कीर्तिपुरमा जामुनको रूख



कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक जामुनको रूख ः सेमलेस भल्गारिटीको मञ्चन शुरू भएको छ। कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन्।

यसै नाटकबाट कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन शुरू भएको हो। हास्यव्यंग्य शैलीमा प्रस्तुत ७० मिनेट लामो नाटक सरकारी सचिवालयअगाडि बूढो जामुनको रूख ढलेर एक साधारण नागरिकलाई थिचेपछि शुरू हुन्छ।

थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयतालाई पाखा लगाएर एकपछि अरूलाई जिम्मेवारी पन्छाउँदै नाटकको कथा अघि बढ्छ।

अझै थिचिएको मान्छेप्रतिभन्दा ठीक उल्टो ढलेको बूढो जामुनको रूखप्रति सहानुभूति प्रकट गर्दै अमानवीयताको हदसम्म पुग्छ। पद र शक्तिमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयतालगायतको कथा नाटकले पस्केको छ।

उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक जामुनको रूखजस्तै नाटकलाई पनि सरल र सरसरूपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ।

नाटकले प्रस्टैरूपमा सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै यस परिपाटी भोग्न बाध्य आम मान्छेको निरीह अवस्थालाई चित्रण गरेको छ।

नाटकमा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्