आँखा दान महादान : कुलमानले गर्ने भए आँखा दान



भगवती तिमल्सिना

[email protected]

सही कामलाई पहिलो प्राथमिकता दिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गर्नुभएको छ। तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गर्नुभएको हो।

मृत्युपर्यन्त स्वर्ग जाने भनेको आँखाजस्तो संसार देखाउने अंग दान गरेर मात्र सकिन्छ। ‘सबैभन्दा पुण्य काम भनेकै आँखालाई सहीरूपमा अरूलाई प्रत्यारोपण गर्नु हो। –उहाँले भन्नुभयो– ‘सही र सत्य भगवान् भनेकै परेका बेलामा दिन सक्ने व्यक्ति हो। मानवले आफ्नै निर्णयबाट दिन सक्ने मृत्युपर्यन्त आँखा दान हो। आँखा दान गरौं र आँखा नदेख्नेलाई संसार देखाएर पुण्य कमाउँ।’

मृत्युपर्यन्त स्वर्ग जान आँखाजस्तो संसार देखाउने अंग दान गरेर मात्र सकिन्छ। सबैभन्दा पुण्य काम भनेकै आँखालाई सहीरूपमा अरूलाई प्रत्यारोपण गर्नु हो। सही र सत्य भगवान् भनेकै परेका बेलामा दिन सक्ने व्यक्ति हो। मानवले आफ्नै निर्णयबाट दिन सक्ने मृत्युपर्यन्त आँखा दान हो।

सोही अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले २५ वर्षअघि एक जनाबाट शुरू गरिएको आँखा दान कार्यक्रममा अहिले हजारौंभन्दा बढी सहभागी हुनु खुसीको कुरा भएको बताउनुभयो।
प्राडा रुइत भन्नुहुन्छ– ‘आँखा बैंकको टिमले शुरूदेखि मेहनेत गरेर यहाँसम्म ल्याइपुर्याएको छ।

अहिलेको स्थितिमा नेपालभरि नै जे–जति सम्भव छ त्यति आँखा दिन सकेका छौं। आँखा दान भनेको मृत्युपछि खेर जाने तर अरूलाई काम लाग्ने आँखाभित्रको सानो नानी हो, पूरै आँखाको डल्लो नै झिक्ने होइन, त्यो पनि मृत्यु पर्यन्त निकाल्ने हो यसमा धार्मिक, सांस्कृतिकरूपमा अप्ठेरो केही पनि हुँदैन।’

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले धेरैभन्दा धेरै मानिसलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरूको अनुभव आदान–प्रदान गर्न र दिवंगत आत्माको चिर शान्तिका लागि सामूहिक श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको बताउनुभयो।

सभामा पशुपति विकास कोषका सदस्य–सचिव डा. प्रदीप ढकाल, वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरी, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार यादव, समाजसेवी तथा ३ नं प्रदेशका प्रान्तीय सदस्य नरोत्तम वैद्य, बीपी नेत्र अध्ययन प्रतिष्ठान शिक्षण अस्पताल महाराजगन्जका कर्निया विभाग प्रमुख डा. मिनु चौधरी, लायन्स क्लब अफ काठमाडौं पशुपतिनाथका अध्यक्ष डा. पवन शर्मा, नेपाल आँखा दान समाजका अध्यक्ष साधुराम महर्जनले आँखाको महत्व र तिलगंगाको योगदानले पुर्याएको सेवाप्रति प्रशंसा गर्दै आफ्ना मन्तव्य राख्नुभएको थियो।

आँखाको नानी नष्ट हुन नदिने प्रण गरौं

आँखा दान महादान भन्ने उक्तिसँगै दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रमअन्तर्गत नेपाल आँखा बैंकले हरेक वर्ष मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्नुहुने श्रद्धेय महानुभावहरूको सम्झना र सम्मानमा उहाँहरूका परिवारको उपस्थितिमा श्रद्धासुमन अर्पण गर्न सामूहिक श्रद्धाञ्जलीसभाको आयोजना गर्दै आएको छ।

यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि यही पुस १२ गते अर्थात् डिसेम्बर २८ तारिख शनिबारका दिन यस सभाको आयोजना गरियो।आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ।

नेपालमा दृष्टिविहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो। जसको एकमात्र उपचार आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउनु नै हो। नेपालमा आँखाको नानीका कारण दृष्टिविहीन भएका थुप्रै व्यक्तिहरू छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन्।

त्यस्ता व्यक्तिका लागि तपार्इं हामीले मृत्युपश्चात् आँखा दान गरिदिने हो भने दुईभन्दा बढी दृष्टिविहीनले यो संसार पुनः देख्न पाउँछन्। त्यस्ता व्यक्तिहरूका लागि नेपाल आँखा बैंकले शुरू गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ।

नेपाल आँखा बैंकमा हालसम्म ७५ हजारभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झन्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन्। पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ।

विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ। सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैंकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो।

आँखा बैंकले मृत्युपश्चात् आँखाको नानी दान गर्ने दाताहरूबाट नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ।

शुरूआतको अवस्थामा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दानसम्बन्धी मानिसमा जनचेतना जगाई यससम्बन्धी बुझाइन्थ्यो भने अहिले यीसँगै आर्यघाट विद्युतीय शवदाह गृहलगायत काठमाडौंमा रहेका ४ वटा ठूला अस्पताल वीर, त्रिवि शिक्षण अस्पताल, गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताहरूले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा रहेको आँखा प्रतिष्ठानले जनाएको छ।

त्यस्तै गरेर स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लाहान, हेटांैडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी संकलन केन्द्रहरू स्थापना भई आँखाको नानी संकलन गरिरहेको छ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ भन्नुहुन्छ– ‘धेरैभन्दा धेरै मानिसलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरूको अनुभव आदान–प्रदान गर्न र दिवंगत आत्माको चिर शान्तिका लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो।

अहिले धेरै मानिसको आँखा दानप्रति सकारात्मक सोचका कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हँुदै छ। नेपालभरि आँखा बैंकको सेवा दिइराखेका छौं।

नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायना भन्नुहुन्छ– ‘मानिसको मृत्युपश्चात् जसरी धार्मिक रीतिरिवाजअनुसार संस्कार गरिन्छ त्यसरी नै आँखा दानलाई पनि संस्कारको रूपमा स्थापित गर्न सके दृष्टिविहीनलाई पुनः दृष्टि प्रदान गर्न अझ प्रभावकारी सावित हुन सक्छ।

नेपालमा आँखा दान गर्न र गराउनका लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले नेपाल आँखा दान समाजको स्थापना भएको छ। यसले नेपालभरि सबै क्षेत्रमा शाखा–प्रशाखामार्फत आँखा दानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी आँखाको नानीका कारणले दृष्टिविहीन भएकालाई देख्न–देखाउन कार्यक्रमको तर्जुमा गरेको छ। यसमा कोही शुभचिन्तक आफ्नो स्थानीयस्तरमा समाहित भएर लाग्न सक्नुहुनेछ।

यस आँखा बैंकले इन्टरनेसनल फेडरेसन अफ आँखा बैंक तथा साइट लाइफले निर्धारण गरेको अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गरी अन्तर्राष्ट्रिय गुणस्तरलाई कायम राख्दछ।

बैंकमा आँखाको नानी शुरूको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देशभित्रबाटै संकलन गरी स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपलब्ध गराएको छ।

‘सबैलाई दृष्टि दिने हाम्रो यस अभियानमा शुरूआतदेखि लायन्स क्लब अफ पशुपतिनाथ, नेपाल आँखा दान समाज र अन्य सम्बन्धित सम्पूर्ण क्षेत्रलगायत सञ्चारमाध्यमले दिनुभएको साथ र गर्नुभएको सहयोगका लागि यस प्रतिष्ठान धन्यवाद व्यक्त गर्दछ।’ –उहाँले भन्नुभयो।

मृत्युपछि अगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी, कसैका लागि प्रयोगमा आउनु, सत्कर्म हो। आँखा दान जस्तो मानवीय कार्यका लागि सबैलाई उत्प्रेरणा जगाई आत्मा शान्तिको कामना गरौं भन्ने नाराका साथ यस वर्षको आँखा दान तथा दाताको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ।

 

प्रतिक्रिया दिनुहोस्