सुन्तला किन्न घरघरमै व्यापारी



दुर्गाप्रसाद शर्मा, पर्वत ।

सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई उत्पादित सुन्तला बिक्रीका लागि भ्याइ नभ्याइ भएको छ। देउपुरका कृषकका बगैंचामा सुन्तला किन्नका लागि व्यापारी काठमाडौं, पोखरा, नारायणगढदेखि बुटवलबाट घर घरमै आएका छन।

मोदी गाउँपालिका–२ देउपुरमा कृषकहरूले गएको वर्षसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढंगले बगैंचा जिम्मा लगाएका छन।

माछापुच्छे« सुन्तला सहकारी संस्थामार्फत बिक्री गरेपनि निजी हिसाबले नै बिक्री गर्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाईंले बताउनुभयो यस वर्ष राम्रो दाना लागेका कारण सुन्तला बिक्री गरेर कतिपयले दोब्बर आम्दानीसमेत गरेका छन।

सुन्तला टिप्नका लागि व्यापारीका कामदारले देउपुरका बगैंचा भरिएका छन्। सुन्तला टिप्ने र लैजानेका कारण मेला लागे जस्तै देखिन्छ। थोक व्यापारीले बगैंचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको स्थानीय शिक्षक भूमिराज शर्माले बताउनुभयो।

‘देउपुरका सुन्तला यसपटक काठमाडौंका बजारमा पुगेको छ।’ शर्माले भन्नुभयो देउपुरका कृषक ख्यामराज पौडेलले ४ लाख रुपियाँमा सुन्तलाको बगैंचा बिक्री गरेको बताउनुभयो। गत वर्ष हिउँदमा पटक पटक आएको असिनाले असर गरे पनि ४ लाख रुपियाँमा एकमुष्ठ बिक्री गरेको उहाँको भनाइ छ।

‘धेरैलाई बिक्री गर्नुभन्दा एकमुष्ठ जिम्मा लगाउन सजिलो हुँदो रहेछ,’ उहाँले भन्नुभयो– ‘काठमाडौंमा बिक्री गर्नका लागि बगैंचा जिम्मा लगाएको छु।’

देउपुरकी अर्की कृषक भोजकुमारी चापागाईंले ३ लाख रुपियाँमा सुन्तलाको बगैंचा बिक्री गर्नुभएको छ भने अर्का कृषक बाबुराम तिमिल्सिनाले २ लाख ८५ हजारमा सुन्तला बिक्री गर्नुभयो।

देउपुरको माथिल्लो क्षेत्रमा असिनाले क्षति पुर्याए पनि कोरुंगालगायतका क्षेत्रमा कमै मात्रमा क्षति पुगेको छ। यसले गर्दा गएको वर्ष उत्पादन कम भए पनि यस वर्ष राम्रो दाना लागेका कारण उत्पादन बढेको कृषक बाबुराम तिमिल्सिनाले बताउनुभयो।

‘यस वर्ष उत्पादन राम्रो भएको छ उहाँले भन्नुभयो मल, बिउ, पानी र असिनाले पनि क्षति नपुर्याँदा गत वर्षभन्दा राम्रो उत्पादन भएको छ।’

उपुरका कृषकले यस वर्ष करिब ३ करोड मूल्यका सुन्तला बिक्री गर्ने अनुमान गरेका छन। विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तलाखेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको छ।

परम्परागतरूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरूले सुन्तला खेतीपछि उनीहरूको जीवनस्तरमा समेत परिवर्तन आएको छ। यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन्।

साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिक रूपमा शुरू गरेको माछापुच्छ«े सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईंले बताउनुभयो। उहाँले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताउनुहुन्छ।

शुरूमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारको दुईदेखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईंको भनाइ छ।

‘मकै कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा पाँच लाख कमाइ हुन्छ,’ उहाँले भन्नुभयो– ‘अहिले देउपुरका सबै घरमा २ लाखभन्दा बढी कमाउने कृषकहरू छन्।’

प्रतिक्रिया दिनुहोस्