के “स्वास्नी” पाल्ने र पालिने वस्तु हो ?



नीला घिमिरे

कहिलेकाहीँ म आश्चर्यचकित पर्छु। ताज्जुब लाग्छ, समाजका शब्दहरु र वाक्यहरु सुन्दा। एकपटक हैन, पटक–पटक। आजदेखि हैन, सनातनदेखि चलेको यही शब्द सुन्दा–सुन्दा मेरो कान फुट्न लागिसक्यो।

आफ्नो आवश्यकता, सोख, मनोरञ्जनका साथै काम लिनका लागि पशुपक्षी पालन गर्छन् । तर नारीलाई पाल्ने भन्ने शब्द कहाँसम्म न्यायोचित छ ? के पशुपक्षीजस्तै स्वास्नी पालेका छन् मानिसले ? आफैंले खानेकुरा पकाई खुवाएर, मलमूत्रहरु सोहोरेर उनलाई गाईवस्तुजस्तै पालेका छन् त ? मलाई एक महिला भएको नाताले यो प्रश्न सोध्न मन लाग्छ ।

जब विवाहको बेला हुन्छ, केटालाई सोध्ने गरिन्छ– ‘यो युवाले स्वास्नी पाल्न सक्छ कि सक्दैन ?’ लायकको छ, पढेलेखेको छ, जागिर पनि छ, स्वास्नी त राम्रोसँग पाल्ला भनेको सुन्छु।

मेरो त ब्रह्माण्ड नै खल्बलिन्छ, के स्वास्नी वा श्रीमती पाल्ने चिज हो ? मानौं श्रीमती वा स्वास्नी भनेकी मानव होइनन्, कुनै वस्तु वा पशुपक्षी हुन्, जसलाई एक व्यक्तिले पाल्न पर्छ।

के लोग्नेले स्वास्नी पालेको छ ? नारी पशु हुन् कि पक्षी हुन् पालिने ? भैसी, भेडा–बाख्रा, गोरु, सँगुर, हात्ती, घोडा, गधा, कुकुर अनि पक्षीहरु– परेवा, सुँगा, कुखुरा, हाँस, मैना, कोइली, मयूर आदि हो पालिनलाई ?

उनीहरुलाई पो पाल्छन्। तिनलाई पाल्दा तिनका प्रकृतिअनुसारको बस्ने ठाउँ, खाने ठाउँ, आहारा, औषधि उपचार, आराम–विराम, सुख–सुविधा आदि अनुकूलको बनाई पाल्ने गरिन्छ। आफ्नो आवश्यकता, सोख, मनोरञ्जनका साथै काम लिनका लागि पशुपक्षी पालन गर्छन्।

तर नारीलाई पाल्ने भन्ने शब्द कहाँसम्म न्यायोचित छ ? के पशुपक्षीजस्तै स्वास्नी पालेका छन् मानिसले ? आफैंले खानेकुरा पकाई खुवाएर, मलमूत्रहरु सोहोरेर उनलाई गाईवस्तुजस्तै पालेका छन् त ? मलाई एक महिला भएको नाताले यो प्रश्न सोध्न मन लाग्छ।

यहाँ त महिलालाई वस्तुसरह पनि पालेका छैनन्। यसको उदाहरणमा भन्न मन लाग्छ, श्रीमती बिरामी भएर कार्य गर्न नसक्दा किन दोस्रो बिहे गर्छन् ? सन्तान जन्म दिन अक्षम वा अशक्त भएमा किन फेरि अर्की भित्र्याउँछन् ? मनोरोगी वा पागल भए पनि किन दोस्रो विवाह गर्छन् ?

किन पीडामा जिउन बाध्य बनाउँछन् ? ल पालेको भए श्रीमती वर्षाैंसम्म थला पर्दा हेरिरहने कति पुरुष छन् यहाँ, हेरौं न। अनि फेरि पाल्ने कुरा कहाँबाट आयो ?

माथि भनिएका नारी निरीह र एक्ली बनाई घरबाट निकालिएका घटनाहरु प्रशस्त छन्। के त्यही हो पालेको ? यसरी मानवलाई पशुसरह व्यवहार गर्ने, सोच्ने परम्परा हामीले मानी आएका धर्म, संस्कार आदिका उपज हुन्।

नारीलाई मानव नठान्ने प्रवृत्ति, पितृसत्तात्मक सोच अनि मानवीय भावनाको अन्त्य भएका प्रबुद्ध वर्गहरुको यो सोच अनि श्रीमतीलाई हेला गरेर भनिने स्वास्नी भन्ने शब्दले नै हृदय द्रविभूत हुन्छ मेरो।

यसमा पुरुष वर्गहरु मात्र हैन, महिला वर्गको सोच पनि त्यस्तै छ। यदि पुरुष वर्ग कमजोर भयो, कमाउन सकेन भने उसलाई स्वास्नी पाल्न नसक्ने नामर्द भन्ने गरिन्छ। नामर्द भनेर महिलाले नै भनेको सुनेकी छु।

यस्तो विभेदयुक्त सोचमाथि चिन्तन गर्नुपर्ने बेला भएन र भन्या ? पुरुषमाथि र नारीमाथि प्रयोग गरिने यस्ता शब्दले नारी अस्मितामाथि र उनका योगदानमाथि गम्भीर प्रश्न खडा गरेको छ।

लुगा धोइरहने ड्राइक्लिनर्स, भाँडावर्तन माझिरहने मसाल्ची, भात पकाइरहने कुक, दूध चुसाइरहने धाई, बच्चालाई लुगा लगाउने आया, पढाउने मास्टर, घर कुर्ने सेक्युरिटी गार्ड, पाहुनापासालाई स्वागत गर्ने रिसेप्सन, सरसफाइ गर्ने क्लिनर्सजस्ता सारा पेसा व्यवसाय एक्लै सम्हाल्ने नारीलाई पाल्ने भन्ने शब्द कसरी मिल्छ भन्या ? यो मैले बुझ्नै सकिन। लौ न बुझाइपाऊँ।

के पैसा लिँदैनन्, त्यसै गर्छन् मायाले भनेर पाल्ने भन्या हो कि ’ यतिका पेसालाई एक्लै काम गर्ने ती महिलालाई कसरी पाल्ने भन्न सक्या हो ? आर्थिकरूपमा यी सबैको पैसा तिर्न पर्दा दाँतबाट जसको पनि पसिना आउँछ।

सबैलाई थाहा छ र पनि पाल्न सक्ला र खै, पाल्छजस्तो लाग्दैन भन्न कति रमाइलो लागेको ? आखिर कहिलेसम्म श्रीमतीलाई वस्तुसरहको सोचमा राखिरहन्छ मानव ? श्रीमती सधैँ पालिने पशुपक्षीसरह भैरहने ?

यसमा चेतनशीलताको पुस्तक पढेलेखेका मानवशास्त्र नबुझेकाको विचारमा परिवर्तन कहिले होला ? सोचमा परिवर्तन कहिले आउला ? नारी–पुरुष बराबरको भावको विकास कहिले होला ?

नारी सह–धर्मिणी हुन्, जीवन–रथका दुई पाङ्ग्रा हुन् भन्ने समभावको मानसिकताको विकास कहिले होला ? र, यो शब्दको अन्त्य कहिले होला ? यही र यस्तै प्रश्न फेरि मंसिर गइरहँदा र माघ, फागुन, वैशाख आउँदा मेरो मनमा आइरहन्छ।

जुन नारीलाई उनका आमाबुबाले बिहे गरेर पठाउँछन्, पुरुषले आफ्नो घरमा लिएर जान्छ। त्यतिखेरका क्रियाकलापले उनलाई घरको मालिक्नी बनाउँछ, ढुकुटी सुम्पन्छ, तालाचाबी पनि जिम्मा लगाउँछ, लक्ष्मी भित्र्याएको भनिन्छ।

बिहेको भोलिपल्टदेखि उनी सबैले भनेको मान्ने, आज्ञाकारिणी एक पूर्ण श्रमिकका रूपमा उपस्थित हुँदै जान्छिन्, नाममात्रकी मालक्नी हुन्छिन्। कामकी दासी हुन्छिन्। यस सन्दर्भमा महिला कार्यकर्ता विदुषी कमला भासिनले भनेकी छिन्– महिला वा श्रीमती घरकी अवैधानिक नोकर्नी हुन्, जो १४ घण्टै काम गरे तापनि तलब पाउँदिनन्।

उनको यो भनाइ हाम्रा सन्दर्भमा कत्तिको उपयोगी छ त ? यहाँ त वस्तुसरह पालिने भनिन्छ। घरमा भित्रिएकी नारी सिकेर आएका सबै कार्य गर्दै सृष्टिको क्रमलाई पनि थाम्छिन्।

माता बन्छिन्, आफ्ना सुख–सुविधा, आरामलाई थाँती राख्दै त्यही सन्तानलाई मुटुको टुक्रा बनाएर उसको व्यक्तित्व निर्माणमा लाग्छिन्। समाजको सोच कति दयनीय ? मानवलाई पशुपक्षीसँग तुलना गर्दा वा नारीको गरिमालाई पाल्ने शब्दले भुइँको धूलोमा मिलाएको अनुभूति हुन्छ मलाई।

यो स्वास्नी पाल्ने शब्दको मानसिकताले हाम्रो समाज, राष्ट्र, समुदाय, व्यक्तिलाई यति ग्रस्त पारेको छ कि एक निरक्षक पुरुष जो लाटो, अपांग, अन्धो छ, त्यस्तादेखि लिएर उच्च शिक्षामा विद्यावारिधिको पदवी पाउने पुरुषसम्मको सोच त्यस्तै छ। चाहे उसको श्रीमती ऊभन्दा ठूलै पदमा कार्यरत होस्, तलब बढी नै पाओस्, तैपनि मैले स्वास्नी राम्रैसँग पालेको छु भन्ने महसुस गर्ने र गर्व गर्ने गर्दछ।

अन्त किन जाने, अहिले पनि काठमाडौंका काँठका गाउँमा जाऊँ, त्यहाँ दिनभरि श्रीमती काममा जोतिरहेकी हुन्छिन्। श्रीमान् दिनभर गाउँ डुल्ने वा पसलमा बसेर गफ गरिरहेको हुन्छ वा क्यारामबोर्ड खेलिरहेको हुन्छ।

मल बोक्ने, घाँस काट्ने, वस्तुभाउ, खेतबारी सबैको काम सकाई खाना बनाएर ठिक्क पारेपछि खान आउने श्रीमान्ले भन्छ– मैले श्रीमती पालिरहेको छु।

श्रीमतीले पनि बुझेर वा अबुझ भई उनैले पालेको भनेर आफू पालिने बन्छिन्। मैले यो लेखेर विद्रोह गर्न खोजेको हैन। शब्दले मान्छेलाई कति तलसम्म गिराएको हुन्छ मात्र देखाउन खोजेको हो।

सारा संसार चराचर जगत्मा जो जसरी पनि बाँचेका छन्। प्रकृतिको अनन्त सृष्टिमा के नारी नेपालमा अझै पालिने र पाल्ने, पाल्न सक्ने÷नसक्ने भनेर बिहा बटुलमा छानिने चिज बनिरहनु हुन्छ ?

मेरो मूल प्रश्न यही हो। चराचर जगत्को एक महत्वपूर्ण अंगलाई, जीवनकर्ता जननीलाई अझै पाल्ने भनिरहन सुहाउँछ। मलाई यो पाल्ने भन्ने शब्द नै राम्रो लाग्दैन।

एकातिर मलाई श्रीमती वा स्वास्नी पाल्ने कुरा मन पर्दैन। अर्काेतिर बूढा भएपछि बाबुआमालाई सोधिन्छ– तपाईंलाई कुन छोराले वा छोरीले पालेको छ ? सारा जीउज्यान दिएर आमाबाबुले छोराछोरी हुर्काउँछन्, सम्पत्ति बनाउँछन्।

अनि अझै पनि आफ्नै सम्पत्तिमा कुनै छोरासँग बसेको समयमा छोराले पनि मैले बाबुआमा पालेको छु भन्ने अनि आमाबाबुले पनि मलाई फलानो छोराले पालेको छ भन्ने ’ यो पालेको भन्ने शब्द नै मन पर्दैन। बूढाबूढीलाई पनि म भन्न चाहन्छु, म फलानुसँग बसेको छु भन्नुस्।

आफ्नै पेन्सन ल्याएर आफैंले खुवाएर पनि बूढाबूढीले भनिरहेका हुन्छन्– मलाई फलानो छोराले पालेको छ। बाबुको पेन्सन, आमाको भात खाइरहेका छोराछोरीले पनि अरूको अगाडि सानले भन्छन्– आमाबुबालाई अरू दाजुभाइले पालेनन्, मैले पालेको छु।

जबकि आमाबाबुले यो कमजोर छ, यसका छोराछोरी साना छन्, योसँग बस्यो भने यसको राम्रो हुन्छ भनेर ऊसँग बसेका हुन्छन्। अनि उसैले भनेको हुन्छ, मैले पालेको छु।

साँच्चै लालनपालन गरेको भए त भन्न सुहाउला, नत्र पाल्ने शब्द अपहेलित शब्दझैँ लाग्छ मलाई। आजको जमानामा कसैले कसैलाई पाल्न पर्दैन। आफैं पालिन्छन् भन्ने मलाई लाग्छ।

त्यसैले स्वास्नी पालिने जात नभई सम्मान गर्ने जात हो। श्रीमती बराबर अंग भन्ने मात्र हैन, व्यवहारमा गर्ने र देखाउने समय आएको छ भनेर म सबैलाई भन्न चाहन्छु।

 

प्रतिक्रिया दिनुहोस्