लगनखेलको केके मार्टमा भेटियो म्याद नखुलेको खानेतेल



नेपालसमाचारपत्र, ललितपुर।

उपप्रमुख गीता सत्यालको नेतृत्वमा ललितपुर महानगरपालिकाद्धारा बजार अनुगमन गर्दा लगनखेलको केके मार्टमा बेच्न राखिएको खाने तेलमा म्याद नखुलेको भेटिएको छ। मार्टमा बेच्न राखिएको उपकार ब्राण्डको सनफ्लावर तेलमा बनेको मिति र प्रयोग गर्न हुने मिति भेटिएन।

अनुगमनका क्रममा केके मार्टमा दर्ता प्रमाणपत्रमा उल्लेख भएअनुसार बोर्ड नराखिएको, दर्ता प्रमाणपत्रहरू नविकरण नभएको, ग्राहकले देख्ने गरी मुल्यसूची नराखिएको, मार्टको अगाडी भागमा फुटपाथ ढाक्ने गरी अरूलाई व्यापार गर्न दिइएको पाइएको छ।

त्यस्तै लगनखेलकै स्वजन स्टोरमा पनि बिक्री गर्न राखिएको चिसो पेय पदार्थमा म्याद सकिएको भेटिएको छ। त्यस्तै कृषि विकास बैकको भवनमा रहेको चैनपुर शाक्य स्टोरमा म्याद नागेको अनमोल बटर ब्रेक बाण्डको विस्कुट बेच्नका लागि राखिएको भेटिएको छ।

महानगरको अनुगमन टोलीले पसल धनीहरूलाई अनुगमनका क्रममा भेटिएका कमीकमजोरीहरू तत्कालै सुधार्न निर्देशनसमेत दिएको अनुगमन समितिका सदस्य तथा ललितपुर महानगरका बरिष्ठ अधिकृत श्रीभद्र ओझाले जानकारी दिनुभयो।

अधिकांश पसलधनीहरूले पसलमा ग्राहकले देख्ने गरी मूल्य सूची नराखेको पाइयो। त्यस्तै पेयपदार्थ चिसो बनाउनका लागि राखिने फ्रिजमा समेत फोहोर रहेको पाइएको अनुगमन समितिका सदस्य तथा वडा नं. ५ का सदस्य अशोक श्रेष्ठले बताउनुभयो।

उपप्रमुख गीता सत्यालको नेतृत्वमा महानगरका बरिष्ठ अधिकृत श्रीभद्र ओझा, कृषि शाखाका अधिकृत हरिशरण खड्का, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि सहितको टोलीले लगनखेलका केही खाद्य र तरकारी पसलको अनुगमन गरेको हो।

प्रतिक्रिया दिनुहोस्