरै स्वर्गद्वारी मन्दिर पुग्ने गर्दथे। घोराही–होलेरीबाट स्वर्गद्वारी पुग्न ५६ किलोमिटर यात्रा गर्नुपर्छ। होलेरीसम्मको सडक कालोपत्रे भइसकेको छ।

धेरैजसो पर्यटक यो सडक अवरुद्ध हुने भएकाले भालुवाङ–भिंगृ सडकलाई नै रोजाइमा पार्ने गर्छन्। भिंगृबाट स्वर्गद्वारी जाने कच्ची सडक कालोपत्रे भएपछि करिब ९० प्रतिशत तीर्थयात्री यही सडक भएर स्वर्गद्वारी पुग्ने सहायक कोठारी न्यौपाने बताउनुहुन्छ।

के–के छन् स्वर्गद्वारीका सास्ती

स्वर्गद्वारीले सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यभित्र सूचीकृत गरेको छ। अझ पनि सोचेअनुसार स्वर्गद्वारीको विकास हुन सकेको छैन। आधार शिविर भिंगृदेखि स्वर्गद्वारी धरमपानीसम्मको कच्ची सडक कालोपत्रेको प्रक्रियामा गएपछि दर्शनार्थीमा केही आशा पलाएको छ।

सिँढी निर्माणको काम सकिएको छ। धरमपानीमा भक्तजनको सौजन्यमा गेट बनाइएको छ। अन्य भौतिक पूर्वाधारका कामले तीव्रता पाएको छ। धरमपानीको धर्मशाला निर्माण अलपत्र छ। साविकको जिल्ला विकास समितिमार्फत सयौंको संख्यामा भक्तजनलाई राख्न सकिने क्षमताको धर्मशाला निर्माण थालिए पनि पूरा हुन सकेको छैन।

निर्माण हुन नसक्नुका कारण ठेकेदारको लापरबाही मान्छ आश्रम। दैनिक ४ सय भक्तजन अट्न सक्ने धर्मशाला आश्रम परिसरमा पहिल्यै बनेको छ। भक्तजनलाई चार/पाँच दिन राख्ने खालको वातावरण अझै पनि स्वर्गद्वारीमा बन्न सकेको छैन। अहिले पर्यटक आधुनिक शैलीमा पनि रमाउन चाहन्छन्।

आश्रम क्षेत्रमा गार्डेन, चिल्डेन पार्क, प्रभु हिँडेको बाटोमा प्रभु पाइलालगायत संरचना बनाउनुपर्ने आवश्यकता देखिएको सहायक कोठारी न्यौपानेले सुनाए। ‘स्वर्गद्वारीको गुरुयोजना बनेको छ’, उनी भन्छन्– ‘योजना बन्यो। तर, संरचना निर्माणमा पैसा आएन।’ स्थानीय सरकारले स्वर्गद्वारीको विकासमा सोचेअनुसार अपनत्व नलिएको उनको गुनासो छ

स्वर्गद्वारी नगरपालिकाले सडक निर्माणमा पहल थालेको छ। लाखौंको संख्यामा भक्तजन पुगे पनि अहिलेसम्म स्वर्गद्वारीको व्यवसायीकरण हुन सकेको छैन। स्वर्गद्वारीलाई नै आधार बनाएर थुप्रै व्यापार व्यवसाय सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना छन्। स्वर्गद्वारी पुगेर लैजाने मायाको चिनो छैन।

जिल्लाबासीले यसबाट प्रत्यक्ष लाभ लिन नसकेको सरोकारवालाहरू सुनाउँछन्। प्यूठान उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ज्ञामुराम न्यौपाने स्वर्गद्वारीमा केबलकार आवाश्यक रहेको बताउँदै भन्नुहुन्छ– ‘स्वर्गद्वारीमा पर्यटक आए पनि त्यसको लाभ जिल्लाले लिन सकेको छैन।’

भारतीय पर्यटक स्वर्गद्वारीमा एक दिन पनि बस्दैनन्। आश्रम व्यवस्थापनले दुई/चार दिन बस्ने वातावरण बनाउनुपर्ने देखिन्छ।
स्वर्गद्वारीसँगै छिमेकी जिल्ला गुल्मीको रेसुंगा, रिडी, अर्घाखाँचीको सुपादेउरालीलाई केन्द्रित गराएर पनि पर्यटकलाई यही बाटो हिँड्ने वातावरण गराउन सकिन्छ, जसले गर्दा यस रुटमा पर्ने धेरै क्षेत्रको विकास हुन सक्छ। लुम्बिनी–स्वर्गद्वारी–गौमुखी–ढोरपाटन–मुक्तिनाथलाई पर्यटन ‘रुट’ का रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको पर्यटन विज्ञको मत छ।

प्रतिक्रिया दिनुहोस्