७७ वटै जिल्लामा कृषि बीमा पुर्याउन बीमा कम्पनीलाई भागबन्डा



नेपाल समाचारपत्र, काठमाडौं।

कृषि बीमाको पहुँचमा वृद्धि गर्न बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीहरूलाई जिल्लागत रूपमा भाग लगाएका छन्। समितिले २० निर्जीवन कम्पनीहरूलाई जिल्लागत रूपमा भाग लगाइदिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

समितिले केही समयअघि बीमा कम्पनीहरूले घुम्ती बिमा सेवा सञ्चालन गर्न सक्ने कार्यविधि बनाएको थियो। सोही कार्यविधि अनुसार बीमा कम्पनीहरूले अब आफ्नो भागमा परेको जिल्लामा कृषि बिमा सेवा पुर्याउनु पर्नेछ। बीमा कम्पनीहरूले ७७ वटै जिल्लामा घुम्ती सेवामार्फत कृषि तथा पशुपन्छी बिमा गर्नुपर्ने समितिले जनाएको छ।

समितिका अनुसार, काठमाडौं र भक्तपुर जिल्लामा सबै बिमा कम्पनीलाई कार्यक्षेत्र तोकिएको छ भने बाँकी ७५ जिल्लालाई भाग लगाइएको छ। यसैगरी सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ जिल्ला पाएका छन्।

जनरल इन्स्योरेन्स कम्पनीले रसुवा, सिराहा र पर्सा, अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहट, एभरेष्ट इन्स्योरेन्स कम्पनीले कालीकोट, दैलेख, सुर्खेत र बर्दिया जिल्लामा कृषि बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीले मुगु, जाजरकोट र जुम्ला, एनएलजी इन्स्योरेन्स स् डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके, प्रभु इन्स्योरेन्स कम्पनीले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा, सिद्धार्थ इन्स्योरेन्सले मनाङ, कास्की, पाल्पा र रुपन्देही, राष्ट्रिय बिमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाम जिल्लामा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

यसैगरी नेपाल इन्स्यारेन्स कम्पनीले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर, आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुंगा, महोत्तरी, धनुषा, लुम्बिनी जनरल इन्स्योरेन्सले संखुवासभा, भोजपुर, खोटाङ र उदयपुर, नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापामा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

यसैगरी दि ओरिएन्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी नेशनल इन्स्योरेन्स स् रोल्पा, प्यूठान, दाङ र अर्घाखाँची, प्रुडेन्सियल इन्स्योरेन्सले गोरखा, लमजुङ, तनहुँ, परासी, शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट, हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा, प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाही जिल्लामा कृषि बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्