तनाव खेलमा मनाङले हार टार्यो



नेपाल समाचारपत्र, काठमाडौं।

जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत् सोमबार भएको तनाव खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबले हार टारेको छ। विदेशी खेलोडी एडिलाजा सोमिडेले ८१औं मिनेटमा गोल गरेर मछिन्द्र क्लबलाई २–१ को अग्रतामा राखेका थिए।

उनले मनाङका डिफेन्डर र गोलकिपर दिप कार्की जुधेको अवस्थामा उनीहरूकै बीचबाट हल्का हेड प्रहार गर्दा बलले गोलको दिशा लिएको थियो। यो गोलसँगै मछिन्द्रले स्पष्ट ३ अंक जोड्ने संकेत गरेको थियो। तर मछिन्द्र टोलीको खुशीयाली धेरै बेर सम्म रहेन।

८८औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई बराबरीमा पुर्याएका थिए। जगजित श्रेष्ठको प्रहारलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पञ्च गरिदिए। तर सो बल रिबाउन्ड हुँदा विमलले मौकाको फाइदा उठाउँदै उक्त रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए। ५ मिनेटको इन्जुरी समयमा दुबै तर्फबाट गोल नहुँदा दुबै टोली २–२ गोलमा रोकिएको थियो।

त्यसो त खेलमा शुरुमै मनाङले अग्रता लिएको थियो। खेलको दोस्रो मिनेटमै फेमी जोशुवाले अन्जन विष्टको क्रसमा हेड गर्दै गोल गरेका थिए। सो गोलसँगै मनाङले यसपटकको लिग जित्ने लक्ष्यमा रहेको मछिन्द्रविरुद्ध १–० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा खेल शुरु भएलगतै मछिन्द्रले बराबरी गोल फर्काएको थियो। ४६औं मिनेटमा सुजल श्रेष्ठको शसक्त प्रहार बारमा ठोक्किँदै गोलमा परिणत भएको थियो।

अन्तमा तनाव

खेल सकिएको सिटी बज्नावितिकै मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच केही भनाभन भएको थियो। दुबै जना हात हालाहालकै स्थितिमा थिए। दुबै टोलीका पदाधिकारीले मैदान भित्र प्रवेश गरेर झगडा शान्त गर्न निकै कसरत गर्नुपरेको थियो।

केही बेर तनाव स्थितिमा रहँदा सुरक्षाकर्मी समेत मैदानमा आउनु परेको थियो। यो तनावमा निकै आक्रमक भएको भन्दै मनाङका वैकल्पिक गोलकिपर अशोक बराललाई रेफ्री श्रवण तामाङले रातो कार्ड देखाएका थिए।

मनाङ शीर्षमै

मनाङ र मछिन्द्र पाँचौं चरणसम्म पनि अपराजित रहेका छन्। मनाङले ३ जित र २ बराबरीसँगै ११ अंक जोडेको छ। त्यस्तै मछिन्द्रले पनि सोही नतिजा हात पार्दै १० अंक जोडेको छ।

मनाङका शीर्ष खेलाडीहरू मछिन्द्रमा स्थानान्तर भए पनि टोली पाँचौं चरणसम्म पनि शीर्ष स्थानमा रहेको छ। तर बिहीबार हुने खेलमा त्रिभुवन आर्मी क्लबका लागि शीर्ष स्थानमा पुग्ने अवसर बनेको छ।

सो दिन ९ अंकको आर्मीले जारी लिगकै कमजोर टोली सरस्वती युवा क्लबसँग खेल्नेछ। सरस्वतीले खेलेको चारै खेल हारेको छ।

जावलाखेल र एनआरटी बराबरीमा

यसअघि नै दशरथ रंगशालामा भएको खेल भने गोलरहित बराबरीमा समाप्त भयो। जावलाखेल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेल बराबरीमा सकिँदा दुबै टोलीले १/१ अंक जोडेको छ। योसँगै जावलाखेल ९ अंकसहित चौथो स्थानमा झरेको छ। एनआरटीको भने ५ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्