आँखाको ज्योति फर्कंदा दंग वृद्धवृद्धा



नेपाल समाचारपत्र, पर्वत।

फलेवास नगरपालिका–५ खानीगाउँकी नरकुमारी कुँवरलाई ८० वर्षको उमेरमा दूवै आँखाले देख्न सक्छुभन्ने लागेको थिएन्। मोतिया बिन्दुका कारण केही वर्षदेखि उहाँको दाहिने आँखाले देख्न नसक्ने अवस्थामा थियो। तर अब उहाँ सजिलैसँग बाहिरी संसार देख्न सक्ने हुनुभएको छ।

‘एउटा आँखाले अलि अलि देख्न सक्ने भएपछि यतायता गर्न पनि साह्रै गाह्रो भएको थियो,’ उहाँले भन्नुभयो– ‘आज आँखाको अप्रेसन भयो अब त देख्न सक्छ भनेका छन्।’ कुवँर मात्रै होइन फलेवास नगरपालिकाकै चन्द्रबहादुर परियारको पनि डेढ वर्षदेखि आँखामा जालोले ढाकेको थियो।

यही कारण उहाँलाई हिँडडुलका लागि निकै समस्या भएको थियो। उहाँमा पनि अब भने दुबै आँखाले देख्न सक्ने आत्मविश्वास पलाएको छ। पर्वतका विभिन्न लायन्स क्लब मिलेर आयोजना गरेको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा उहाँले पनि शल्यक्रिया गराउनुभएको हो।

‘उकालोमा त जसोतसो हिँडियो, ओरालोमा त छामेर बसी बसी हिँड्नुपरेको थियो,’ शल्यक्रियापछि चन्द्रबहादुरले भन्नुभयो– ‘दाहिने आँखामा जालो भरिएको थियो, हेर्न खोज्दा पुतली उडेको जस्तो मात्र देखिन्थ्यो अब दुबै आँखाले देख्न पाउने भइयो।’

पर्वतमा मोतिया बिन्दुको शल्यक्रिया हुन् नसक्नु तथा घरको आर्थिक अवस्था कमजोर भएका कारण रोगपालेर बसेका ५० जनाको बिहीबार जिल्ला अस्पताल पर्वतमा राखिएको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिएको छ।

शिविरमा आँखा परीक्षण र मोतिया बिन्दुको शल्यक्रिया निःशुल्क रूपमा गरिएको छ भने औषधी र चस्माका लागि सम्बन्धित बिरामीलाई न्यूनतम खर्चमात्र तिराइएको छ। प्रायः घरको आर्थिक अवस्था न्यून भएका कारण रोग पालेर बसेकाहरू नै शिविरमा उपचारको लागि आएकाले गरिब तथा दलितको आर्थिक अवस्था कमजोर भएकै कारण रोगपालेर बस्नुपर्ने बाध्यतामा रहेको अवस्था शिविर सञ्चालनमा देखिएको पनि शिविरमा संलग्न लायन्सहरूले बताएका छन्।

लायन्स क्लब अफ शिवालय कुस्माका अध्यक्ष डिल्लीराम शर्माका अनुसार लायन्स क्लब अफ शिवालय कुस्मा, लायन्स क्लब अफ पर्वत मोदीकाली र लायन्स क्लब अफ पर्वत कुस्मा सिटीले हिमालय आँखा अस्पताल पोखराको सहकार्यमा जिल्लाका ४ ठाउँमा पुगेर आँखाका बिरामीको परीक्षण गरेपछि शल्यक्रिया गर्नुपर्नेहरूलाई एकैठाउँमा जम्मा पारेर शल्यक्रिया गरिएको हो।

मोदी गाउँपालिका, फलेवास नगरपालिका र कुस्मा नगरपालिकामा चलाइएका आँखा शिविरहरूमा ८ सय ७० जनाको आँखा परीक्षण गर्दा ५० जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको थियो। आँखाको परीक्षण र शल्यक्रियामा हिमालय आँखा अस्पताल पोखराको टोली खटिएको छ।

प्रतिक्रिया दिनुहोस्