भ्रमण वर्ष सफल पारौं



अंग्रेजी नयाँ वर्ष सन् २०२० को शुरू भएसँगै नेपालले भव्यरूपमा नेपाल भ्रमण वर्षको शुभारम्भ गरेको छ। काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीले र सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नै प्रदेशबाट औपचारिकरूपमा शुभारम्भ गरेका छन्।

यसबाट नेपालमा पर्यटकको संख्यामा वृद्धि गराई मुलुकलाई समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ। बिनापूर्वाधार भ्रमण वर्षको शुभारम्भले मात्र पर्यटक आकर्षित हुन्छन् भन्न सकिँदैन। तसर्थ मुलुकको सर्वाङ्गिण विकासका लागि पूर्वाधारमा विशेष जोड दिइनुपर्दछ।

पर्यटकको बसाइ लम्ब्याउन सुेवा–सुविधामा विशेष जोड दिन सकियो भने भ्रमण वर्ष सार्थक बन्न सक्छ। सातवटै प्रदेशमा गन्तव्यहरूको पहिचान गरेर तिनीहरूको प्रचार–प्रसारलाई बढवा दिई पर्यटक आकर्षित गर्ने कार्यक्रममा जोड दिइनुपर्दछ।

पर्यटकीय गन्तव्यलाई प्रतिस्पर्धाबाट पनि विकास गर्न सकिन्छ। केवल नाफा आर्जन र व्यवसायका रूपमा मात्र हेरियो भने त्यो दिगो हुन सक्दैन। नेपालमा सबैथोक छ भन्ने सन्देश दिन भ्रमण वर्षले मुख्य भूमिका खेलेको हुन्छ।

जैविक विविधताले भरिपूर्ण देश भएकाले विदेशी पाहुनालाई यस्ता विविधतालाई नजिकबाट नियाल्न आउने वातावरण बनाउनुपर्छ।
सन् २०२० पर्यटकका लागि प्रस्थान बिन्दु बनाउन अबको एक दशकलाई पर्यटन दशकका रूपमा मनाइने पर्यटन मन्त्रीको घोषणाले मूर्त रूप लिनेमा विश्वास गर्न सकिन्छ तर यसका लागि सातै प्रदेशमा प्याकेजकै रूपमा भए पनि कार्यक्रम ल्याउनुपर्दछ।

अधिकांश विदेशी पर्यटकले हवाईमार्ग प्रयोग गर्ने भएकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा छिट्टै सञ्चालनमा ल्याउन आवश्यक देखिन्छ। त्यसै गरी सन् २०२१ भित्र पोखरा विमानस्थल सञ्चालनमा ल्याइने, निजगढ विमानस्थल अनिवार्य बनाइने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिने मन्त्रीको भनाइले सार्थकता पायो भने पक्कै पनि पर्यटन दशक सफल हुन्छ।

विमानस्थलबाहेक पर्यटकीय पदयात्राको रुटहरू पनि निर्धारण गरियो भने अझ सहज हुन्छ। विश्वका सबै मुलुकमा संसारै अग्लो हिमाल रहेको देश वा सगरमाथाको देश नेपाल हो भनेर चिनाउन सक्यो भने हिमाल हेर्न तथा चढ्न आउने स्वदेशी तथा विदेशी पाहुनाको कुनै कमी हँुदैन।

आर्थिक समृद्धिको मुख्य आधार पर्यटन हो भन्ने भावना जागृत गराउन सकियो भने समृद्धिको ढोका चाँडै खुल्नेमा शंका गर्नै पर्दैन। खालि सरकार र विदेशीको मुख ताकेर मात्र समृद्धि प्राप्त गर्न सकिँदैन।

‘समृद्धिको आधार पर्यटन र पूर्वाधार’ भन्ने कुरालाई मनन गरी अतिथि देवो भवः को भावनाले हेरिनुपर्छ। पर्यटकको पैसा नबिक्ने गरी गरिएको सत्कारले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउँछ। नेताका केवल भाषणबाजीले मात्र भ्रमण वर्ष सफल हुन सक्दैन।

भाषणमा मात्र सीमित भयो भने कार्यान्वयन पक्षमा जटिलता थपिन्छ। तसर्थ हामी सबैले आ–आफ्नो स्तरबाट पर्यटन वर्षलाई सफल बनाउन लागिपर्नुपर्ने आवश्यकता छ। आ–आफ्नै ठाउँको प्रचार–प्रसार गरी पर्यटनमा टेवा पुर्याउनु हामी सबैको कर्तव्य हो।

प्रतिक्रिया दिनुहोस्