बैतडीमा सुन्तला लोप हुदैं



विनोद सिंह विष्ट, बैतडी ।
बैतडी सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा मानिए पनि यो क्षेत्रमा सुन्तला लोप हुन थालेको छ । सुन्तलाबाटै जिविकोपार्जन गर्ने किसानहरु अहिले समस्यामा परेका छन् ।
पछिल्ला १० बर्ष यता सुन्तलामा टुप्पोबाट सुक्ने रोगका कारण सुन्तला उत्पादनमा ह्रास आएको दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीका केशव क्षेत्रीले बताउनुभयो । करीब ५ सय सुन्तलाका रुखबाट लाखौं कमाइ गर्ने केशवसंग अहिले एक रुख पनि छैन् । सुन्तलाको टुप्पोबाट सुक्ने रोगका कारण सबै बोट नष्ट भएका छन् उहाँले भन्नुभयो“ पकेट क्षेत्रमै सुन्तलाको स्वाद लिन पाउने अवस्था छैन् ”
जिल्लाको दुर्गाभवानी, सदरमुकाम क्षेत्र, रुद्रेश्वर, देउलेक, नागार्जुन, वासुलिंग लगायतका क्षेत्रमा सुन्तलाको पकेट क्षेत्र रहेको भएपनि टुप्पो सुक्ने रोग अर्थात डाइबेगका कारण सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । १० बर्ष पहिला सम्म बैतडीबाट लाखौंका सुन्तला विक्रि हुने गरेको पछिल्लो समयमा बाहिरी जिल्लाबाट आयत गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । सुन्तलामा देखिएको यो रोगको उपचार समेत सम्भव छैन चन्दले भन्नुभयो“। नयाँ जातका सुन्तलाका बोटमा यो रोग बढी देखिएकोछ”
बैतडीमा ८ सय हेक्टर जमीनमा सुन्तला खेती गरिदै आएको भएपनि पछिल्लो समयमा यसको क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्