संघको निर्वाचनमा उम्मेदवारी दर्ता



बाँके, (नेस) ।

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारले शनिबार मनोनयन दर्ता गरेका छन्। माघ ११ गते हुने निर्वाचनमा समावेशी र साझा प्रजातान्त्रिक प्यानल निर्वाचनमा होमिएका छन्।

दुवै समूहले समर्थकका साथ मनोनयन दर्ता गरेका हुन्। दुवै प्यानलले उम्मेदवारी दर्ता गर्न आउनु अघि बजार परिक्रमा गरेका थिए। न्यूरोडमा रहेको सचिवालयबाट दुवै प्यानल समर्थकसहित नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यालयमा रहेको निर्वाचन आयुक्तको कार्यालयमा आइपुगेका थिए।

समावेशीले पहिला उम्मेदवारी दर्ता गराएको थियो। अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा समावेशी प्यानल बनेको छ भने ललित रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक प्यानल रहेको छ।

समावेशी प्यानलबाट उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता गरेका छन्। सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश वैश्य, धर्म अर्याल, विजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनील बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भीम रानाभाटले उम्मेदवारी दर्ता गरेका छन्।

साझा प्रजातान्त्रिक प्यानलबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतले उम्मेदवारी दर्ता गरेका छन्।

अजयकुमार टण्डन, सुुनील सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, विष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खनबहादुर धामी, सन्तोषकुमार वैश्य, तेजनारायण कँडेल, दीपेन्द्रराज श्रेष्ठ र सुरेन्द्रसिंह सरदारले सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।नेपालगन्जमा चिसो बढ्दै गर्दा व्यापारीको चुनावको सरगर्मी थपिएको छ। उम्मेदवार घरदैलो, भेटघाटमा हिडिरहेका छन्। संघमा तीन हजार ४८ जना मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्