’केही बनौं होइन, केही गरौं‘



‘म नेपाली आफन्तहरू र मित्रहरूको माया पाएर हुर्किएको हुँ। यही नेपालको माटोले मलाई अरूको भलाइका निम्ति केही गर्नुपर्छ भनेर सिकाएको हो। केही बनौं भन्ने होइन, केही गरौं भनेर म रेडक्रसमा संलग्न भएको हुँ।’

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को नवनियुक्त महासचिव जगन चापागाईंले नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै बताउनुभएको हो।

उहाँले भन्नुभयो– ‘हरेक देशका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीलाई सबल बनाउने मेरो अभियान हो र म त्यो पूरा गरेरै छाड्छु।’

आफ्नो निजी भ्रमणको सिलसिलामा यसै साता नेपालमा आउनुभएका चापागाईंले नेपाल रेडक्रसले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो।

नवनियुक्त महासचिव जगन चापागाईंलाई नेपाल रेडक्रस सोसाइटीको परिसरमा सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वालगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूले स्वागत गर्नुभएको थियो।

अध्यक्ष थापाले चापागार्इंलाई बधाई ज्ञापन गर्दै थापाले भन्नुभयो– ‘कानुनी आधार सुदृढीकरण, स्रोत परिचालन र नेरेसोलाई अझ गतिशील बनाउने क्षेत्रमा अन्तर्राष्ट्रिय महासंघको सहयोग अपेक्षित छ।’

कार्यक्रममा नेपाल रेडक्रसको प्रदेश समितिका अध्यक्षहरूका साथै जापान, बेलायतलगायतका राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय महासंघको नेपालस्थित कार्यालय प्रमुख र डेलिगेटहरूको उपस्थिति रहेको थियो।

अबको प्राथमिकता
प्रकोप न्यूनीकरण र उत्थानशीलता

अबको प्राथमिकताबारे नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलसँग जगन चापागाईंले भन्नुभयो– ‘पहिलो प्राथमिकता जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट मानिसलाई बचाउने र स्वास्थ्य पान्डामिक समस्याबाट छुटकारा दिलाउने नै हो।

त्यसका लागि विभिन्न संस्थासँग मिलेर न्यूनीकरण गतिविधि र उत्थानशीलतामा जोड दिनुपर्नेछ। अर्को समस्या विश्वव्यापी स्थानान्तरण हो, शरणार्थीको मर्यादा जोगाउने।’

उहाँले थप्नुभयो– ‘आर्थिक, शिक्षा, स्वास्थ्य, प्रविधिको क्षेत्रमा संसारमा उच्च प्रगति भए पनि केही मानिस अझै वञ्चित भई आएका छन्। त्यसैले, खास जनसंख्या अझै पनि विकासको घेरामा पर्न नसकेकाले समावेशी कार्यक्रमको ठूलो महत्व छ।

प्रतिक्रिया दिनुहोस्