देउवालाई किचेन क्याविनेटले बिगार्यो



हिमबहादुर रावल 
नेता, नेपाली कांग्रेस
कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा परिचित हिमबहादुर रावल पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जानुको मुख्य कारण सभापति देउवा नै भएको निष्कर्षमा पुग्नुभएको छ। कांग्रेसको सुदूरपश्चिम क्षेत्रको कमान्ड सम्हाल्ने हैसियत भएका रावलले पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउँदा पनि सभापति देउवालाई राम्रै साथ दिनुभएको थियो। २०४८ सालदेखि कांग्रेसमा क्रियाशील रावल ११औं महाधिवेशनदेखि महासमिति सदस्य पनि हुनुहुन्छ। मुलुकको अर्थतन्त्रबारे जानकार उहाँ अर्थ मन्त्रालयको राजस्व परामर्श समितिको सदस्यका रूपमा समेत कार्य गर्नुभएको छ। नेपाल वायुसेवा निगमको पूर्व बोर्ड डाइरेक्टर, नेपाल समुन्द्रपार निकासी पैठारी संघको अध्यक्षसमेत हुनुभएका रावल गत चुनावमा भने पराजित हुनुभएको थियो। गुट उपगुटले अझ् झन् कमजोर बन्दै गएको कांग्रेसभित्रको बढ्दो आन्तरिक विवादबारे नेपाल समाचारपत्रकर्मी रामकृष्ण चापागाईंले नेता रावलसँग गरेको कुराकानीको सारसंक्षेप :-
सुदूरपश्चिमको राजनीति कस्तो छ ?
सुदूरपश्चिममा कांग्रेसको राजनीति अहिले अत्यन्तै राम्रो स्थितिमा छ। २०५१ मा पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण कांग्रेसले धेरै सिट गुमाउनुपर्यो। २०५६ मा पुनः पार्टी एकीकृत भयो र पार्टीले राम्रो नतिजा ल्यायो।

यो सन्दर्भ किन भने नेपाली कांग्रेस पार्टीका नेताहरूले आफू–आफूमा भएको कमजोरी सच्याउँदै सौहार्दपूर्ण वातावरण कायम गर्ने र पार्टीमा कुनै पनि मनमुटाव छैन भन्ने किसिमको गुट उपगुटको अन्त्य गरी हिँड्ने हो भने अहिले पनि देशैभरिको कांग्रेसको अवस्था सुध्रन सक्ने वातावरण छ।

कांग्रेसभित्र गुट उपगुट त झन् मौलाउँदै गएको छ नि ?

सबैभन्दा पहिले गुट उपगुटको अन्त्य जरुरी छ। अब केन्द्रको विवाद जिल्ला हुँदै वडा तहसम्म पुगिसकेको छ। पार्टीमा बढेको विवादबारे जिल्ला सभापतिहरूसमेत मोर्चाबन्दीमा लागेका छन्। विवादको विषयलाई लिएर जिल्ला सभापतिले राजधानीमा भेला नै आयोजना गरे।

यो भेलाले पनि केही न केही असर पार्ला भन्ने मलाई लाग्छ। त्यसले गर्दा पार्टीमा नेतृत्व पंक्तिले अब सुधारेर अघि बढ्नुपर्छ भन्नेतिर लागे भने कांग्रेसको संगठन बलियो हुन्छ। यदि यो हुन सकेन भने पार्टी थप धराशयी हुने अवस्थामा छ।

कांग्रेस धरासायी हुदा एउटा पार्टीमात्र धरासायी हुने होइन देशको सबै अर्थतन्त्र नै धराशयी हुन्छ। कांग्रेसका नेतृत्व पंक्तिले चाहिँ आफू माथि आउने हो कि देशलाई माथि ल्याउने हो भन्ने कुरालाई गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ। देश रहे न कांग्रेस रहने हो। देश नै रहेन भने कांग्रेस कहाँबाट रहन्छ ?

देशको अर्थतन्त्र मजबुत बनाउन त बहुमत प्राप्त कम्युनिस्ट नेतृत्वको सरकार लागिपरेको छ नि ?

सरकार अहिले ६ प्रतिशतभन्दा माथिको जीडीबी ग्रोथ गर्छु भन्छ। कलकारखाना उद्योगहरू बन्द हुने अवस्थामा छन्। १३ वटा चिनी मिलमा तीनवटा चिनी मिल बन्द भइसके १० वटाले पनि जनताको पैसा बुझाएनन् भन्ने समाचार आइरहेका छन्।

चिनी उद्योगजस्तो आत्मनिर्भर भइसकेका उद्योगलाई त हामीले बचाउन सकेनौं। यसलाई त नेसनल पोलिसीले बचाउने हो नि। नेसनल पोलिसीले आत्मनिर्भर बनाउने इन्डस्ट्री के हो भन्ने कुरा त भनिदिनुपर्यो नि त।

मुख्यरूपमा जनतासँग प्रत्यक्ष जोडिएका लत्ताकपडा, खानेकुरा तथा दैनिक उपभोग्य सरसामानहरूमा आत्मनिर्भरताका लागि त्यस्ता उद्योगहरूलाई आत्मनिर्भर बनाउनुपर्छ। हामी चिनी बाहिरबाट ल्याउने हो कि यहीँको चिनी खाने?
तरकारी बाहिरबाट ल्याउने हो कि यहीँको तरकारी खाने? यसमा कम्युनिस्ट नेतृत्वको सरकार झन् फेल हुँदै गएको छ। त्यसकारण नेपालको इकोनोमी कांग्रेससँग जोडिएको हुनाले नेपाली जनताले नेपाली कांग्रेसले त्यो देशलाई बचाउनेतर्फ पो लाग्नुपर्यो।

कांग्रेसले आफ्नै पार्टीभित्रको द्वन्द्व त मिलाउन सकेको छैन, यस्तो राष्ट्रिय समस्या समाधान गर्न सक्ला त ?
मैले मेरो कुर्सी बचाउने वा पद बचाउने भन्ने कुरा महत्वपूर्ण होइन। महत्वपूर्ण कुरा भनेको राष्ट्र निर्माण गर्ने राष्ट्रलाई बचाउने, राष्ट्रको इकोनोमी बचाउने हो। अहिले जुन कांग्रेसभित्रको द्वन्द्व छ, त्यस द्वन्द्वलाई कसरी समाधान गराउने भन्ने हो।
विवादित पक्षमा नेताहरूले एक ठाउँमा बसेर पार्टी बहिष्कार गर्नुपरेको खण्डमा पनि एक कोठाबाट अर्को कोठामा बहिष्कार गर्न सकिन्छ। सडकमा बसेर बहिष्कार गर्दा पार्टीको पूरै संगठन राम्रो हुँदैन नि।
अहिले कांग्रेसभित्र यही अवस्था छ। पहिला पार्टी बलियो नबनाई देशलाई बलियो बनाउन सकिँदैन। त्यसैले पार्टीभित्रको अन्तरद्वन्द्व छिटोभन्दा छिटो समाधान गरेर एकताबद्ध ढंगले नेताहरू अघि बढ्नुपर्छ।
पार्टीभित्रको आन्तरिक विवाद कसरी मिलाउनेछ ?

यसमा त पहिला पार्टी सभापति शेरबहादुर देउवा गम्भीर हुनुपर्छ। पार्टीको विवाद समाधानका लागि पार्टी सभापति कति गम्भीरतासाथ अघि बढेका छन् भन्ने कुरा आउँछ नि त। पार्टीको मात्र हैन समग्र देशको विकासका लागि सभापति गम्भीर बन्नुपर्ने हो।

पार्टीभित्र भाँडभैलो भएपछि कसरी राष्ट्रिय राजनीतिको मुद्दालाई समाधान गरेर अघि बढ्न सकिन्छ। अहिले नेकपाको बहुमत प्राप्त सरकार छ। यो सरकारले जहीँतहीँ भ्रष्टाचारै भ्रष्टाचार गरेको छ। जहीँतहीँ काण्डैकाण्ड मच्चाएको छ।

कति काण्डहरू स्थापित गर्ने हो त? काण्डै काण्डको देश भइसकेको छ। विकास भएको छैन। विकासको क्यापिटल बजेट खर्च हुन सकेको छैन। यस्तो अवस्थामा कांग्रेसले आन्तरिक विवाद सुल्झाउँदै माथि उठेर राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्यो नि।

गुटउपगुटकै कारण इतिहासकै कमजोर अवस्थामा पुगिसकेको कांग्रेसले फेरि राष्ट्रिय राजनीतिको नेतृत्व गर्नुपर्छ भन्न खोज्नुभएको कि अबको विकल्प कांग्रेस मात्र हो भन्न खोज्नुभएको ?
सुदूरपश्चिमको हकमा हामी अझ पनि भन्छौं अबको विकल्प कांग्रेस नै हो। मलाई त कति मानिसहरूले भन्छन् अर्कोपटकको पालो कांग्रेसको हो है भनेर। पालो आएर के गर्ने कांग्रेसको? देश पूरै ध्वस्त भइसक्यो। कांग्रेस पनि सबै ठाउँमा भत्किसक्यो। भत्केको कांग्रेसलाई कसरी माथि उठाउने त?
यो त जमिन होइन नि जहाँ ढुंगासुंगा लगाएर गाह्रो उठाउन सकिने? यो त पार्टी हो, सिस्टम हो। देशको पूरै सिस्टमै भत्किइसक्यो। ढुकुटीमा पैसा भएन भने केले विकास गर्ने ? राष्ट्र कसरी चलाउने ? फेरी ढुकुटीमा पैसा हुने पो कसरी?

क्यापिटल बजेट खर्च किन हुँदैन? पहिले कुरा त हाम्रो देश पूरै अनुशासनहीन भइसक्यो। एक अर्काले भनेको कुरा कोही कसैले मान्ने वाला छैन। जहीँतहीँ हामी सजिलोसित अगाडि बढ्न नसक्ने अवस्थामा पुगिसक्यौं।

यस्तो अवस्थामा कांग्रेस भोलि राम्रोसँग सत्तामा आएर देशले रन गर्ला भन्ने होइन। यसकारणले पहिलो प्रमुखता भनेको देशलाई बचाउनका निमित्त देशको इकोनोमी बचाउनका निमित्त कांग्रेसभित्र आन्तरीक एकता हुनुपर्छ।

होइन कांग्रेसका सबै नेताहरू आन्तरिकरूपमा एक हुनुपर्छ भन्दै गुट उपगुटलाई अझ बढ्वा दिएको पाइन्छ नि ?

अब सुदूरपश्चिममा पनि कांग्रेस केन्द्रको विवाद वडावडामा गइसक्यो। वडा वडामा विवाद गइसकेको ठाउँमा कसलाई सुल्झाउने त? कांग्रेसमा पहिले गुट उपगुटको कुरा थियो। आज व्यक्ति व्यक्तिका नामका कांग्रेस भइसके।

देउवा कांग्रेस, पौडेल कांग्रेस, सिटौला कांग्रेस, शशांक कांग्रेस, शेखर कांग्रेस, प्रकाशमान कांग्रेस। अब एक सय एकचालीस जना केन्द्रीय सदस्य बन्ने भनेको छ, एक सय एकचालीस प्रत्येकका अनेकथरि कांग्रेस बन्ने भएपछि कसरी एकुमेन्डेट गर्ने त?

मेरो त अनुरोध के हो भने जिल्लामा नेतृत्व गर्नेले जिल्लाको संगठन गरौं। माथि जसलाई जे गर्न मन छ गर। त्यसकारण यस्तो अवस्थाले चाहिँ कांगे्रस धराशयी अवस्थामा पुगेको मैले देखेको छु।
केन्द्रको गुटको कारण तल्लो तहसम्मै असर परेको तपाईंको ठम्याइ हो ?
केन्द्रमा गुट बन्नेबित्तिकै पार्टीको तल्लो तहसम्मै त्यसको असर परिहाल्छ। पार्टीको तल्लो तहसम्मै एक गुट मिटिनमा आउँछ अर्को आउँदैन। एक गुटले एउटा कुरा गर्छ अर्को गुटले अर्को कुरा गर्छ। अब गुटबन्नु र जिल्लामा त्यसको प्रभाव देखिनुभनेको कांग्रेस धराशयी बन्नु हो।
तपाईंलाई केही रोग लाग्यो वा क्यान्सर भयो भने क्यान्सरको निश्चित ठाउँमा मात्र डाक्टरले उपचार गर्न सक्छ। जब क्यान्सर फैलन थाल्छ त्यसपछि त उपचारको सम्भावना नै हुँदैन नि। यो सबै थाहा हुँदाहुँदै पनि नेताहरूले आफ्नो पक्षमा यति संख्यामा कार्यकर्ता छन् भनी गर्व गरेका छन्।
यतिजना मेरो पक्षमा छन् भनी गर्व गर्नु भनेको नेताहरूमा भएको नालायकीपन हो। यतिजना छन् भनेर मार्केटमा कुनै प्रोडक्ट सेल गर्ने कुरा त होइन नि। यदि प्रोडक्ट सेल गर्ने भएको भए त्यो ठीक हुन्थ्यो होला।

एकसय प्रतिशतको मार्केटमा मैले २० प्रतिशत ओगटेँ भन्ने होइन नि। यो त क्याडरवेस हो। आज हेर्नोस् तपाईं कुनै पनि राजनीतिमा क्याडर नभएको राजनीति सफल त हुँदैन नि।सक्षम क्याडर उत्पादन गर्नुपर्यो। अहिले त सबै विभाजित छन्। किनभन्दा चुनावमा टिकट दिँदैनन् कि भन्ने डर छ। टिकट दियो भने भन्ने अर्को डर छ।

पार्टीभित्र आन्तरिक द्वन्द्वले चर्किरहेको सन्दर्भमा सार्वजनिक भएको कार्यतालिकाअनुसार १४औं महाधिवेशन होला त ?
महाधिवेशन हुने कुरामा त दुईमतै छैन। किनभने यो त संविधानमै उल्लेख छ। यसलाई टार्न त मिल्दै मिल्दैन। त्यसो नभए ठूलो विवाद आउन सक्छ। पार्टी नै कोल्याप्स हुन सक्छ। त्यसकारण महाधिवेशन त हुन्छ।

अब महाधिवेशनको म्याथम्याटिक्स हेर्ने हो भने अहिलेको म्याथम्याटिक्स फरक ढंगको छ। किनभने अहिले हामी प्रदेश संरचनामा गएका छौं। सातै प्रदेशको इलेक्सनको नेतृत्वले केन्द्रको अधिवेशनलाई चाहिँ एउटा हिट्स दिन्छ। यो चाहिँ हुनसक्छ।

नेपाली कांग्रेसको अहिलेको झण्डै करिब ४ हजार ५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधिहरू हुन्छन्। हिजो हामीचाहिँ ३ हजार २ सय मात्र महाधिवेशन प्रतिनिधि थियौं। अब करिब ४ हजार ५ सय प्रतिनिधि हुँदाका आकलनचाहिँ धेरै फरक हुन्छ।

अब धेरै महिलाहरूको सहभागिता हुन्छ, दलित, जनजातिको अनिवार्य छ। त्यसकारण धेरैजसो महिला र युवाको सहभागिताले १४औं महाधिवेशनले नेतृत्वको म्यान्डेड कसलाई दिन्छ भन्ने कुरा भन्न गाह्रो छ।हिजोको परिवेशमा झैं म भोट खरिद गरी महाधिवेशनबाट सभापति बनौंला भन्ने किसिमले महाधिवेशन प्रतिनिधिलाई प्रभावमा राख्ने कुरा परिकल्पना नगरे पनि हुन्छ।

हिजो र आजको कांग्रेसमा केचाहिँ फरक छ र ? अधिवेशनमा आउने प्रतिनिधिहरू त नेताहरूको गुटउपगुटबाटै छानिएर आउने हुन क्यार ?

अहिले निश्चय नै फरक हुन्छ। किन भन्दा यो ५ वर्षको अन्तरालमा कम्युनिस्ट सरकारले दुई तिहाइ मत ल्याएर हरेक ठाउँबाट भ्रष्टाचार गरेको र हरेक किसिमका उनीहरूका क्रियाकलाप कांग्रेसका एक एक वडाका साथीहरूले पनि बुझेका छन्।

कांग्रेस गत चुनावमा हारको मनस्थितिबाट त झकझकिएको त छ नै अब राष्ट्रकै मनस्थितिमा नेपाली कांग्रेस मात्र होइन यो राष्ट्रमै डेमोक्रेसी रहने वा नरहने भन्ने बारेमा पनि झस्किएको छ। अहिलेको महाधिवेशन धेरै टप हुनेवाला छ।

त्यसकारण म पार्टी सभापति भइहाल्छु, मेरा यति महाधिवेशन प्रतिनिधि आउँछन् भनी आकलन गर्न सजिलो छैन। अब नेपाली कांग्रेसको नेतृत्व बीपी वादलाई नयाँ परिमार्जनसहितको बीपीवाद ल्याउने खालको हुनुपर्छ।

हिजो एक किसानको घरमा एक हल गोरु हुनुपर्छ, दुहुनो गाई हुनुपर्छ भन्ने सोचेपछि आजको नेतृत्वले एक किसानको घरमा कम्तीमा एक ट्याक्टर हुनुपर्छ भन्ने त सोच्नु जरुरी छ। त्यसकारणले गर्दा अहिलेको महाधिवेशन एकदमै टप हुनेछ।

कांग्रेसभित्र आगामी महाधिवेशन लक्षित नै गुट उपगुट बढेको भन्ने चर्चा छ नि ?

१४औं महाधिवेशनमा म पार्टी सभापति हुन्छु भन्ने जुन किसिमको दाउ चलेर अहिले यो गुट उपगुट भएरहेको छ र यसमा नेताहरूको जुन दूषित सोच छ, त्यसले पार्टीलाई कदापि राम्रो गर्दैन। त्यसकारणले सबै नेताहरू एक ठाउँमा बसेर पार्टी सभापतिले पनि हैकमवाद लाद्ने कुरा सोच्नु भएन।

अरू साथीहरूले पनि हलो अड्काउने काम गर्नु भएन। पार्टी कोल्याप्स हुनेतिर जानु भएन। अहिले पार्टी सभापतिले हैकमवाद चलाएर पनि कांग्रेस बिग्रिएको हो र रामचन्द्रजीहरूले भागबण्डको राजनीतिमा विश्वास राखेर पनि बिग्रिएकै हो।

अहिले त सबैले भागबण्डालाई त्यागेर कसले दीर्घकालीन सोचका साथ सत्तापक्षसँग समेत भिड्न सक्ने, नागरिकका हरेक समस्यालाई सम्बोधन गर्न सक्ने, नागरिकका हरेक पीडाहरूमा, सरकारले गरेका नागरिकका हक हनन हुने किसिमका निर्णयका विरुद्धमा नेतृत्व गर्न सक्ने कांग्रेस निर्माण गर्न अग्रसर हुनुजरुरी छ।

निर्णयचाहिँ एउटा गर्ने, एउटा कुरा उल्लेख गर्ने, महासमितिको म्यान्डेट एउटा लिने अनि नेताहरू फेरि पनि नेतृत्व हत्याउने र आफ्ना गुटका स्वार्थसिद्धिका लागि त्यसलाई लत्याउने किसिमका कार्यचाहिँ कदापि स्वीकार्य हुँदैन।नेविसंघको विधानमा ३२ वर्ष उल्लेख हुने गरेको छ भने त्यही हुनुपर्यो। गुटगत स्वार्थका लागि त्यसभन्दा भिन्न सोच्नु त म्यान्डेट मान्दिनँ भन्ने किसिमको भयो नि। यो त प्रजातान्त्रिक भएन, कांग्रेसमा यो चल्दैन।

कांग्रेस फुट्ने सम्भावना छ कि छैन ?
पार्टी फुट्ने सम्भावना कुनै हालतमा पनि छैन। यदि कुनै नेताले नेपाली कांग्रेसलाई फुटाउँछु भनेर सोच्नुभयो भने यो सबैभन्दा ठूलो डेमोक्रेसीमा घातक हुन जान्छ।

कांग्रेसभित्रको विवाद बढ्दै जानुको कारणचाहिँ के हो छ ?

विवाद घट्नुपर्ने हो झन बढ्दै गएको छ। यसमा पार्टी सभापतिलाई गाइड गर्ने किचन क्याबिनेटको असर हो जस्तो मलाई लाग्छ। किचन क्याबिनेटले कमसेकम राष्ट्रवादका विषयमा सोच्नुपर्ने हो।

शेरबहादुर दाइको किचन क्याबिनेटले के के गर्ने हो? रामचन्द्र दाइको किचन क्याबिनेटले के के गर्ने हो? आज सबै नेताले माथि उठ्नुपर्यो कि परेन? आज शशांक कोइरालाजीले पनि माथि उठ्नुपर्यो। शेखर, प्रकाशमान, विमलेन्द्र, सिटौलाजीलगायतका नेताजीहरू माथि उठ्नुपर्यो।

आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने जोड घटाउकै कारण विवाद भयो भन्ने बुझियो नि त ?
फलानालाई सभापति हुन दिन्नँ भनेर बोलेर सभापति हुने नहुने हो र २०७७ फागुनमा महाधिवेशन गर्नका लागि सबै टिम एक ठाउँमा बसेर लागे भने त नेतृत्वको घटाउ महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले गर्छन् नि।
जोडघटाउको कुरामा यदि ५० जना जिल्ला सभापतिले स्ट्यान्ड देखायो सभापतिले अब के अर्को स्ट्रेन्थ नभएका बाँकी सभापतिको स्ट्रेन्थ घट्यो भनेर केन्द्रीय समितिको मनस्थिति परिवर्तन हुने हो र? केन्द्रको मनस्थिति यसरी परिवर्तन हुन सक्छ? सम्भवै छैन।

किन हुन सक्दैन भने केन्द्रीय समितिले ५० जना सभापतिको स्ट्रेन्थ यो देखियो यसै अनुरूप जाऊँ भनेर जानुपर्यो नि त। यो स्ट्रेन्थ देखाउने बेला होइन। स्ट्रेन्थ त तपाईं महाधिवेशनमा देखाउनुस् न। अहिले त के हो भने इकुमेटेड सबै एक ठाउँमा बसेर जानुपर्यो।थाहा छ त पार्टी सभापतिले अधिनायकवाद चलायो। यसमा सभापतिले जबरजस्ती पेल्यो भन्ने जुन कुराहरू आएका छन्, यो कुराहरूलाई त सम्झाउन सक्नु पर्यो नि त राम्रोसँग बुझाउन सक्ने पर्यो नि त। पार्टीसित बसेर डिबेट गर्न सक्नुपर्यो। यसरी जानुपर्छ भन्ने मेरो मान्यता हो।

क्रियाशील सदस्यको विषयलाई पौडेल पक्षका जिल्ला सभापतिहरूले असहयोग गरे भने नि ?

नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताका विषयको धारा निलम्बन गर्ने नजिर छ। तर एउटा कमिटी बनाएर सहमतिकै आधारमा गर्ने गरेको छ। अहिले कुनै पनि कमिटी फर्मेसन गरेको छैन। अब, होइन मलाई भोट नआउने मान्छेको क्रियाशील सदस्यता रद्द गरेर लिएर जान्छु भनेपछि त्योचाहिँ छुट्टै कुरा हो

। त्यतिसम्म चाहिँ गएर पार्टीले हेर्ने हो भने त एकलौटी पनि हुन सक्छ। तर एकलौटी भएर त्यसको रिजल्ट के आउँछ? यस कुरालाई बाहिर बजारमा ल्याउनुभन्दा पहिले पार्टीभित्रका जुनचाहिँ १०/१२ जना नेतृत्वपंक्तिका नेताहरू एकठाउँमा बसेर विश्लेषण गरेर स्मुथमा जानुपर्यो नि त। एउटा साँप हिँडिरहेको छ बाटोमा साँप हिँडेको ठाउँमा गएर साँपलाई कि त साँपलाई मार्नुपर्यो कि त जंगलको बाटोतर्फ धपाउन सक्नुपर्यो।

  • अब गुट बन्नु र जिल्लामा त्यसको प्रभाव देखिनु भनेको कांग्रेस धराशयी बन्नु हो।
  • महाधिवेशन त हुन्छ। अब महाधिवेशनको म्याथम्याटिक्स हेर्ने हो भने अहिलेको म्याथम्याटिक्स फरक ढंगको छ।
  • १४औं महाधिवेशनले नेतृत्वको म्यान्डेड कसलाई दिन्छ भन्ने कुरा भन्न गाह्रो छ।
  • १४औं महाधिवेशनमा म पार्टी सभापति हुन्छु भन्ने जुन किसिमको दाउ चलेर अहिले यो गुट उपगुट भइरहेको छ र यसमा नेताहरूको जुन दूषित सोच छ, त्यसले पार्टीलाई कदापि राम्रो गर्दैन।
  • अहिले पार्टी सभापति देउवाले हैकमवाद चलाएर पनि कांग्रेस बिग्रिएको हो र पौडेल पक्षले भागबण्डको राजनीतिमा विश्वास राखेर पनि बिग्रिएकै हो।
  • नेविसंघको विधानमा ३२ वर्ष उल्लेख हुने गरेको छ भने त्यही हुनुपर्यो। गुटगत स्वार्थका लागि त्यसभन्दा भिन्न सोच्नु त म्यान्डेट मान्दिनँ भन्ने किसिमको भयो नि। यो त प्रजातान्त्रिक भएन, कांग्रेसमा यो चल्दैन।
प्रतिक्रिया दिनुहोस्