माघ पहिलो साताभित्र उखु किसानको रकम भुक्तानी हुने



भूपराज बस्याल, काठमाडौ ।

उखु किसानको बाँकी रहेको बक्यौता रकम सरकारले माघ पहिलो साताभित्र तिर्ने भएको छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसानहरूबीच भएको पाँच बुँदे सहमतिपछि आन्दोलनसमेत स्थगित भएको छ।

उखु बिक्री गरेको रकम चार वर्षदेखि चिनी उद्योगीबाट नपाएपछि उखु किसानहरूले सर्लाहीबाट काठमाडांै आएर आन्दोलन गरेका थिए। आन्दोलनरत किसानहरूसँग मन्त्री लेखराज भट्टको उपस्थिती मन्त्रालयका सहसचिव दिनेश भट्टराई र उखु किसान संघर्ष समितिका सचिव हरीश्याम रायले हस्ताक्षर गर्नुभएको छ।

सहमतिपश्चात माघ सात गतेसम्मका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको उखु किसान संघर्ष समितिका संरक्षक राकेश कुमार मिश्रले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

‘केही साथीहरू जानूभयो केही साथीहरू रकम लिएर जाने भनेर बस्नुभएको छ,’ उहाँले भन्नुभयो।सम्झौता अनुसार, उखु किसानका बाँकी समस्या सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन पछि मात्रै सम्बोधन हुनेछ। सरकारले बनाएको सो कार्यदलमा उखु किसानको समेत प्रतिनिधित्व रहने छ।

प्रतिक्रिया दिनुहोस्