सर्बिया र स्पेन क्वार्टरमा



लन्डन, (एजेन्सी) ।

एटीपी कप टूर्नामेन्ट अन्तर्गत सोमवार राति भएको खेलपछि सर्बिया र स्पेनले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। विश्व वरियताको दोस्रो स्थानका सर्बियाली टेनिस स्टार नोभाक जोकोभिच चम्केपछि सर्बियाले अस्ट्रेलियाको ब्रिस्बेनमा जारी एटीपी कपको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

प्रतिकूल वातावरणकाबीच सुरु भएको खेलमा फ्रान्सका बेनोइट पियरेले सर्बियाका दुसान लाजोभिचलाई ६–२, ६–७ (६), ६–४ ले हराएर १–० ले सुरुवाती अग्रता लिएका थिए।

तर, त्यसपछि विश्व वरियताको दोस्रो स्थानका टेनिस स्टार नोभाक जोकोभिचले आफ्नो सिंगल र डबल प्रतिस्पर्धा जितेर सर्बियालाई फ्रान्सविरुद्ध २–१ ले जित दिलाउन सफल भए।

जोकोभिचले पुरुष एकल भिडन्तमा गेल मोनफिल्सलाई ६–३, ६–२ ले हराएका थिए। त्यसपछि डबल्समा उनले भिक्टर ट्रोइस्कीसँग मिलेर फ्रान्सको जोडी निकोलस माहूट र एडवर्ड रोजर भेसलिनलाई ६–३, ६–६ (५÷७), १०–३ ले माथ दिए।

त्यसैगरी स्पेनले पनि उरुग्वेलाई ३–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो। विश्व वरियताको शीर्ष स्पेनिस खेलाडी राफेल नाडालले पाब्लो क्यूभासलाई ६–२, ६–१ ले हराए।

स्पेनका रोबर्टो बाटिस्ता अगुटले पनि फ्रेन्को रोन्काडेलीलाई ६–१, ६–२ ले माथ दिए। समूहको अन्य खेलमा द.अफ्रीकाले चिलीलाई ३–० ले तथा जापानले जर्जियालाई २–१ ले हराए।

स्पेनले समूह बी मा अहिलेसम्म दुईवटा भिडन्त जितेको छ। स्पेनको आगामी खेल प्रतियोगितामा अजय टोली जापानसँग हुनेछ। त्यसपश्चात् समूहका शीर्ष टिमले सिड्नीमा हुने प्लेफमा सोझै प्रवेश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्