अमेरिकामा डान्स र भ्वाइस कप



अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा हालै मेरो डान्स कप चौथो संस्करण र मेरो भ्वाइस कप दोस्रो संस्करण एक भव्य समारोहबीच सम्पन्न भएको छ।

समारोहको शुभारम्भ आयोजक इन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाका प्रमुख कार्यकारी अधिकारी डिल्ली अधिकारी, लोकगायक प्रेमराजा महत र नायिका केकी अधिकारीले गरेका थिए।

विश्वभर छरिएर रहेका नेपालीभाषी तथा नेपालीलाई जोड्ने बृहत् अभियानसँगै नेपाली कला संस्कृतिको जगेर्ना गर्न आफू र आफ्नो संस्थाले यो अभियान थालेको कार्यक्रम प्रमुख अधिकारीले जानकारी गराए। समारोहमा एक्रोनस्थित कायाहोगा फल्सका मेयर डन वाल्टर्स, कार्यक्रम निर्देशक मणि राई, आयोजक गोपाल धिताललगायतले मन्तव्य राखेका थिए।

अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेका कलाकारका साथमा नेपालबाट आएका कलाकार, स्थानीय कलाकार र मेरो डान्स कप तथा मेरो भ्वाइस कप यूएसएका विगतको सिजनका विजेता कलाकारले कार्यक्रममा आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।

गायक प्रकाश श्रेष्ठ, शिव परियार, जगदीश समाल, बाबु बोगटी, महेश थुलुङ, किशोर शिवाकोटी, किरण गजमेर राजु लामा (द एन्जल्स), लोक गायकद्वय प्रेमराजा महत र नवीनकुमार खड्का, नायक दिलीप रायमाझी, सुशील क्षत्री, मुकेश ढकाल, गायिका सपनाश्री, अञ्जु पन्त, नायिका सारंगा श्रेष्ठ, पूजा चन्द, मेलिना मानन्धर, अरुणिमा लम्साल, केकी अधिकारी, हास्यकलाकार सन्दीप क्षत्रीलगायतले आफ्नो जोडदार प्रस्तुति दिएको कार्यक्रममा करिब १५ सयको संख्यामा दर्शकको उपस्थिति रहेको अमेरिकाबाट नेपाल समाचारपत्रका सहयोगी सुरेशदर्पण पोखरेलले जानकारी गराए।

८ घन्टासम्म चलेको कार्यक्रमसँगै मेरो डान्स कप चौथो संस्करण र मेरो भ्वाइस कप दोस्रो संस्करणमा सहभागिताका लागि फर्म पनि खुला गरिएको छ। अमेरिका र क्यानडामा बसोबास गर्ने नेपालीभाषीले यी प्रतियोगितामा भाग लिन पाउने आयोजकले जानकारी गराए।

विजेतालाई टोयोटा कार, सुनको कपसँगै थुप्रैआकर्षक पुरस्कार प्रदान गरिने आयोजक टिमका सदस्य नायक दिलीप रायमाझीले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्