प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध



नेपाल समाचारपत्र, पर्वत ।

देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाईनको निर्माण कार्यमा स्थानीयबासीले अवरोध गरेका छन्। मोदी गाउँपालिका–१ शेराबेसीका बासिन्दाले विद्यालय नजिकबाट प्रसारण लाईन निर्माण गर्न थालिएको भन्दै स्थानान्तरणको माग सहित अवरोध गरेका हुन्।

स्थानीय नवज्योती थम माविलाई प्रसारणलाईनले प्रत्यक्ष प्रभाव पर्ने दाबी सहित उनीहरूले स्थानान्तरण गर्न माग गरेका छन्। पर्वत भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत आयोजनाहरूबाट उत्पादित विद्युतलाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारणलाईनमा जोड्न नयाँ प्रसारण लाईन निर्माण भइरहेको छ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाईन ४२ किलोमिटर लामो छ। प्रसारण लाईनमा १ सय ३८ वटा टावर रहने छन्। त्यस मध्ये शेराबँेसीका ३ वटा टावर स्थानान्तरण गरेर तल वा माथिबाट लाग्नुपर्ने माग स्थानीयको छ।

‘तीन वटा टावर स्थानान्तरण नगर्ने हो भने प्रत्यक्ष रुपमा विद्यालयमा प्रत्यक्ष प्रभाव पर्छ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुलक अधिकारीले भन्नुभयो–‘जुनसुकै मुल्य चुकाएर पनि हामीले स्थानान्तरण गराई छाड्छौ।’ अहिले डिजाईन भएको ठाउँ भन्दा माथि र तलबाट लैजान सक्ने विकल्प रहेको उहाँले बताउनुहुन्छ।

भारतीय एक्जिम बैंकको सहयोग र नेपाल सरकारको समेत लगानीमा २ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारणलाईन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो। आगामी जुन सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएपछि पर्वतको देउपुर कोरुङा र कास्कीको माछापुच्छे« गाउँपालिकाको लाहाचोकका २ वटा सबस्टेशन अन्तिम चरणमा पुगेका छन्।

प्रसारण लाईन निर्माणमा भने जग्गा विवाद र स्थानीयको अबरोधका कारण समयमा काम सम्पन्न कठिन भैरहेको नयाँमोदी पोखरा प्रसारणलाईन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो।

पर्वतमा कम विवाद भएपनि कास्कीमा प्रसारणलाईन बनाउन कठिन भएकाले प्रोजेक्ट नै असफल हुने अवस्था आउन सक्ने चिन्ता आयोजना प्रमुख अग्रवालको छ। प्राधिकरणका ग्रीड विकास विभागले बिकल्प नभएकाले यसबाट नै प्रसारण लाइन बनाउनु पर्ने अवस्था रहेको दोहोर्याउनुभयो।

बैकल्पिक स्थान भन्दा अहिले डिजाईन भएको स्थान नै उपयुक्त भएको दाबी उहाँको पनि छ।विद्युत चाहिने तर प्रसारण लाईन बनाउन नदिने आम प्रवृत्तिका कारण देशभरकै प्रसारण लाईन निर्माणमा समस्या भैरहेको अनुभव उहाँको छ। 

प्रसारण लाईन बनेपछि देउपुर स्थित सबस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित विद्युत जोडिनेछन् भने कास्कीको लहाचोक सबस्टेशनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित विद्युत जोडिनेछन्।

प्रतिक्रिया दिनुहोस्