मन–मस्तिष्कमा छाउगोठ



अझै पनि महिनावारी बार्न छाउगोठमा बस्ने चलन कायम छ। विशेष गरी सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा धर्मको नाममा होस् वा परम्पराको नाममा महिनावारी बार्न छाउगोठमा बस्ने चलन निकै बलियो देखिन्छ।

महिनावारी भएका बेला सरसफाइमा विशेष ध्यान दिँदै स्वस्थ र पौष्टिक खानेकुरा खानुपर्ने र आफ्नो स्वास्थ्यलाई अझ बढी ध्यान पुर्याउनुपर्ने बेलामा घर–परिवारबाट टाढा छाउगोठमा बस्नुपर्ने महिलाको बाध्यता सामाजिक विकृति त हो नै साथमा अमानवीय पनि हो।

छाउगोठमा बस्दा विभिन्न कारणले महिलाको अकालमा मृत्यु भएको खबरहरूले आँङ नै सिरि· बनाउने भए पनि यस क्षेत्रका बासिन्दा धर्म र परम्परालाई जोडेर छाउपडी प्रथा हटाउन आनाकानी गरिरहेका छन्। खासगरी जनचेतना र स्वास्थ्य शिक्षाको अभावमा यस भेगका महिला महिनावारी बार्नका लागि कष्टकर जीवन जिउन बाध्य भइरहेका छन्।

छाउपडी प्रथा अन्त्यका लागि विभिन्न संघ–संस्थाले मात्र हैन सरकारले पनि विशेष चासो देखाएको छ। तर पनि समाजमा लामो परम्परा बोकेको यो प्रथा हटाउन निकै चुनौती सामना गरिरहनुपरेको छ। महिनावारी प्राकृतिक र मर्यादित कुरा भए पनि यसलाई धर्म र परम्परासँग जोडेर हेर्दा सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा छाउपडी प्रथा कायम रहेको तथ्यलाई गम्भीररूपमा लिँदै सरकारले पछिल्लो समय छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको छ।

कालिकोट, सुर्खेत, अछाम, कैलाली बझाङमा मात्र सरकारले छाउगोठ भत्काउने अभियानअन्तर्गत करिब २ हजार ५ सय छाउगोठ भत्काएको छ। कञ्चनपुर, कैलाली डडेल्धुरा, बेतडीलगायत कैयौं जिल्लामा पनि छाउपडी प्रथाले जरा गाडेको बेला जबरजस्ती छाउगोठ भत्काएर मात्र समस्या समाधान खोज्नु चुनौतीपूर्ण छ।

स्थानीयदेखि केन्द्रीय सरकारसम्मको प्राथमिकतामा रहेको छाउपडी प्रथा अन्त्यको योजना सार्थक हुन भने स्वयं स्थानीय बासिन्दाको मनको गोठ भत्काउन जरुरी छ। किनकि नीति–नियम बनाउने तहका महिला नै परम्परागतरूपमा महिनावारी बार्ने गरेको पाइन्छ।

छाउपडी प्रथा अन्त्यका लागि भएका प्रयास र परिणामबारे जति नै चर्चा गरे पनि अन्ततः मनको छाउगोठ नभत्केसम्म यो प्रथाले निरन्तरता पाउने देखिन्छ। वैज्ञानिक दृष्टिकोणले महिनावारी हुनु भनेको सन्तान उत्पादनका लागि योग्य बन्नु पनि हो।

यो एक प्रसन्नता र मातृत्वको गरिमामयतामा महिलाको पदार्पण हो। यसलाई उत्सवका रूपमा स्वीकार्य कार्य विश्वका कतिपय मुलुकमा छ। तर, हामी जो आफ्नो धर्म–संस्कृति पुरानो र धनी भनेर गर्व गरिरहेका छौं, त्यही समाजमा महिनावारी बार्ने नाममा महिलाका मानव अधिकारहरू कुण्ठित गरिरहेका छौं।

महिनावारीलाई धर्मले पनि सम्मान नदिएको होइन, यसलाई अर्को शब्दमा पुष्पवती हुनु भनेर जीवन फक्रिएको अर्थमा लिइन्छ। महिनावारी हुनु भनेको पवित्र कार्यको थालनी भएको पनि हो।

यस्तो बेला महिलालाई लुकाएर छाउगोठमा राख्ने चलन मानवीय सभ्यतामा कलंक हो। अतः छाउपडी प्रथा अन्त्यका लागि मनको छाउगोठ नै भत्काउनुपर्छ। महिनावारी भएपछि महिलामाथि हुने विभेदपूर्ण धार्मिक तथा सांस्कृतिक व्यवहारकै पुनव्र्याख्या गरिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्