तीन वर्षपछि नेफ्टा अवार्ड टुँडिखेलमा



तीन वर्षदेखि स्थगित हुँदै आएको नेफ्टा फिल्म अवार्ड यस वर्ष आयोजना हुने भएको छ। नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले सोमबार राजधानीको सोल्टी क्राउन प्लाजामा पत्रकार भेटघाट गर्दै नेफ्टा फिल्म अवार्डको घोषणा गरेको हो।

अवार्डको दशौं संस्करण आगामी चैतमा हुने कार्यक्रममा जानकारी दिइएको छ। आयोजक संस्था प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कार्यक्रममा अघिल्ला संस्करण विदेशमा हुँदै आएको यो अवार्डको दशौं संस्करण भने काठमाडौंको टुँडीखेलमा आयोजना गर्ने जानकारी गराए।

‘भिजिट नेपाल २०२० भएकाले हामीले यसपालिको अवार्ड नेपालमा आयोजना गर्न लागेका हौं।’ –लामाले भने।ड्रिम हाई नेपालसँगको सहकार्यमा संघले यो अवार्ड आयोजना गर्न लागेको उनले बताए। संघका महासचिव शालिग्राम तिमिल्सिनाका अनुसार यसपटक २०७५ सालमा प्रदर्शनमा आएका नेपाली फिल्मबीच खुलारूपमा ३२ विधामा अवार्डका लागि प्रतिस्पर्धा हुनेछ।

कार्यक्रममा लोकप्रिय फिल्म, नायक, नायिका, जनजाति फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्डसहित कुल ३७ विधामा अवार्ड प्रदान गरिनेछ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली फिल्म निर्माणमा नेपाली प्राविधिकको ठूला देन रहेको चर्चा गरे भने अभिनेता भुवन केसी, अभिनेत्री वसुन्धरा भुसाल, निर्देशक तुलसी घिमिरेदेखि निर्देशक दिनेश डिसीसम्मले कार्यक्रममा नेफ्टा अवार्डको महत्वबारे प्रकाश पारे।

अवार्ड कार्यक्रम घोषणा समारोहमा प्राविधिक संघका तर्फबाट नेपाल चलचित्र निर्देशक समाजका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूलाई स्वागत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्