एउटै वडामा आधा अर्बका विकास योजना



नेपाल समाचारपत्र, पर्वत ।

संघीयतालाई बोझिलो भन्दै धेरैले सराप्दै आएका छन्। तर यही संघीयताका कारण वर्षौसम्म विकासमा पछाडी परेका गाउँहरूले प्रशस्त बजेट र कार्यक्रम मार्फत आफ्नो मुहार समेत फेर्न थालेका छन्। पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा एउटै वडामा आधा अर्बको विकास योजना कार्यान्वयनमा आएपछि गाउँको मुहार फेरिन थालेको हो।

संघीयता कार्यान्वयनको तीन वर्ष यता सडक, सिँचाई, खानेपानी, शिक्षा र अन्य भौतिक पूर्वाधार विकासका योजनाहरू धमाधम कार्यान्वयन हुन थाले पछि गाउँको मुहार फेरिन थालेको हो। तीन वर्ष यता धाइरिङको विकासका लागि प्रदेश र स्थानीय तह गरी करिब आधा अर्ब बराबरका योजना सञ्चालित छन्।

कहिल्यै नसोचेको विकास निर्माण हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन्। पाँच वर्ष पहिले सल्यानको सिँचाई कुलो पहिराले भत्काएपछि आफै रकम जुटाएर कुलो खनेका सल्यानवासीहरू यसपाली प्रदेश सरकारले जिर्ण बनेको कुलो निर्माण गर्न डेढ करोड रुपियाँ बजेट विनियोजन गरिदिएपछि गाउँलेहरू द· परेका छन्।

गण्डकी प्रदेश सरकारले मिलन चोकदेखि ठोटनेरीसम्म १० किलोमिटर सडक कालोपत्रे योजनाका लागि २८ करोड १५ लाख र सल्यान सिँचाई योजनाका लागि १ करोड ४४ लाख रुपियाँ बजेट विनियोजन भई काम सुरु हुन थालेको छ।

तरकारीको पकेट क्षेत्रका रुपमा रहेको सल्यानको फाँटलाई सिँचाई पुर्याउन जिर्ण बनेको कुलो दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेछ।
यसै गरी माथिल्लो धाइरिङमा सिँचाई सुविधा पुर्याउनका लागि द्धाकाडे घायखेत वास्कोट सिँचाई योजनाका लागि १ करोड ८४ लाख र लामाखेत लामाबगर तटबन्धन निर्माणका लागि १ करोड १० लाख रुपियाँको विकास योजना सञ्चालनको प्रक्रियामा रहेको वडा अध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो।

वडा अध्यक्ष आचार्यका अनुसार वडा भरका नागरिकका घर घरमा धारा पुर्याउने योजनाका लागि चालु आर्थिक वर्षमा करिब १ करोड रुपियाँ बजेट विनियोजन भई काम भइरहेको छ। आगमी ३ वर्ष भित्र १ घर १ धाराको योजना सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

केही वर्ष अघि गाउँको विकास बजेट माग गर्न सदरमुकाम र केन्द्रमा धाउँदा पनि केही उपाय नलागेका धाइरिङवासीहरू संघीयता कार्यान्वयनसँगै गाउँमा धमाधम विकास बजेट भित्रीएपछि गाउँको मुहार फेरिदै गएको स्थानीय शेषकान्त आचार्यले बताउनुभयो।

‘गाउँको विकास गर्न भन्दै करोडौं बजेट आउँदा संघीयताको अनुभव हुन लागेको छ उहाँले भन्नुभयो–‘बजेट पूर्णरुपमा कार्यान्वनय हुने हो भने गाउँको नै मुहार फरिन्छ। यो संघीयताकै फल हो।’

प्रतिक्रिया दिनुहोस्