देशको विकास !



भूमि देवकोटा
समाजवाद गाउँदैमा
के हुनु देशको विकास !
फरियावादको मनले
छाड्नै नहुने साथ
धेरै छन्।

ऊ छोरो अनि बुहारी
यसै गरी
दिदीपट्टि धेरै छन्।
अनिश अनि त
समाजवाद गाउँदैमा
के हुनु देशको विकास!
मामा अनि उनको ससुराली
फेरि,
काकापट्टि धेरै छन्
सुन्नुस्,
सालो अनि उसको जेठान
र, साढुभाइपट्टि अरू छन्
अनिश अनि त
समाजवाद गाउँदैमा
शहीद घाइते अपांगलाई
तिथि–तिथिमा सम्झँदैमा
के रोकिन्छ ती बाँच्नेका आँसु !

सम्धी अनि उनको जुवाइँ
अनेक भुँडी धेरै छन्
यस्तै–यस्तै पाल्नैपर्ने चापले
जिब्रो के बोल्छ लयमा
विकास विकास गाउँदैमा
के रोकिन्छ स्वास्थ्य खराब गर्ने
धूलोधूवाँ सडकमा !

आसेपासे अनि उनका कोसेली
बाँकी डन, ठेकेदार पनि छन्
जनता त चुनावमा
एकपल चाहिने त हो
मतपत्रमा छाप लगाउन
त्यो दिन मासुचिउरा दुनामा
जनता ३६४ दिन चपाउँदै लाग्छन् कुनामा
यस्तै त हो !

हाम्रा नेता

समाजवाद पस्कन्छन् दुनामा
नेता जिन्दावाद भन्दै
दुना चपाउँदै
हामी वीर गोरखाली कुना–कुनामा!
अनिश अनि त
समाजवाद गाउँदैमा
के हुनु देशको विकास !
के हुनु देशको विकास !

प्रतिक्रिया दिनुहोस्