कविता



सीताराम अधिकारी
स्नेहले स्नेहको ढोका सजिलैसित खुल्दछ
चाहिँदैन कुनै साँचो आफैंमा परिपूर्ण छ
देखिँदैन छ यो कस्तो बलियो छ अचम्मको
भावनामा छताछुल्ल छाल चल्छ समुन्द्रको।

महभन्दा अझै मीठो स्वाद सर्वत्र पाच्य छ
सीमा हुँदैन झाँगिन्छ भित्रभित्रै बहाव छ
स्नेहकै भावले सारा जीवको राज चल्दछ
चन्द्र, सूर्य र तारामा स्नेहकै मूलधार छ।

एक्लो छैन धरा आफैं प्रकृति स्नेह पूर्ण छ
रूप फेर्दै छ रंगिन्छ ऋतुराज अपूर्व छ
मैलिँदैन बिनाभूल धरा हुन्छ हराभरा
शूल उठ्ता स्वयं रुन्छ सुँक्क–सुँक्क कठैबरा।

देख्न सक्तछ जो–कोही तेस्रो आँखा उदाउँदा
तब बुझ्दछ यो के हो ऐनारूप सजाउँदा
खोजी गर्दछ सत्ताको जन्मको अर्थ सर्वदा
साधना सत्य हो शक्ति भक्तिमा ईश छन् सदा।

संस्कार सार हो सत्य सभ्यता पहिचान हो
जीवमा श्रेष्ठ हो मान्छे ज्ञानको स्थूल पुञ्ज हो
ज्ञान अज्ञानको द्वन्द्व चल्छ भित्रै यदाकदा
स्नेहले पार्छ निस्तेज द्वन्द्वको शूल सर्वदा।

हुन्छ कोमल नौनीझैं आस्वाद छ पीयूषको
पिएर प्रेमको प्याला लिन्छन् आनन्द स्वर्गको
हार्दैन जो कुनै मान्छे स्नेहले सिक्त बन्दछ
हाई–हाई जहाँ जान्छ भव्य स्वागत पाउँछ।्

प्रतिक्रिया दिनुहोस्