इरानद्वारा युक्रेनी विमान खसालेको स्वीकार : गम्भीर मानवीय गल्तीका कारण भएको सेनाको भनाइ



तेहरान, (एजेन्सी)।

इरानमा दुर्घटनाग्रस्त भएको युक्रेनको यात्रुवाहक विमानलाई गल्तीले क्षेप्यास्त्र प्रहार भई खसाल्न पुगेको सेनाले बताएको इरानको सरकारी टेलिभिजनले जनाएको छ।उक्त विमानमा १ सय ७६ जना यात्रु थिए। इरानका तर्फबाट आएको उक्त बयानलाई मानवीय गल्ती भनिएको छ।

उक्त बोइंग ७३७ फ्लाइट युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको थियो। बुधबार उडान भरेको केही मिनेटपछि नै तेहरानको बाहिरी इलाकामा खसालिएको थियो। सोही दिन इरानले इराकस्थित अमेरिकी सैन्य अखडाहरूमा पनि क्षेप्यास्त्र हमला गरेको थियो। त्यसको केही घण्टापछि नै उक्त विमान पनि खसालिएकोे थियो।

यसअघि इरानले विमान खसालिएको आरोपलाई अस्वीकार गर्दै आइरहेको थियो। अमेरिका र क्यानाडाले आफ्नो गुप्तचर सूचनाका आधारमा इरानले उक्त विमान क्षेप्यास्त्र प्रहारबाट खसालिएको दाबी गरेका थिए। विमान युक्रेनको राजधानी किभका लागि उडान भरिरहेको थियो।

यसमा १ सय ६७ यात्रु र चालक दलका ९ सदस्य थिए। विमानमा इरानका ८२, क्यानाडाका १३ र युक्रेनका ११ नागरिक सवार थिए।
विमानले अप्रत्यासित रूपमा संवेदनशील सैन्य इलाकातर्फ मोडिएको इरानले बताएको छ। यसअघि इरानले विमान दुर्घटनाका लागि प्राविधिक खराबी जिम्मेवार भएको जनाएको थियो।

इरानको सेनाले विज्ञप्तीमा भनेको छ– ‘विमान रिभोलुसनरी गार्डस कोरको ब्यारेकनजिक आएको थियो। यो स्थितिमा मानवीय गल्ती भयो र विमानलाई प्रहार गरी खसालियो।’

यस घटनाका लागि जसले गल्ती गरेको हो ऊमाथि कारबाही हुनेछ। सेना सबै सशस्त्र बलको सञ्चालनमा व्यापक सुधार गर्नेछ, ताकी पुनः यस प्रकारको गल्ती नहोस्। इरानमाथि उक्त विमान खसालिएको जिम्मेवारी लिन अन्तर्राष्ट्रिय दबाब बढिरहेको थियो।

अमेरिका र सहयोगी देशहरूले प्राप्त जासुसी सूचनाअनुसार विमान इरानी क्षेप्यास्त्र हमलाको शिकार भएको दाबी गरिरहेका थिए। इरानले केही घण्टाअगाडि मात्र इराकस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र हमला भएकोले पनि इरानबाटै उक्त घटना भएको हुन सक्ने आशंका बढेको थियो।

समाचार एजेन्सी एएफपीका अनुसार इरानका राष्ट्रपति हसन रुहानीले भने– ‘युक्रेनको विमान खसालिनु अत्यन्तै दुखद् र त्रासदीपूर्ण हो ,जसले गल्ती गरेको हो उनलाई माफी दिने छैन। इरानका विदेशमन्त्री जवाद जारिफले ट्विटमा घटनाप्रति खेद प्रकट गरेका छन्।

आफ्नो ट्विटमा उनले भने– ‘अत्यन्तै दुखद् हो।’ सेनाको प्रारम्भिक जाँचमा यो मानवीय गल्ती भएको थाहा भएको छ, जुन अमेरिकाको दुस्साहसका कारण उत्पन्न संकटको घडीमा भएको थियो। हामी यसका लागि माफी माग्छौं। पीडितप्रति हाम्रो संवेदना छ।

बुधबार जब इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा हमला गर्न थाले, अन्तर्राष्ट्रिय उडानका मार्ग परिवर्तन भएका थिए। अमेरिकाले आफ्ना विमानलाई इरानको हवाईक्षेत्रको प्रयोग नगर्न निर्देशन दिएको थियो।

तर इरानले तेहरानमा विमान आवागमनमा रोक किन नलगाएको भन्ने विषयमा कयौं विज्ञहरूले प्रश्न उठाइरहेका छन्। शुक्रबार अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले पनि युक्रेनको विमानलाई इरानले खसोलेको आरोप लगाएका थिए। इरानविरुद्ध नयाँ प्रतिबन्धको घोषणापछि ह्वाइट हाउसमा पोम्पियोले भने– ‘हामीले युक्रेनको विमान इरानी क्षेप्यास्त्रबाट खसालिएको हो भन्ने ठानेका छौं, हामी यसको जाँच गरिरहेका छौं।

पोम्पियो पछि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले पनि गुप्तचार सूचनाबाट इरानले नै गल्तिबस विमान खसालेको बताएका थिए। त्यसलाई साथ दिँदै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि विमान प्राविधिक कारणबाट दुर्घटना भएको नभइ इरानी क्षेप्यास्त्र प्रहारमा खसेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्